ओमिक्रोन भेरिएन्टको त्रास, हाम्रो सरकारी रवैया र नागरिकको दायित्व

ओमिक्रोन भेरिएन्टको त्रास, हाम्रो सरकारी रवैया र नागरिकको दायित्व

ज्ञानमित्र  |  दृष्टिकोण  |  मंसिर १७, २०७८

एक हिसाबले बहुप्रतीक्षित समाचार आयो । सर्वप्रथम दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको 'लेटेस्ट भर्सन' ओमिक्रोन (भेरिएन्ट बी.१.१.५२९) भारतको कर्नाटक राज्यमा आइपुगेको प्रमाणित भयो  ।

२४ नोभेम्बरका दिन सर्वप्रथम दक्षिण अफ्रिकाको ल्याबमा पहिचान गरिएको ओमिक्रोनबारे विश्व स्वास्थ्य संगठनले अति द्रुत गतिले संज्ञान लिँदै यसलाई २६ नोभेम्बरमै चिन्ताको स्वरूप (भाइरस अफ कन्सर्न) घोषित गर्दै विश्वलाई यसबाट सचेत रहन एडभाइजरी जारी गर्‍यो । एक-एक गरी अधिकांश राष्ट्रले दक्षिण अफ्रिकासँग यातायात सम्बन्ध बिच्छेद गरे ।

तर, भाइरसको ओमिक्रोन संस्करणको रोकथामका मानवीय प्रयास सफल भएनन् । बोत्सवाना, हङकङ, इजरायल हुँदै अहिलेसम्म (यो लेख्दै गर्दा ) ओमिक्रोनले ३० देशमा दस्तक दिइसकेको छ ।

अब ओमिक्रोन दक्षिण अफ्रिकाबाट मात्र प्रसारित हुन्छ भन्ने कुरा रहेन । ओमिक्रोन पुगेको कुनै पनि देशबाट यो जहाँ पनि पुग्न सक्छ । भारतमा ओमिक्रोनको पदार्पण कर्नाटक राज्यमा प्रमाणित भएको समाचारले भारतलाई मात्र होइन, नेपाललाई पनि चिन्तित बनाएको छ । भारतसँग हाम्रा सबै खाले विशेष सम्बन्ध एवं निर्बाध आवागमनले ओमिक्रोनलाई नेपाल छिर्न खासै अप्ठ्यारो पर्दैन । यदि भारतमा यसको प्रसार भयो भने भारतका सबै राज्य पुग्नुभन्दा पहिला ओमिक्रोन पशुपति दर्शनको अभिलाषामा नेपाल आउन उत्साहित हुन्छ ।

विश्व स्वास्थ्य संगठनलगायत संसारभरिका यस क्षेत्रका मूर्धन्य व्यक्ति भनिरहेका छन्- अहिले यस भेरिएन्टबारे थाहा छैन । यो विगतका भेरिएन्टभन्दा बढी घातक छ कि छैन, यसबारे थाहा हुन १०-१५ दिन पर्खिनुपर्छ । २ वर्षदेखि भाइरससँग डिल गरिरहेको विश्वको सर्वोच्च संस्थाको आलोचना गर्नु त उचित होइन तर ओमिक्रोनबारे थाहा हुन पर्खिनुपर्छ भन्ने कुराले हाँसो उठ्छ ।

दक्षिण अफ्रिकाको स्थिति हेरौँ

 नोभेम्बरमा ११६ जना संक्रमित देखिएको दक्षिण अफ्रिकामा क्रमशः ९ नोभेम्बरमा २४५, १० नोभेम्बरमा ३०५ , ११ नोभेम्बरमा ३५६, १२ नोभेम्बरमा ३९३, १३ नोभेम्बरमा ३०६, १४ नोभेम्बरमा २६२, १५ नोभेम्बरमा १३६, १६ नोभेम्बरमा २७३, १७ नोभेम्बरमा ५६६, १८ नोभेम्बरमा ५८५, १९ नोभेम्बरमा ७८९, २० नोभेम्बरमा ८८७, २१ नोभेम्बरमा ६८७, २२ नोभेम्बरमा ३१२ र २३ नोभेम्बरमा ८६८ जना संक्रमित भेटिएका थिए ।    

२४ नोभेम्बरमा यो संख्या बढेर एक हजार २७५, २५ नोभेम्बरमा २ हजार  ४६५, २६ नोभेम्बरमा २ हजार  ८२८, २७ नोभेम्बरमा ३ हजार  २२०, २८ नोभेम्बरमा २ हजार  ८५८, २९ नोभेम्बरमा २ हजार २७३, ३० नोभेम्बरमा ४ हजार ३७१ र १ डिसेम्बरमा यो संख्या झन्डै दोब्बर भएर ८ हजार  ५६१ पुगेको छ ।

१ डिसेम्बरका दिन दक्षिण अफ्रिकामा ५१ हजार ९७७ कोरोना परीक्षण हुँदा ८ हजार ५६१ नयाँ संक्रमित देखिएका हुन् । संक्रमण सकारात्मकता दर (Positivity rate)का हिसाबले हेर्ने हो भने यो  १६.५ प्रतिशत हो ।

१८ नोभेम्बरका दिन दक्षिण अफ्रिकामा ३४ हजार ५२९ परीक्षण सम्पन्न हुँदा ५८५ जनामा संक्रमण देखिएको थियो । यो भने सकारात्मकता दर १.७ प्रतिशत मात्र हो । २३ नोभेम्बरमा ४० हजार ७९१ परीक्षण हुँदा ८६८ जना संक्रमित आउनुको अर्थ सकारात्मकता दर २ प्रतिशतको हाराहारीमा हुनु हो । २५ नोभेम्बरमा सकारात्मकता दर बढेर ६ प्रतिशत नाघ्यो । २६ नोभेम्बरमा ३० हजार ९०४ परीक्षण हुँदा नयाँ संक्रमित संख्या २ हजार ८२८ हुनुले सकारात्मकता दर ९ प्रतिशतभन्दा बढी भयो । ३० नोभेम्बरमा ४२ हजार ६६४  परीक्षण हुँदा ४ हजार ३७३  संक्रमित देखिनुले सकारात्मकता दर १० प्रतिशतलाई उछिनेर उकालो लाग्यो ।

दक्षिण अफ्रिकाका विज्ञहरूका अनुसार आउने केही दिनभित्रै दैनिक रूपमा नयाँ संक्रमित आउने संख्या १० हजार नाघ्छ । कोरोना सकारात्मकता दर २२-२५ प्रतिशतसम्म पुग्छ ।

भाइरसमा देखिएका अत्यधिक म्युटेसन र दक्षिण अफ्रिकामा भ्याक्सिनको पूर्ण खोप लगाइसकेका मानिसमा ओमिक्रोनको संक्रमण व्यापक पाइएकाले यस भेरिएन्टप्रति तीव्र आशंका बढेको हो । भारतमा भेटिएका ओमिक्रोनबाट संक्रमित दुवै जनाले खोप लगाइसकेका थिए । यिनको सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ गर्दा अन्य ५ जना संक्रमित देखिएका छन् । यी पाँचै जनाले पनि खोपको दुवै मात्रा लगाइसकेका हुन् ।

ओमिक्रोन विगतका भेरिएन्टको तुलनामा कतिको घातक छ, यसबारे थाहा हुन निश्चय पनि केही समय लाग्छ । तर, नेपाल जस्तो देशले बुझ्नुपर्ने के हो भने, भाइरसको मोर्टालिटी रेट जे हुन्छ, त्यो हुन्छ । हामीले त यसको प्रसार क्षमताबाटै सतर्क र सावधान हुनुपर्ने हुन्छ । कारण- हाम्रो देशको कमजोर मेडिकल इन्फ्रास्ट्रक्चर हो ।

मानिलिऊँ (विगतको अनुभवले), कुल संक्रमितमध्ये ५ प्रतिशतलाई मात्र चिकित्सा सुविधा आवश्यक पर्छ । अन्य ९५ प्रतिशत संक्रमित घर अथवा आइसोलेसन केन्द्रमै स्वास्थ्यलाभ गर्छन् । अहिलेकै स्थिति हेरौँ- पछिल्लो जानकारीअनुसार नेपालमा डेल्टा भेरिएन्टको उपस्थिति छ । दोस्रो लहरका रूपमा यसै भेरिएन्टले कहर मच्चाएको थियो । अहिले यो भेरिएन्ट कमजोर भएको छ । कुनै नयाँ भेरिएन्ट नआए स्थिति नियन्त्रणमा आइसकेको छ । आमनेपालीमा पनि कोरोनाप्रति कुनै भय तथा जागरुकता देखिँदैन ।

१ डिसेम्बरको तथ्यांकअनुसार नेपालमा विगत २४ घण्टामा ११ हजार ४०४ परीक्षण हुँदा ३१५ जना नयाँ संक्रमित भेटिएका छन् । यो भनेको कोरोना सकारात्मकता दर झन्डै १.८ प्रतिशत हुनु हो । स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कुल सक्रिय संक्रमित संख्या ७ हजार ४५ छ । यसमध्ये ११० जना आईसीयू र ३८ जना भेन्टिलेटरमा उपचाररत छन् । डेल्टा भेरिएन्ट ओरालो लागिसकेको अवस्थामा पनि ७ हजार ४५ संक्रमितमध्ये १४८ जनालाई चिकित्सकीय सुविधा चाहिएको अर्थ २.१ प्रतिशतलाई आईसीयू अथवा भेन्टिलेटरको आवश्यकता परेको छ ।

नयाँ भेरिएन्ट आउँदा संक्रमण सकारात्मकता बढ्नुका साथै संक्रमित संख्या वृद्धि हुन्छ एवं चिकित्सकीय सहायता चाहिनेको प्रतिशत वृद्धि हुन्छ । दोस्रो लहरताका संक्रमितले अस्पतालमा शय्या नभेटेको र सायद यसै कारणले ज्यान गुमाएको हामीले बिर्सनुहुँदैन ।

यो सबैलाई थाहा छ कि ओमिक्रोन भेरिएन्टलाई रोक्ने जति प्रयास गरे पनि यो नेपाल आइपुग्छ ।

ओमिक्रोन विगतका भेरिएन्टको तुलनामा कम घातक भए पनि यसको प्रसारण क्षमता भने उच्च भएको सहज अनुमान गर्न सकिन्छ । दक्षिण अफ्रिकामा दैनिक १०० संक्रमित आउने गरेकामा नयाँ भेरिएन्टका कारण दैनिक संक्रमित संख्या ८ हजार ५६१ पुगेको छ । यो निश्चय पनि डरलाग्दो कुरा हो ।

भर्खरै दक्षिण अफ्रिकाको २ डिसेम्बरको डाटा आयो । ५१ हजार ४०२ कोरोना परीक्षण हुँदा ११ हजार ५३५ जनामा संक्रमण भेटियो । कोरोना सकारात्मकता दर २२ प्रतिशत नाघिसक्यो । सक्रिय संक्रमित संख्या ४७ हजारभन्दा बढी भयो ।

के गर्नुपर्ने हुन्छ नेपालले ?

सरकारको काम गराइको आफ्नो शैली हुन्छ । जति सुझाव दिए पनि, जति आलोचना गरे पनि ब्युरोक्रेसी आफ्नै तालमा चल्छ । पानी नाकभन्दा माथि नगएसम्म यसले टालटुलका सामान्य गतिविधिबाहेक तदारुकता देखाउँदैन । सरकारले ओमिक्रोन आउँछ, ओमिक्रोन आउन नदिने प्रयास गर्नुका साथै ओमिक्रोन आइसकेको मानेर आफ्ना सबै रणनीति युद्ध स्तरमा लागू गर्नुपर्ने हुन्छ । आएपछि सतर्कता गरौँला भन्ने होइन ।

सरकारले आदेश दिनुको सट्टा स्कुल, कलेजलाई विगतमा जस्तै संचालन गर्ने अनुरोध प्रेषित गर्नु आवश्यक भइसकेको छ । सभा- सम्मेलन-भीडभाडजन्य समारोह स्थगन गर्ने नीति लिए हुन्छ । प्रधानमन्त्री र स्वास्थ्यमन्त्री आफैँले अस्पताल-अस्पताल गएर सबै स्वास्थ्यकर्मीलाई एक पटक पुनः संक्रमणविरुद्ध तयार रहन अनुरोध गर्नुपर्ने हो । आईसीयू र भेन्टिलेटर वृद्धिमा ध्यान दिनुपर्ने हो । अहिलेदेखि विभिन्न चरण र स्तरका सावधानी पालना गरे देशलाई लकडाउनबाट जोगाउन सकिन्छ ।

सबैभन्दा ठूलो दायित्व नागरिक स्वयंको हो । अतिआवश्यकबाहेक सबै किसिमका यात्रा स्थगित गर्नुपर्छ नागरिकले । भीडभाडबाट जोगिनुपर्छ । कोभिड प्रोटोकलको पालना गर्नुपर्छ । आफ्नो मनोबल उच्च राख्नुपर्छ । हामी सबैलाई थाहा छ- संक्रमण हुँदैमा मरिँदैन । ८५-९० प्रतिशत संक्रमित घरेलु उपचारले नै निको हुन्छन् । ५-१० प्रतिशत मानिसलाई संक्रमणले गंभीर अवस्थामा पुर्‍याउन सक्छ, अस्पताल चाहिन सक्छ । संक्रमण हुन नदिन र भएमा यसको थप प्रसार हुन नदिन सबै नागरिकको परंकर्तव्य हो । आमनागरिकको सक्रिय सहभागिता र जिम्मेवारीबोध नभएसम्म संक्रमणको प्रसार रोक्ने कुनै पनि सरकारी प्रयास सार्थक हुँदैनन्  ।

हामीले विगतको कोरोना कहरमा जेजे घरेलु, होम्योप्याथिक, आयुर्वेदिक उपायबाट संक्रमण हुनबाट जोगिएका थियौँ अथवा  संक्रमणबाट मुक्ति पायौँ, आफ्ना ती उपाय सम्झना गरेर, जोहो गरेर राखौँ । आयुर्वेदको आफ्नो कोरोनासम्बन्धी अनुसन्धानका अनुसार 'एनिमल प्रोटिन' (पशु-पंक्षीजन्य आहारा वा मासुजन्य परिकारका साथै दुग्धजन्य पनि)ले शरीरमा त्यस्ता प्रोटिनको अत्यधिक निर्माण गर्छ, जुन प्रोटिनको सहायताले कोरोना भाइरसले आफ्नो 'रिप्लिकेसन' गर्छ । सकेसम्म एनिमल प्रोटिनसँग दूरी बनाउनुहोस् ।

विगत २ वर्षमा भएका विभिन्न 'मेडिकल स्टडिज'ले के देखाएका छन् भने, 'ए' तथा 'एबी' रक्त समूहका व्यक्तिलाई संक्रमण हुने खतरा अन्य समूहभन्दा बढी हुन्छ । यस मामलामा 'ओ'  रक्त समूह सबैभन्दा बढी सुरक्षित देखिएको छ । 'ओ' क्गत समूहका मानिस संक्रमित हुँदा अन्यको तुलनामा यिनको शरीरमा छिट्टै एन्टीबडी बनेर संक्रमणलाई नियन्त्रित गर्छ । मेडिकल साइन्सले रक्त समूहको विभाजन प्रोटिन समूह र बी एन्टिजेनबाट निर्धारण गर्छ ।

'ओ' रक्त समूहमा यस्तो के विशेष गुण छ, यसबारे मेडिकल साइन्सलाई नै थाहा छैन । मेडिकल साइन्स आयुर्वेदको कुरा सुन्न चाहँदैन । थाप्सिगार्गिन एउटा यस्तो वनस्पति हो, जसले कोरोना भाइरसको संक्रमण हुन नदिने भूमिका निर्वाह गर्छ साथै संक्रमित भएको खण्डमा यसको सेवनले संक्रमण निको हुन्छ । खासमा यसले शरीरमा केही समयका लागि ती प्रोटिनको उत्पादन रोकिदिन्छ, जुन प्रोटिन कोरोनालाई आफ्नो वंशवृद्धि गर्न आवश्यक हुन्छ । रिप्लिकेसन गर्ने सामग्रीको अभावमा शरीरभित्र पसेका भाइरसले आफ्नो संख्या बढाउन पाउँदैनन् र भएका भाइरसलाई शरीरको प्रतिरोधक क्षमताले २-३ दिनमै निर्मूल गरिदिन्छ ।

थाहा पाई राखौँ- भाइरसलाई नेपालीमा विषाणु भने पनि सबै भाइरसमा विष हुँदैन । कोरोना भाइरसमा मानिसको स्वास्थ्यलाई असर गर्ने विष छैन । यसले शरीरभित्र प्रवेश गरेर द्रुत गतिले आफ्ना कपी (रिप्लिकेसन) गर्न थाल्छ । शरीरको प्रतिरोधक क्षमताले यिनलाई मार्ने अभियान थाल्छ । तर, विभिन्न कारणवश (प्रतिरोधक क्षमता कमजोर अथवा विभिन्न रोगले ग्रस्त) प्रतिरोधक क्षमताले मार्नेभन्दा बढी उत्पादन हुनाले भाइरसको बढेको संख्याले विभिन्न अंगलाई ढाकिदिएर मानिस गंभीर स्वास्थ्य स्थितिमा पुग्छ । अंगको काम गर्ने क्षमतामा बाधा पुगेर मृत्युसम्म हुन्छ ।

भ्याक्सिन बनाउने फाइजर कम्पनीले नै अब एन्टिभाइरल औषधि प्याक्स्लोभिड (paxlovid) ल्याएको छ । अर्को कम्पनीले मोलनुपिराविर (molnupiravir) नामक एन्टिभाइरल ड्रग ल्याएको छ । फाइजरको प्याक्स्लोभिडको एक कोर्सको मूल्य ५३० डलर छ भने मर्क कम्पनीको मोलनुपिराविरको एक कोर्सको मूल्य ७०० डलर रहेको छ । गम्भीर अवस्थाका बिरामीमा यी औषधिले मृत्युको संभावना ८९ प्रतिशत कम गरेका पाइएको छ । अमेरिकी सरकारले ५.२९ अर्ब डलरमा फाइजर कम्पनीसँग एक करोड डोज प्याक्स्लोभिड किनेको छ ।

नेपालमा थाप्सिगार्गिनको प्रयोग सत प्रतिशत सफल रहेको छ । संक्रमण हुनुभन्दा पहिला सेवन गरेका ९५ प्रतिशत मानिस संक्रमणबाट जोगिएका छन् भने ५ प्रतिशत मानिसलाई संक्रमण भए पनि सामान्य अवस्थामै घरमै निको भएका छन् । संक्रमण भएपछि सेवन गर्ने मानिस ३-४ दिनमै संक्रमणमुक्त भएका छन् । तपाईंको सामर्थ्य छ भने प्याक्स्लोभिड र मोलनुपिराविरको खोजी गर्नुहोला, सामर्थ्य नभएकाहरूले नेपालमा बनेको आयुर्वेदिक औषधिको शरण लिनुहोला ।