नमेटिने चक्रचिन्ह

नमेटिने चक्रचिन्ह

तेज राई  |  साहित्य  |  मंसिर ११, २०७८

ए !
हिँड्नै आटेको परदेशी !
वर्षौँअघि,
बुबाले आफ्नै पहरे छातीमाथि
चपरी पल्टाएर खनेको रातो माटो
निधार हुँदै चिउँडोबाट तप्किएका
पसिनाले भिजाएर
सिनित्तै पोतिएको
चम्किलो रातो सिकुवा
र,
रातै आँगनसहितको यो घर-तिम्रै हो ।
स्निग्धताको कञ्चन कमेरोले
लिपिएका भित्ताहरूमा
कहिल्यै नमेटिनगरी टाँसिएका
आमाको हत्केला
र,
चव्रmचिन्हसहितको यो घर-तिम्रै हो ।
 
उत्तरपट्टिका- 
सिमातित सम्भावना,
हिमनदी र सङ्गीन वेगहरू,
दक्षीणपट्टी- 
विश्वासका फाँटहरूमा
बयलिरहेका आशाका
बान्किला बाला
र,
दृश्यहरू एकै दृष्टिमा अटाउनेगरी
निहार्न मिल्ने
कलात्मक यो जस्केलो- तिम्रै घरको हो ।
सेलो,सङ्गिनी र सिल्लिमा
सजिएका सिम्माहरू,
शिखरको शितल सगुनको सट्टामा
फेदीले न्यानो हावा फुकिदिँदा
पहाडमा कसिएका
बन्धिला सम्बन्धहरू,
चियाउन मिल्ने
बुट्टेदार यो आँखिझ्याल - तिम्रै घरको हो ।
 
टारीखेत,पारिखेत
गोठ र गाई साहुलाई सुम्पेर,
डाँफे,नौरङ
मयुर र मुनाल बन्धकी राखेर,
देउडा, हाकपारे
रोदी र मारुनी जाकटी पारेर,
छेवैको खोल्सीमा
बाँकी अस्तित्व बगाइदिएर
बटुलिएको एक आना थैली
खकनमा कसेर,
परदेसिनै आँटेको,
ए, परदेशी !
रोकिदेऊ पाइला !
बिसाऊ खकन !
निखनेर ल्याऊ बन्धकिहरू !
उकासेर ल्याऊ
डाँफेको रङ र मारुनी भाका !
बगिगएको अस्तित्व उभ्याउन,
फेरी उठाऊ चारकुना !
तेस्र्याऊ बलियो दलिन !
छाइदेऊ दृढताको छाना !
फेरी पोत सिकुवा
तिम्रो आफ्नो छातीको रातो माटोले !
र,
फेरि लिप चारै भित्ता
सुरम्यताको श्वेत कमेरोले,
अनि,
टाँसिदेऊ,
कहिल्यै नमेटिने गरी
तिम्रा हत्केलाका चव्रmचिन्हहरू !
ए,
हिँड्नै आटेको परदेशी ! 
 

 खोटाङ