अर्बपति जेफ मुन मिसनमा

अर्बपति जेफ मुन मिसनमा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २९, २०७६

विश्वका सर्वाधिक धनी अमेजन कम्पनीका सिरओ जेफ बेजोस चन्द्र अभियानमा ओर्लेका छन् । आफ्नो चन्द्र अभियान कम्पनी ‘ब्लु ओरिजिन स्पेस प्रोग्राम’ले बनाएको नयाँ रकेट इन्जिन र अन्तरिक्षयानको सार्वजनिकीकरण गर्दै उनले भने– चन्द्रमामा पुनःपर्दापण गर्ने बेला भएको छ ।

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ सम्म पुनः चन्द्रमामा मानिस पठाउने महत्वाकांक्षी योजना बनाएका छन् । सन् १९६० को दशकदेखि प्रारम्भ भएको चन्द्रयात्रामा अहिलेसम्म १२ अमेरिकीले मात्र चन्द्र धरातल छुने सौभाग्य पाएका छन् ।

अमेरिकाबाहेक रुस, चीन, भारत, जापान र इजरायलले मात्रै चन्द्रमामा यान पठाउने सफलता पाएका छन् ।

अमेजनका सिइओ जेफ बेजोसले मे १० मा आफ्नो स्पेस कम्पनीले तयार पारेको रकेट र अन्तरिक्ष यानको अनावरण गर्दै भने, ‘हामी राष्ट्रपति ट्रम्पको योजना अनुसार सन् २०२४ सम्म पुनः चन्द्रमामा टेक्ने छौं ।’ वासिंटनमा नासा र अन्य कम्पनीका सिइओ सम्मिलिट गोष्ठीमा उनले भने, ‘मेरो कम्पनीले चन्द्र यात्राका लागि अन्तरिक्षमा आधारभूत ‘इन्फास्ट्रक्चर’ बनाउँछ । यसले चन्द्रमामा जानका लागि सुविधा प्रदान गर्छ ।’

बेजोस अन्तरिक्ष तथा चन्द्रमामा मानिस बस्ने सक्ने सुविधा विकसित गर्न चाहान्छन् । उनले यसको ‘ब्लु प्रिन्ट’ बनाइसकेका छन् । बेजोसको कम्पनीले नाससँग सहकार्य गरेर सन् २०२४ सम्म चन्द्रमामा पुग्ने लक्ष्यका साथ काम गरिरहेको छ ।

अमेरिकाका उपराष्ट्रपति माइक पेन्सका अनुसार पाँच वर्षमा अमेरिका पुनः चन्द्रमामा अवतरण गर्नेछ । र, यस अभियानमा अमेरिकी महिलालाई पहिलो महिला चन्द्रयात्रीको रूपमा पठाइनेछ ।

– एजेन्सीको सहयोगमा