यात्रा प्रतिबन्धप्रति दक्षिण अफ्रिकी राष्ट्रपतिद्वारा निन्दा, तत्काल हटाउन माग

यात्रा प्रतिबन्धप्रति दक्षिण अफ्रिकी राष्ट्रपतिद्वारा निन्दा, तत्काल हटाउन माग

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर १३, २०७८

दक्षिण अफ्रिकाका राष्ट्रपतिले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएपछि आफ्नो र छिमेकी देशमाथि यात्रा प्रतिबन्ध लगाएकोमा निन्दा गरेका छन् । राष्ट्रपति सिरिल रामफोसाले यो कारबाहीले आफूहरु निकै निराश भएको पनि बताएका छन् । 

उनले यो प्रतिबन्ध अनुचित भएको भन्दै तत्काल हटाउन माग गरेका छन् । 

बेलायत, युरोपेली संघ, अमेरिकासहित विश्वका धेरै देशले दक्षिण अफ्रिकासहित केही अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।

दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई चिन्ताका रुपमा हेरिएको छ । प्रारम्भिक रिपोर्टअनुसार म्युटेशन भएको यो भाइरस निकै तीव्र गतिमा फैलिने र पुनः संक्रमित हुने खतरा पनि बढी रहेको बताइएको छ ।

नोभेम्बरको सुरुमा यो भेरियन्ट पुष्टि भएको थियो । गत बुधबारमात्रै विश्व स्वास्थ्य संगठनले यसबारे जानकारी दिएको थियो । पछिल्लो दुई सातामा दक्षिण अफ्रिकाको सबैभन्दा बढी जनसंख्या भएको गौटेङ्गा प्रान्तमा पुष्टि भएको यो भाइरस देशैभरी फैलिएको छ ।