सयमा सत्यमोहन : उत्साह तन्नेरी

सयमा सत्यमोहन : उत्साह तन्नेरी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३०, २०७६

ललितपुर । ठमठमी हिँड्दै कुरा गरिरहेका उनलाई देख्दा सय वर्षमा टेकेजस्तो लाग्दैन। उनको बोलीमा तन्नेरी ओज छ। फोनमा मज्जैले गफिन सक्छन्। पाटन मंगलबजार आसपासमा हुने कार्यक्रममा लौरीबिनै हिँडेर पुग्छन्। उनीसँग बसेर भलाकुसारी गर्दा पाँच बीस उमेर पुगेको महसुस हुँदैन। उनी हुन्– संस्कृतिविद् एवं शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशी।

जन्ममितिअनुसार सोमबार उनी १०० वर्षमा टेक्छन्। देशकै परिचय बोकेका यस्ता व्यक्तिको उमेरले शताब्दी चुम्नु गौरवको विषय हो। उनको दीर्घजीवन सिंगो मुलुकका लागि जिउँदो इतिहास बनेको छ। उमेरले सय टेके पनि उनको उत्साह तन्नेरी छ। कार्यक्रममा पुगेर जोसिलो मन्तव्य दिन्छन्। आफ्ना कुरा खुलस्त राख्छन्। दशकौं पुराना संस्कृति र कलाबारे नयाँ पुस्तालाई जानकारी गराउँछन्।

उनको जन्म १९७७ वैशाख ३० गते पाटन मंगलबजारमा भएको हो। जोशीको जन्मोत्सव मनाउन र सम्मानका लागि ललितपुर महानगरपालिकाले सोमबार महानगरभित्रका कार्यालयमा सार्वजनिक बिदा दिएको छ। गत वर्ष पनि महानगरपालिकाले विविध कार्यक्रम गरी उनको जन्मोत्सव मनाएको थियो। यसपटक उनको सम्मान र कदरका लागि महानगरले विभिन्न कार्यक्रम बनाएको छ।

जन्मदिनको सँघारमा आइतबार निवासमा पुगेर कुराकानी गरिरहँदा उनी घरी बाल्यकालतर्फ फर्कन्थे त घरी तन्नेरी उमेरमा। ‘मलाई त भगवान्ले अदृश्य शक्ति र वरदान दिएका छन्। म त्यति धेरै आशावादी मान्छे त होइन तर काम गरेपछि चाहना र इच्छा धेरै बढ्दा रहेछन्। मैले पनि काम गरेको थिएँ,’ पुरानौ शैलीमा बनेको होचो घरको अगाडि राखिएको काठे कुर्सीमा बस्दै उनले भने, ‘अहिले म धेरै खुसी छु किनभने मभित्र भएको प्रतिभा र काम राज्यले चिनिदिएको छ। मेरो काम देशको इतिहास बनेको छ। मेरा लागि योभन्दा खुसीको कुरा अर्को हुन सक्दैन।’ आजको नागरिक दैनिकमा खबर छ ।