मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १४, २०७८

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि अहिले दिउँसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शाही निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले १५ असोजमा राजीनामा दिएपछि १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थानुसार आज उनले विश्वासको मत लिन लागेका हुन् । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने मतदानमा अनुपस्थित रहने भएको छ । एमालेको १० मंसिरदेखि चितवनमा जारी १०औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन सौराह पुगेका कारण आफूहरू सहभागी हुन नसक्ने प्रदेशसभामा एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए ।

मुख्यमन्त्रीले विश्वासको मत नलिँदा संवैधानिक जटिलता आउने भएकाले बैठक नरोकिने कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले बताए । प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भए पनि बैठक अगाडि बढ्ने उनको भनाइ छ ।