एमाले महाधिवेशन : यस कारण महासचिवमा घोषणा भएन उम्मेदवारी

एमाले महाधिवेशन : यस कारण महासचिवमा घोषणा भएन उम्मेदवारी

न्युज कारखाना  |  समाचार  |  मंसिर १०, २०७८

नेकपा एमालेको १०औँ महाधिवेशन उद्घाटनका लागि चितवनको नारायणी नदी किनारमा मञ्च तयार छ । देशभरबाट नेता, कार्यकर्ता चितवनमा उर्लिएका छन् । स्वास्थ्य सेवादेखि स्वयंसेवक हुँदै ट्राफिक व्यवस्थापनमा खटिनेहरूको बाक्लो उपस्थितिले चितवन गर्माएको छ । 

महाधिवेशन प्रचारका लागि सजाइएका चोक, आकर्षक गेट, भित्तेचित्रलगायतले चितवन बेहुलीझैँ देखिएको छ । काठमाडौं उपत्यकासहित देशभरबाट चितवन आइपुगेका नेतामध्ये केहीले उम्मेदवारी घोषणा पनि गरिसकेका छन् । तर, एमालेको आकर्षक मानिने महासचिव पदमा भने अहिलेसम्म एक जनाले पनि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन् । 

सहमति र निर्वाचन दुवैको समानान्तर तयारी चलिरहेको महाधिवेशनमा महासचिव पदका लागि अध्यक्ष केपी ओली निकटका २ जना नेताको आकांक्षा छ । 

वर्तमान उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल ओली निकट नेता हुन् । महासचिवका अर्का आकांक्षी सुरेन्द्र पाण्डे १०बुँदे सहमतिबाट एमालेमा फर्किएका नेता हुन् । यी ३ जना नेताको नाम चर्चामा ल्याइए पनि तीनै जनाले औपचारिक रूपमा महासचिवमा दाबी गरेका छैनन् । 

एमाले नेताहरूका अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवमा कुनै हालतमा सहमति गराउने पक्षमा ओली उभिएका कारण नेताहरूले उम्मेदवारी घोषणा नगरेका हुन् ।

ओलीको चाहनाविपरीत भीम रावलले अध्यक्षमा र ईश्वर पोखरेल, घनश्याम भुसाल तथा सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बन्ने चाहना देखाइसकेका छन् । उपाध्यक्षमा भने देवराज घिमिरेले मात्र औपचारिक रूपमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । 

योगेश भट्टराईले सचिवमै दोहोरिने इच्छा व्यक्त गर्दा सचिवमा अन्य सबै नयाँ आकांक्षी छन् । 

ओली सचिव छाडेर सोभन्दा माथिको पदमा सर्वसम्मत नेतृत्व छान्ने रणनीतिमा भएकै कारण महासचिवमा तीनै जना दाबेदारले खुलेर उम्मेदवारी घोषणा नगरेको एमालेका नेताहरू बताउँछन् । 

स्रोतका अनुसार शुक्रबार बिहानैदेखि ओली निकट नेताहरू अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावललाई मनाउन लागिपरे पनि रावल तयार भइसकेका छैनन् । 

ओलीनिकट नेताहरू रावललाई दबाब दिन महाधिवेशनमा आएका प्रतिनिधिलाई ‘ओलीको विकल्प ओली’ भन्दै प्रचार गराउन थालेका छन् । 
अधिकांश प्रतिनिधिलाई ओलीको पक्षमा उद्घाटनअघि नै खुल्न लगाएर रावललाई दबाब दिने उनीहरूको रणनीति रहेको रावल पक्षधर एक नेताको दाबी छ । 

स्रोतका अनुसार रावलले  वरिष्ठ उपाध्यक्ष पाए ओलीलाई सर्वसम्मत अध्यक्ष मान्न तयार रहेको बताएका छन् । तर, ओली निकट नेताहरूसँगको छलफलमा भने उनले औपचारिक रूपमा यो प्रस्ताव राखिसकेका छैनन् । 

अध्यक्ष र वरिष्ठ उपाध्यक्ष टुंगो लगाएपछि प्याकेजमै उपाध्यक्ष र महासचिवको टुंगो लगाउने ओली पक्षधर नेताहरूको रणनीतिकै कारण महासचिवका दाबेदारहरूले औपचारिक रूपमा उम्मेदवारी नदिएको अर्का एक नेताको दाबी छ ।