अत्यावश्यक नपरी विदेश भ्रमण नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

अत्यावश्यक नपरी विदेश भ्रमण नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  मंसिर १५, २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक नपरी विदेश भ्रमणमा नजान आग्रह गरेको छ । अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरिएन्ट (बी.१.१.५२९) दक्षिण अफ्रिका र एसियाकै केही देशमा तीव्र बिस्तार भइरहेकाले सो संक्रमणलाई नेपाल प्रवेशबाट रोक्न मन्त्रालयले विदेश भ्रमण नगर्न आग्रह गरेको हो । 

विश्व स्वास्थ्य संगठनले पनि यस भेरिएन्टलाई वर्ल्डवाइड भेरिएन्ट अफ कन्सर्न घोषणा गरिसकेको छ । तर, हालसम्म नेपालमा उक्त भेरिएन्ट फेला परी नसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यही कारण यो भेरियन्टलाई रोक्न समयमै सावधानी अपनाई नेपाल प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न मन्त्रालय तथा सम्बन्धित निकायहरू तीव्र रूपमा एक भएर काम गरिरहेको अवस्था छ ।’

कोभिड- १९ को ओमिक्रोन भेरिएन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ । त्यसैले संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बन्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न/गराउन मन्त्रालयको अपिल छ ।