क्यानले ५ प्रशिक्षकसँग लियो अन्तर्वार्ता, आईसीसीको परामर्शमा अन्तिम एकको नाम टुंगो लाग्ने

क्यानले ५ प्रशिक्षकसँग लियो अन्तर्वार्ता, आईसीसीको परामर्शमा अन्तिम एकको नाम टुंगो लाग्ने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर १६, २०७८

रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आवेदन दिएकामध्ये अन्तिम ५ जनाको अन्तर्वार्ता लिएको छ । 

क्यानले बुधबार अन्तिम चरणका ५ प्रशिक्षकसँग अन्तर्वार्ता लिएको हो । यसअघि क्यानको कार्यसमितिको बैठकले ५ सदस्यीय प्रशिक्षक समिति गठन गरेको थियो । 

कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन् । समितिमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का एक जना प्रतिनिधिसमेत छन् ।

क्यानका अनुसार मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको थियो, जसबाट पहिलो चरणमा १५ र दोस्रो चरणमा ५ जनाको अन्तर्वार्ता लिइएको हो । यद्यपि, क्यानले नाम भने खुलाएको छैन ।  

मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि क्यानले १ कात्तिकमा मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको होे । 

आईसीसी विश्वकप क्रिकेट लिग- २ को त्रिकोणात्मक एक दिवसीय सिरिजपछि ह्वाटमोरले नेपाली टिम छाड्दा टोली प्रशिक्षकविहीन रहेको छ । 

क्यानले अन्तिम ५ जनाको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)मा पठाएको छ । आईसीसीको परामर्शमा अन्तिम एकको नाम टुंगो लाग्नेछ ।