कुलपति गङ्गाप्रसाद उप्रेती : विश्व शान्ति सम्मेलन सहभागी हुन बङ्गलादेश प्रस्थान

कुलपति गङ्गाप्रसाद उप्रेती : विश्व शान्ति सम्मेलन सहभागी हुन बङ्गलादेश प्रस्थान

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १७, २०७८

काठमाडौँ  । नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेती मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा आयोजना हुने विश्व शान्ति सम्मेलनमा सहभागी हुन बिहीबा  बङ्गलादेश प्रस्थान गर्नुभएको छ । बङ्गलादेश सरकारको आयोजनामा डिसेम्बर ४ र ५ मा सम्पन्न हुने उक्त सम्मेलनका लागि कुलपति उप्रेती त्यहाँका माननीय परराष्ट्र मन्त्री डा. ए. के. अब्दुल मोमेनको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्नुभएको हो । बङ्गलादेशका पिता बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्मशताब्दी र स्वतन्त्र बङ्गलादेश स्थापनाको स्वर्ण महोत्सवका सन्दर्भमा उक्त कार्यक्रमको आयोजना हुन लागेको हो ।

विश्वका ५० भन्दा बढी राष्ट्रका प्रतिनिधिहरू सहभागी हुने उक्त सम्मेलनको उद्घाटन बङ्गलादेशका सम्माननीय राष्ट्रपति मोहम्मद आब्दुल हामिदले गर्नुहुने छ भने सम्मेलनको समापन सम्माननीय प्रधानमन्त्री शेख हसिनाले गर्नुहुने कार्यक्रम छ । सम्मेलनमा कुलपति उप्रेतीले ‘शान्तिका लागि आपसी संवाद, संस्कृति र सम्पदा’ शीर्षकमा प्रस्तुति दिने कार्यक्रम छ । कुलपतिको बिदाइका लागि नेपालस्थित बङ्गलादेशी दूतावासका अधिकारी मञ्जित श्रेष्ठलगायत प्रज्ञा–प्रतिष्ठानका प्रतिनिधिहरू विमानस्थल पुग्नुभएको थियो । आफ्नो चार दिने भ्रमण पूरा गरी उहाँ आगामी सोमबार स्वदेश फर्किनु हुनेछ ।