राजाको आशीर्वादका लागि तँछाडमछाड: फुटको त्रासबीच राप्रपामा प्रतिस्पर्धा

लोकसंवाद टिप्पणी

राजाको आशीर्वादका लागि तँछाडमछाड: फुटको त्रासबीच राप्रपामा प्रतिस्पर्धा

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १६, २०७८

३० वर्ष लामो पञ्चायती व्यवस्थामा धेरै समय सत्ताको भोग गरेका कुलीन वर्गले खोलेको पार्टी हो, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) । पञ्चायती व्यवस्थामा पटक पटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले यो पार्टी खोलेका थिए । तर सानो स्वार्थ नमिल्दा पनि फुटिहाल्ने र एउटा क्षतिपछि फेरि मिल्ने गरेको यो पार्टीको इतिहास रहँदै आएको छ ।

यही राप्रपा यतिबेला पार्टीको महाधिवेशनमा जुटेको छ । महाधिवेशनमा जुट्दै गर्दा एकातिर राप्रपाका नेताहरूमा फेरि पनि फुटको त्रास देखिन्छ भने अर्कोतिर पूर्व राजाको आशीर्वाद कसले पाउने हो भन्ने  तँछाडमछाड   देखिएको छ । 

फुटको त्रासले पछि हटे राणा

बुधवार भृकुटीमण्डपमा एकताको महाधिवेशन उद्घाटन गर्दै गर्दा नेताहरूमा भने फेरि विभाजनको त्रास झल्किएको छ । ३ वटा टुक्रामा विभाजित भएको राप्रपामा पशुपति समसेर राणा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापालाई अध्यक्ष बनाउँदै एकीकरण भयो । पार्टीको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष पशुपति समसेरले आफू अध्यक्षको दाबेदार भए पनि पार्टी एकताका लागि अध्यक्षमा नउठ्ने घोषणा गरे ।

उनले सहमतिमा नै नेतृत्व चयन हुनुपर्नेमा समेत जोड दिए । उनले आफू अध्यक्ष बने पनि पार्टी विभाजन भए तीतो अनुभव हुने भन्दै अध्यक्षमा दाबेदार रहेका कमल थापा र राजेन्द्र लिङ्देनलाई पनि सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित गर्न आग्रह गरेर एकताको सन्देश दिन आग्रह गरे । उनले सर्वसम्मत नभए लोकतान्त्रिक विधिबाट आएको परिणामलाई सबैले मान्नुपर्ने बताए ।

पार्टीको चुनावी चिह्नको विवादका कारण प्रकाशचन्द्र लोहनीले एकीकृत राप्रपा (राष्ट्रवादी) र पशुपति शमशेर जबराले राप्रपा (लोकतान्त्रिक) गठन गरे । २०७४ मा राप्रपाबाट राजेन्द्र लिङ्देनले मात्रै जित हात पारे । २०७६ फागुनमा कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहने गरी फेरि राप्रपा एक भएको हो । 

पार्टीका अर्का अध्यक्ष डा.लोहनी र थापाले तीनै जना अध्यक्षले अब पार्टी फुट्न नदिने संकल्प गरेको बताए । तीनै जना अध्यक्षमा फेरि पनि पार्टी विभाजित बन्ने त्रास देखिएको छ । आफू अध्यक्ष बन्दा सर्वस्वीकार्य हुन सक्दिन कि भने राणा यो मैदानबाटै हटेको देखिन्छ । नेताहरू बुद्धिमान तामाङ, दीपक बोहरा, भुवन पाठक, जयन्त चन्द, भास्कर भद्रालगायतका नेताहरू थापाको पक्षमा छन् भने अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीसहित, डा.धवल शमशेर राणा, दिलनाथ गिरी, दुर्गा श्रेष्ठ, सगुन लावती, रवीन्द्र प्रताप शाह, रामकुमार सुब्बा, मोहन श्रेष्ठ, राजाराम श्रेष्ठ, आङछिरिङ शेर्पालगायतका नेताहरू लिङ्देनको पक्षमा छन् । राणा भने तटस्थ छन् । लामो समय पार्टीको नेतृत्वमा रहेका थापा र युवा पुस्ताले विश्वास गरेका लिङ्देनबीचको भिडन्त रोचक बन्नेछ । 

राप्रपा फुटको इतिहास

राप्रपा स्थापनाको इतिहास जति नै लामो यो पार्टी विभाजनको इतिहास छ । कुनै समय सरकारमा जाने विषय त कुनै समय सरकारबाट फर्किने विषयमा विवाद हुँदा समेत राप्रपा विभाजित भएको छ । पछिल्लो समयमा त चुनाव चिह्न के राख्ने भन्ने विवादले तीन टुक्रा भएको थियो । २०४७ सालमा सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले स्थापना गरेको यो पार्टी २०४८ सालमै प्राविधिक मतभेदका कारण विभाजित भएपछि दुई पार्टी एउटै नाम, विचारधारा र विधानसहित चलेका थिए ।

२०४८ को निर्वाचितमा विभाजित रूपमै भाग लिएपछि सूर्यबहादुर थापा पक्षले १ सिट र चन्द पक्षले ३ सिट जितेपछि दुवै दल एक भएका थिए । २०४९ सालको पहिलो महाधिवेशनबाट थापा अध्यक्ष बने भने चन्द वरिष्ठ नेता र राजेश्वर देवकोटा सह अध्यक्ष बनेका थिए । २०५१ को मध्यावधि निर्वाचनमा राप्रपाले २० सिट जित्यो । संसद्मा तेस्रो दल भएको राप्रपाले कांग्रेस र एमालेसँग मिलेर पालैपालो सरकार बनायो । २०५३ मा लोकेन्द्र बहादुर चन्दको नेतृत्वको समूह एमाले नेतृत्वको गठबन्धन सरकारमा सामेल भएपछि यो पार्टी फेरि विभाजित भयो ।

चन्दको सरकार ढलेपछि थापाको नेतृत्वमा कांग्रेससँग गठबन्धन सरकार बन्यो । २०५५ मा वीरगन्जमा सम्पन्न दोस्रो महाधिवेशनबाट सूर्य बहादुर थापा पुनः अध्यक्ष भए । २०५६ को आम निर्वाचनमा थापा समूहले ११ सिट जित्यो भने चन्द समूहले एक सिट पनि जित्न सकेन । चुनाव लगत्तै दुवै समूह फेरि एक भए । 

पोखरामा २०६० मा सम्पन्न तेस्रो महाधिवेशनबाट थापा हटेपछि पशुपति शमशेर जबरा अध्यक्ष भए । राप्रपा २०६१ सालमा पुनः विभाजित भयो र सूर्यबहादुर थापाको नेतृत्वमा राष्ट्रिय जनशक्ति पार्टी बन्यो । २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद् विघटन गरेर प्रत्यक्ष शासन सुरु गरे । त्यस बेला कमल थापासहितका केही नेताले राजाको शासनको समर्थन गरे । त्यस बेला गृहमन्त्री बनेका थापासहित मन्त्रिपरिषद्का ६ जनालाई निष्कासन गरिएपछि २०६३ मा थापा नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बन्यो । २०६४ को संविधानसभा निर्वाचनमा राप्रपाले ८ सिट, राप्रपा नेपालले ४ र राष्ट्रिय जनशक्ति पार्टीले ३ सिट जितेको थियो । राप्रपा माधवकुमार नेपाल नेतृत्वको सरकारमा सामेल समेत भयो । 

२०७० मा राप्रपा र जनशक्ति पार्टी एक भएर फेरि सूर्यबहादुर थापाको नेतृत्वमा चुनाव लडेपछि १३ सिट जितेको थियो भने राप्रपा नेपालले २४ सिट जितेको थियो । २०७३ मंसिरमा राप्रपा नेपाल र राप्रपा एक भए । एकतापछि संसद्मा राप्रपा ३७ सिटसहित चौथो दल भएको थियो । २०७३ फागुनमा काठमाडौँमा भएको विशेष महाधिवेशनबाट कमल थापा अध्यक्ष भए । तर पार्टीको चुनावी चिह्नको विवादका कारण प्रकाशचन्द्र लोहनीले एकीकृत राप्रपा (राष्ट्रवादी) र पशुपति शमशेर जबराले राप्रपा (लोकतान्त्रिक) गठन गरे । २०७४ मा राप्रपाबाट राजेन्द्र लिङ्देनले मात्रै जित हात पारे । २०७६ फागुनमा कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहने गरी फेरि राप्रपा एक भएको हो । 

पटक पटक फुटको सामना गरेको राप्रपा फेरि विभाजित हुने हो कि भन्ने त्रास बढी देखिएको छ । राप्रपामा विभाजन संस्कृतिकै रुपमा रहँदा नेतादेखि कार्यकर्तासम्म यो डर देखिरहेकाे छ ।