'पार्टीको हितका लागि नेतृत्वको दाबी छाडेँ'

'पार्टीको हितका लागि नेतृत्वको दाबी छाडेँ'
फाइल फोटो

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर १५, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छाडेको जानकारी दिएका छन् । 

काठमाडौंमा बुधबारदेखि सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले केही दिनअघिसम्म नेतृत्वमा गरेको दाबी अहिले पार्टीको हितका लागि फिर्ता लिएको जानकारी दिए । 

तर, आफूले नेतृत्वको दाबी छाडेकामा केहीले चित्त दुखाएको र जिताउने विश्वास दिलाएका भन्दै उनले सो विचारलाई आफूले धन्यवाद दिने बताए । 
‘लामो समय हामीले पार्टीको नेतृत्व लियौँ । अहिले आएर मेरो विजय ठूलो हो या पार्टीको भन्ने सोचेँ’, उनले भने, ‘८० वर्षको उमेरमा नेतृत्व लिँदा पार्टी फुट्यो भने त्यसले राम्रो गर्दैन । मैले पार्टीको भविष्यलाई सोचेर अध्यक्षको दाबीबाट पछि हटेको हुँ ।’ 

राप्रपाको एकताका लागि यो महाधिवेशन कोशेढुंगा सावित हुनुपर्नेमा जोड दिएका उनले सबै नेता  कार्यकर्ताप्रति पनि आह्वान गरे । 

नेतृत्वको दाबीबाट पछि हटे पनि आफू राप्रपामै रहने कार्यकर्तालाई विश्वास दिलाएका उनले आफू नेतृत्वमा नभए पनि राप्रपा, यसका कार्यकर्ता र देश तथा जनताका लागि आफू सधैँ क्रियाशील भएर लाग्ने बताए । 

अध्यक्षका उम्मेदवारद्वय कमल थापा र राजेन्द्र लिङ्देनलाई सहमतिमा नेतृत्व चयन गर्न उनले आग्रह गरे ।  

प्रजातान्त्रिक विधि र पद्धतिअनुसार इमान्दारीको जगमा मुलुक चल्नुपर्नेमा राप्रपा पक्षधर रहेको बताएका अध्यक्ष जबराले तर प्रजातन्त्र आएका यतिका वर्षमा पनि मुलुकमा विकास र प्रगति भयो भन्ने अवस्था नआएको बताए ।