मुटुभित्र देश

मुटुभित्र देश

गोविन्द गोपाल खतिवडा  |  साहित्य  |  मंसिर ११, २०७८


(शार्दूलविक्रीडित छन्द)
*
माटोभित्र यहाँ हरेक कणमा छन् बुद्धका पाइला ।
शालिग्राम बनेर विष्णु भगवान् हुन्छन् नदीमा शिला ।।
यी अग्ला हिमशैल छन्, प्रकृतिको नौलो चमत्कार छ ।
छन् मुस्कान यहाँ हरेक मुखमा, स्वर्गीय संसार छ ।।
*
शेर्पा डम्फु बजाउँदै छ छठमा आएर बारातिर ।
सेलो नाच्न भनेर थारु अहिले नाम्चे पुग्यो आखिर ।।
भेरीको जब आँसु तप्प चुहियो मेची बन्यो चिन्तित ।
पाल्पाले पिरती लगाउँछ यहाँ हाँसेर डोल्पासित ।।
*
हाम्रो गौरव हो पवित्र मिथिला, जन्मिन् जहाँ जानकी ।
राराको रहमा पुगेर रविले ऐना कतै हेर्छ कि ?
लाखौं फूलहरू टिपेर मुटुले गाँसेर माला उनी ।
हामी मुन्धुम, वेद, धम्मपदको बस्छौं छहारीमुनि ।।
*
माया लाउन पारुहाङ नजिकै आइन् यतै सुम्निमा ।
पुर्खाको इतिहासमा विगतका छन् चेतना स्वर्णिम ।।
आएको छ विकासमा, प्रगतिमा आकाश चुम्ने क्षण ।
तिम्रा सन्तति छौँ प्रसन्न अहिले ए पृथ्वीनारायण !
*
भाषामा छ मिठास, उर्वर धरा, सम्पन्न छन् सभ्यता ।
हामी संस्कृतितुल्य सुन्दर भयौं जोडेर आत्मीयता ।।
हाम्रा हात सदैव तत्पर बनून् नेपालको काममा ।
ए मेरो मुटु ! धड्किदे अब सधैं नेपालकै नाममा ।।