दक्षिण अफ्रिकाबाट सुरु ओमिक्रोनको त्रास: भारतमा पुष्टि , नेपाल के गर्दैछ ?

दक्षिण अफ्रिकाबाट सुरु ओमिक्रोनको त्रास: भारतमा पुष्टि , नेपाल के गर्दैछ ?

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १७, २०७८

कोरोना भाइरसले विश्वलाई पछिल्ला दुई वर्षदेखि त्रासमा पारेको छ । म्युटेशन भएको कोरोनाको अल्फा, डेल्टा जस्ता भेरियन्टका कारण आएको दोस्रो लहरको त्रास कम भएलगत्तै फेरि दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन भेरियन्टले विश्वभर फेरि अर्को त्रास थपेको छ । दक्षिण अफ्रिकामा नयाँ भेरियन्ट पुष्टि भएपछि विश्वका धेरै देशले यात्रामा रोक लगाएका छन् ।

यद्यपि भाइरसको प्रसार तीव्र गतिमा फैलिएको छ । भारतको कर्नाटकमा दुई जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । भारतमा एक ६६ वर्षीय र अर्का ४६ वर्षीय पुरुषमा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भएपछि उनीहरुलाई निगरानीमा राखिएको छ । भारतमा पहिलोपटक ओमिक्रोन भाइरस पुष्टि भएको हो । उनीहरु दक्षिण अफ्रिकाबाट फर्किएका हुन् । निकै संकट ल्याउनसक्ने भाइरसका रुपमा ब्याख्या गरिएको यो भाइरसका संक्रमितमा सामान्य लक्षण देखिएको छ । विश्व स्वास्थ्य संगठनले ओमिक्रोनका कारण संक्रमण हुन सक्ने उच्च जोखिम भएको बताएको छ ।

दिल्लीमा पुष्टि भएका ६ जना र महाराष्ट्रका ६ जनाको नमुना ओमिक्रोन हो वा हैन भन्ने छुट्याउन जीन सीक्वन्सिङका लागि पठाइएको छ । ती परीक्षणको नतिजा आउन बाँकी छ । बुधबारदेखि लागु हुनेगरी भारतले उच्च जोखिम भएका देश बेलायत, दक्षिण अफ्रिका, न्यूजिल्यान्ड, बंगलादेश, हङ्कङ र इजरायलबाट आउने यात्रुलाई कडाइ गरेको छ । उनीहरुलाई भारत आइपुग्नासाथ परीक्षण गरिने र नतिजा आएपछि मात्रै विमानस्थलबाहिर जान दिइनेछ । 

कोभिड पुष्टि नहुने यात्रुले सात दिन घरमा क्वारेन्टिनमा बस्नुपर्ने र आठौं दिन फेरि परीक्षण गर्नुपर्ने नियम बनाइएको छ । ओमिक्रोन भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले गत साता ‘भेरिअन्ट अफ कन्सर्न’ का रूपमा वर्गीकरण गरेको थियो ।

के गर्दैछ नेपाल ?

ओमिक्रोन भाइरसको जोखिम नेपालमा पछि छ । भारतसँगको खुला सिमानाका कारण भारतमा आउनेवित्तिकै नेपाल कोरोनाको उच्च जोखिममा पर्ने निश्चित छ । डेल्टा भाइरसका कारण भारतमा कोरोना संक्रमण र मृत्युदर ह्वात्तै बढ्दा नेपालमा पनि डेल्टाका हजारौं संक्रमित भेटिएका थिए । ओमिक्रोनको जोमिखलाई मध्यनजर गर्दै नेपाल सरकारले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । नेपालमा ओमिक्रोनको जोखिमका कारण सतर्कता अपनाउन सुरु गरिएको हो । अहिलेसम्म नेपालमा ओमिक्रोन भेटिएको पुष्टि भएको छैन ।

कोरोनाको यो नयाँ भेरिअन्ट भित्रिन सक्ने जोखिमलाई मध्यनजर गर्दै नेपालमा भेटिएका कोरोना भाइरसको जीन सीक्वेन्सिङ कार्यलाई तीव्र पार्ने तयारी भएको छ । ओमिक्रोनको जोखिमबारे विचार गरेर परीक्षण र जीन सीक्वन्सिङलाई तीव्रता दिन थालिएको हो । 

स्पाइक प्रोटिन मानिसको कोषमा टाँसिन र भित्र छिर्न सघाउने अवयव हो । यो भाइरस वुहानमा बनेको भन्दा निकै फरक भइसकेका कारण घातक हुनसक्ने अनुमान गरिएको छ । 

विदेशबाट आउनेहरूको परीक्षण गर्दा कसैमा संक्रमण पुष्टि भएमा उनीहरूको नमुना राखेर अनिवार्य रूपमा सीक्वन्सिङ गर्ने र अरू नियमित तरिकाले पुष्टि भइरहेका

संक्रमितहरूको नमुनामध्ये स्याम्प्लिङ गरेर सीक्वन्सिङ गरिने छ। दक्षिण अफ्रिकामा नोभेम्बर ९ मा संकलित नमुनामा पहिलो पटक ओमिक्रोन फेला परेको हो । 

विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण अफ्रिकाका सबै प्रान्तमा ओमिक्रोन भेरिअन्टबाट संक्रमितको संख्या बढेको छ । विज्ञप्ति प्रकाशित गर्दै डब्लुएओले कोरोनाका धेरै भेरियन्टमध्ये यो चिन्ताजनक भएको बताएका छ । यद्यपि पहिलेका भन्दा अहिलेको उत्परिवर्तनबाट आएको भाइरस थप घातक भएको प्रमाण भने फेला परिसकेको छैन । 

विश्व स्वास्थ्य संगठनले सुरुमा यो भेरिअन्टलाई बी.१.१.१५९ को संकेत दिएका थिए । पछि ओमिक्रोन नामाकरण गरिएको हो । यो भेरिअन्ट आश्चर्यजनक रूपमा धेरै उत्परिवर्तित भएको पाइएको छ । 

दक्षिण अफ्रिकास्थित सेन्टर फर इपिडेमिक रेस्पोन्स एन्ड इन्भेन्शनका निर्देशक प्राध्यापक टुलिओ डि ओलिभियराले यसअघि फैलिएका अन्य भेरिअन्टभन्दा यो भिन्न र उत्परिवर्तनको अस्वाभाविक संग्रह देखिएको बताएका थिए । उनले समग्रमा ५० वटा उत्परिवर्तन भएको र ३० वटाभन्दा बढी स्पाइक प्रोटिन भएको बताएका छन् । स्पाइक प्रोटिन मानिसको कोषमा टाँसिन र भित्र छिर्न सघाउने अवयव हो । यो भाइरस वुहानमा बनेको भन्दा निकै फरक भइसकेका कारण घातक हुनसक्ने अनुमान गरिएको छ ।