आज ५९ सिटको निर्वाचन हुँदै

आज ५९ सिटको निर्वाचन हुँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २९, २०७६


भारतमा जारी लोकसभा चुनाव अन्तर्गत आज छैठौं चरणमा सात राज्यका ५९ सिटका लागि मतदान हुँदैछ । छैठौं चरणमा यी राज्यका १०.१६ करोड मतदाताले मतदान गर्दैछन् ।

काठमाडौ । भारतमा आज छैठौ चरणको निर्वाचनका लागि सात राज्यको ५९ सिटमा मतदान हुँदैछ । ५९ सिटका लागि ९७९ जना प्रत्याशीले प्रतिस्पर्धा गरिरहेका छन् । 

आज भइरहेको ५९ सिटको निर्वाचनमा भारतीय जनता पार्टीले २०१४ को निर्वाचनमा ४४ सिटमा विजय हासिल गरेको थियो । कांग्रेसले भने जम्मा २ सिटमा विजय पाएको थियो ।

सात राज्यका ५९ सिटमा कुल मतदाता संख्या १०.१६ करोड रहेको छ । 

छैठौं चरणको निर्वाचनअन्र्तगत उत्तर प्रदेशका १४, बिहारका ८, मध्यप्रदेशका ८, पश्चिम बंगालका ८, झारखण्डका ४, हरियाणाका १० र दिल्लीका ७ सिटमा मतदान हुँदैछ । 

आजको निर्वाचनमा मतदाताले समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, भाजपाका मेनका गान्धी, कांग्रेसका दिग्बिजय सिंह, ज्योतिरादित्य सिंघिया, शीला दीक्षित, कीर्ति आजाद, भाजपाका मनोज तिवारी, गौतम गम्भीरको भाग्य फैसला गर्दैछन् । 

छैठौं चरणको निर्वाचनमा सबैभन्दा धनी उम्मेदवार कांग्रेसका ज्योतिरादित्य सिंघिया हुन् । उनले आफूसँग ३७४.५६ करोड सम्पति रहेको देखाएका छन् ।