प्रगतिशील नेपाल राष्ट्रिय  शिक्षक सङ्गगठनकाे प्रथम राष्ट्रिय सम्मेलन सुरु, दुई दिन चल्ने

प्रगतिशील नेपाल राष्ट्रिय  शिक्षक सङ्गगठनकाे प्रथम राष्ट्रिय सम्मेलन सुरु,  दुई दिन चल्ने

लोकसंवाद संवाददाता  |  शिक्षा  |  मंसिर १७, २०७८

काठमाडौँ । प्रगतिशील नेपाल राष्ट्रिय  शिक्षक सङ्गगठनकाे प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै नेकपा (एकिकृत समाजवादी) अध्यक्ष माधव कुमार  नेपालले  शिक्षा र स्वास्थ्य क्षेत्रलाई नाफा कमाउने माध्यम बनाउन नहुने पनि बताउनु भएको छ । अध्यक्ष नेपालले भने, 'शिक्षक परिवर्तनका संवाहक हुन्, समाजवाद भनेको सामाजिक न्याय र रूपान्तरण हो, शिक्षकले असल कुराको परिपालना गराउन, खोज र अनुसन्धानका लागि अरूलाई सिकाउनुपर्छ ।'

शिक्षकको सेवा सुविधा, मर्यादा र शैक्षिक गुणस्तर वृद्धिमा राज्य र सङ्गठनलाई आवश्यक ध्यान पुर्‍याउन सुझाव दिँदै उनले भने, 'अधिकारको विषय उठे पनि कर्तव्य पालनाको पाटोमा खोजी नीति नहुँदा समाजमा विकृति र विसङ्गति बढेको हो ।' अर्को एक प्रसङ्गमा मुलुकको राजनीतिमा सर्वसत्तावाद प्रवृत्तिले संविधानलाई मिच्ने काम गरेको बताउँदै उनले निष्ठा र समर्पणको भावना कमजोर तुल्याएपछि पार्टीमा विद्रोह गर्न बाध्य भएको जानकारी गराउनु भयो ।

सम्मेलन आयोजक समितिका अध्यक्ष एवं संयोजक भीमबहादुर बस्नेतले सङ्गठन वैचारिक ढङ्गबाट स्खलित र साङ्गठनिक हिसाबले एकलौटीको प्रयास भएपछि नयाँ सङ्गठन बनाएर अघि बढ्ने प्रयासमा जुटेको जानकारी दिए । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका संस्थापक द्वय बद्रीप्रसाद खतिवडा र वेधनिधि निरौला सङ्गठनका पूर्व अध्यक्ष तथा  पूर्व  शिक्षामन्त्री देवी ओझा  र नवगठित सङ्गठनका उपाध्यक्ष भगवती राजभण्डारीले कक्षा कोठाप्रति इमानदार भएर दक्षताका साथ काम गर्ने शोषित पीडित शिक्षकलाई सङ्गठनले उत्प्रेरणा जगाउने काममा कुनै कसर बाँकी नराख्ने विश्वास दिलाए ।

‘शैक्षिक, पेसागत र ट्रेड युनियन अधिकारको लागि हाम्रो अभियान, सुदृढ, सशक्त र वैचारिक प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको दुहिदिने सम्मेलनमा मुलुकका ७३ जिल्लाबाट प्रतिनिधिमूलक रुपमा शिक्षक शिक्षिकाको सहभागिता रहेको जानकारी दिइयो भने सम्मेलन २०७८ मङ्सिर १७ र १८ गरेर २ दिन सञ्चालन हुने समेत बत्ताइएको छ ।