सामाजिक, लैंगिक, शैक्षिक क्षेत्रमा एनसीई नेपालको प्रयास

सामाजिक, लैंगिक, शैक्षिक क्षेत्रमा एनसीई नेपालको प्रयास

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २०, २०७८

झण्डै २ वर्षदेखि विश्व कोरोना कहरको चपेटामा छ । लाखौँले कोरोनाका कारण अकालमै ज्यान गुमाइसकेका छन् भने करोडौँले यसको पीडा भोगिरहेका छन् । सबै उमेर समूहका मानिसमा कोरोनाका नयाँनयाँ भेरिएन्टले दुःख दिइरहेको अवस्था विद्यमान छ ।

कोरोनाविरुद्धका खोपहरूको निर्माण व्यापक भइरहेको छ भने खोप लगाउने काम पनि उसरी नै तीब्र पारिएको छ । तर, कोरोनाको जोखिमको अन्त्य हुन सकेको छैन बरु नयाँनयाँ भेरिएन्ट आइरहेका छन् ।

कोरोना कहर सुरु भएयता विश्वको आर्थिक, सामाजिक, शैक्षिकलगायत सबैजसो क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ । केही समय त संसार अचल जस्तै बन्यो । तथापि, क्रमशः चलायमान भइरहेको अवस्था छ अहिले ।

नेपाल पनि कोरोनाको कहरबाट अछुतो रहेन । निकै कष्टसाध्य अवस्था भोग्दै नेपाल अहिले कोरोना कहरबाट तंग्रिने प्रयासमा छ ।

यस अवधिमा अर्थात् कोरोना सुरु भएपछिको समयमा नेपालका पनि सबैजसो क्षेत्रमा नकारात्मक प्रभाव परेको छ, जुन स्वाभाविक पनि हो । मूलतः नेपालमा शिक्षा क्षेत्रमा कोरोनाको प्रत्यक्ष असर परेको छ । स्कुल, कलेजलगायतका शिक्षालयहरू बन्द गरेर भर्चुअल माध्यमबाट अध्यापन गराइए पनि नेपालको भौगोलिक, सामाजिक र आर्थिक अवस्था अनि इन्टरनेट र बिजुलीको पहुँचको सीमितताका कारण त्यो कतिको प्रभावकारी भयो भन्ने विषय छलफलकै विषय हुन सक्छ । तथापि, प्रयासहरू भने भए ।

यसैबीच केही सरकारी, गैरसरकारी संघसंस्थाको पहल यसबीचमा महत्त्वपूर्ण रह्यो । विशेषगरी बालबालिकाको शिक्षाको अधिकारका सवालमा केही संघसंस्था निकै लागिपरे । कोरोना महामारीको अवस्थामा बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न एनसीई नेपालले पनि राम्रै भूमिका खेल्यो यसबीचमा । यसले संघ, प्रदेश र स्थानीय सरकारसँग निरन्तर संवाद र बहसका साथै विभिन्न बहस पैरवीमूलक र नीतिगत छलफल गर्दै आएको छ ।

नेपालको सार्वजनिक शिक्षा सुदृढीकरण गर्ने अभियानलाई अझ व्यापक र बृहत्तर बनाउन तथा कोभिड महामारीको अवस्थामा समेत बालबालिकाहरूको शिक्षा तथा सिकाइ सुनिश्चित गर्न एनसीई नेपालले यसका जिल्ला समन्वय समितिहरू, प्रदेश समन्वय समितिहरू र सदस्य संस्थाहरूको सहकार्यमा समुदाय र जिल्लास्तरमा विभिन्न अभियान तथा पैरवीका कार्यक्रमहरू संचालन गरिरहेको छ । यसै क्रममा युवाहरूलाई सार्वजनिक शिक्षा सुदृढीकरण अभियान र सामुदायिक विकासमा आबद्ध गर्ने उद्देश्यले ललितपुर, पर्वत, पाल्पा र पर्सा जिल्लामा विभिन्न अभिमुखीकरण, नेतृत्व विकास र संजालीकरण कार्यक्रमहरू आयोजना गरिएका थिए ।

यसका अतिरिक्त अन्तर्राष्ट्रिय महिला दिवस, २०२१ को अवसरमा उदयपुर, सिन्धुपाल्चोक, मकवानपुर, कपिलवस्तु, बाँके र पर्वत जिल्लामा शिक्षा अधिकार, महिला अधिकार र लैंगिक समानता विषयक विभिन्न छलफल, गोष्ठी, अन्तर्क्रियात्मक कार्यक्रम तथा पैरवीमूलक गतिविधिहरू पनि सम्पन्न भएका छन् । यस अवधिमा एनसीई नेपालद्वारा जिल्ला समन्वय समितिका सदस्यहरूलाई सिकाइ आदानप्रदान तथा क्षमता अभिवृद्धि कार्यशाला पनि आयोजना गरिए ।

‘गण्डकी प्रदेशको शैक्षिक अवस्था र अबको कार्यदिशा’बारे छलफल कार्यक्रमका साथै एनसीई गण्डकी प्रदेश समन्वय समिति गठन कार्य सम्पन्न भएको छ । युवाहरूलाई भविष्यको कर्णधार मानिन्छ । युवाहरूले भविष्यमा कस्तो शिक्षा र शिक्षा प्रणालीको अपेक्षा गरेका छन् भन्ने विषयमा छलफल गर्ने उद्देश्यले एनसीई नेपालले ‘युवाको दृष्टिमा सार्वजनिक शिक्षाको भविष्य’ विषयक एक दिने कार्यशाला सम्पन्न गरेको छ । उक्त कार्यशालामा पाल्पा, पर्सा, पर्वत र ललितपुरबाट ३० वर्षमुनिका युवाहरूको सहभागिता रहेको थियो ।

कार्यशालामा सहभागीहरूले अबको ३० वर्षपछि रोजगारमुखी, प्रविधिमुखी, समावेशी र प्रयोगात्मक शिक्षा हुनुपर्ने कुरामा जोड दिएका थिए । साथै, उनीहरूले ‘शिक्षाको भविष्य र युवाको दृष्टिकोण’ विषयक कार्यशाला कार्यक्रममा सार्वजनिक शिक्षाको भविष्यबारे छलफल गरे ।

यस अवधिभित्रै एनसीई नेपाल र यसका सदस्य संस्थाहरूले समुदाय, जिल्ला, प्रदेश र संघीय तहमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी १११औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न गरेका छन् । शिक्षा अधिकार, महिला अधिकार र शिक्षामा लैंगिक समानता जस्ता विभिन्न विषयहरूमा उदयपुर, सिन्धुपाल्चोक, मकवानपुर, कपिलवस्तु, बाँके र पर्वत जिल्लामा विभिन्न गोष्ठी, अन्तक्र्रिया, सम्मेलन, र्‍याली तथा दबाबमूलक कार्यक्रम सम्पन्न भएका छन् । साथै, कार्यक्रममा जिल्लामा महिलाको समग्र अवस्था, शिक्षामा महिलाको नेतृत्व, महिलाको सुरक्षा, सम्मान र रोजगार, स्थानीय तहमा लैंगिक उत्तरदायी बजेट, महिला पूर्ण रूपमा निःशुल्क बनाइनुपर्ने, शिक्षा जीवनोपयोगी सिपसहितको गुणस्तरीय हुनुपर्ने धारणा राखेका थिए ।

उनीहरूले शिक्षाको उद्देश्य बालबालिकाहरूमा राष्ट्रप्रेम जगाउने र उनीहरूलाई सार्वभौम नागरिकको रूपमा विकास गर्ने खालको हुनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा सहभागी युवाहरूले आगामी दिनमा उनीहरूले समुदायस्तरमा परिचालन हुन कार्ययोजना बनाई त्यसअनुरूप आफ्नो समुदायमा सार्वजनिक शिक्षा सुधारका काममा अग्रसर रहने प्रतिबद्धता पनि जनाएका थिए ।

यसरी नै अन्तर्राष्ट्रिय महिला दिवसकै सन्दर्भमा ‘शिक्षामा महिला नेतृत्व’बारे कार्यक्रम भएको छ । यसअन्तर्गत सिकाइ आदानप्रदान तथा क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको थियो । र बालबालिकामाथि हुने हिंसा अनि यसले शिक्षामा पार्ने असर, यसको न्यूनीकरणका उपायबारे छलफल तथा बहस भएको थियो । कार्यक्रमले महिलालाई शिक्षा, राजनीति, सामाजिक र आर्थिक रूपमा सशक्त बनाउन र उनीहरूको समान पहुँच स्थापना गर्न विभिन्न तहमा वकालत तथा पैरवी गर्न सहयोग पुर्‍याएको थियो ।

त्यसैगरी कार्यक्रममा जनजाति, दलित तथा अल्पसंख्यक महिलाहरूको अवस्था सुधारका लागि सचेतनामूलक तथा क्षमता अभिवृद्धि गराउने कार्यक्रमहरू संचालन गर्न स्थानीय जनप्रतिनिधिहरूसँग पैरवी गरिएको थियो ।

कोरोना महामारीको समयमा समेत एनसीई नेपाल, जिल्ला समन्वय समिति तथा सदस्य संस्थाहरूद्वारा गरिएका समुदाय तथा स्थानीय वकालत, पैरवी, अनुगमन जस्ता राम्रा अभ्यास, गतिविधि र क्रियाकलापहरूको सिकाइ आदानप्रदान र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा २ दिने सिकाइ आदानप्रदान तथा क्षमता अभिवृद्धि कार्यशाला पनि सम्पन्न गरेको छ । उक्त कार्यक्रममा २५ वटा जिल्ला समन्वय समितिका प्रतिनिधिलगायत एनसीईका पदाधिकारीको सहभागिता थियो ।

‘गण्डकी प्रदेशको शैक्षिक अवस्था र अबको कार्यदिशा’बारे छलफल कार्यक्रममा गण्डकी प्रदेश सरकारले सार्वजनिक शिक्षाको क्षेत्रमा गरेका काम, शिक्षामा गण्डकी सरकारको प्राथमिकता, प्रदेश शिक्षा नीति तथा प्रदेशको भावी कार्यदिशा र चुनौतीलगायत विषयमा प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रम पनि सम्पन्न भएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सांसदहरू, राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक विकास मन्त्रालयका प्रतिनिधिहरू, नागरिक समाज, शिक्षाविद्, शिक्षक, अभिभावक, विद्यार्थी तथा पत्रकारहरूको सहभागिता थियो ।्

कार्यक्रमले गण्डकी प्रदेशको शिक्षा नीति तत्काल बनाई कार्यान्वयन गर्नुपर्ने, शिक्षामा पर्याप्त लगानीको सुनिश्चितता गर्नुपर्ने निचोड निकालेको थियो । कार्यक्रममा जिल्लास्तरीय अनुभव आदानप्रदानका साथै सार्वजानिक शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक बहस तथा पैरवीको विषयमा छलफल गरिएको थियो । कार्यक्रमले सहभागीहरूलाई वकालतको अभ्यास, रणनीतिहरू, अनुसन्धान र अनुसन्धानका रणनीतिहरू, सार्वजनिक शिक्षाका विभिन्न सवालहरू, जस्तैः शिक्षाको अधिकार, शिक्षामा लैंगिक समानता, शिक्षामा सुशासन, वित्तीय व्यवस्था आदि जस्ता विषयमा सहभागीहरूको क्षमता अभिवृद्धि गरेको थियो ।

उक्त कार्यक्रमपश्चात् एनसीई नेपालको रणनीतिक योजनामा केन्द्रित भई सार्वजनिक शिक्षा सुदृढीकरणको अभियानलाई जिल्ला र स्थानीय स्तरमा अझ बिस्तार गर्न कार्ययोजनासमेत निर्माण गरिएको थियो ।

कार्यक्रममा कोरोनाको सन्दर्भमा शिक्षामा सवैको पहुँच सुनिश्चित हुने किसिमका कार्ययोजनाहरू तयार गरी कार्यान्वयन गर्नुपर्नेलगायतका विषयवस्तुमा जोड दिइएको थियो ।

यसबीचमै एनसीई नेपालले गण्डकी प्रदेशमा प्रदेश भेला सम्पन्न गरेको छ । भेलाले इन्दिरा पौड्यालको संयोजकत्वमा उपाध्यक्ष राजेन्द्र बोहोरा, सचिव लक्ष्मी कुँवर र कोषाध्यक्ष वेदप्रसाद न्यौपानेसहितको ९ सदस्यीय समन्वय समिति गठन गरेको छ । भेलामा नवलपुर, पर्वत, स्याङ्जा, लमजुङ, कास्की, बागलुङ जिल्लाका एनसीई नेपालका सदस्यहरूको सहभागिता थियो । 

एनसीई नेपाल गण्डकी प्रदेश समन्वय समिति गठन पनि गठन गरिएको छ । पर्वत जिल्लामा १४ सदस्यीय शिक्षा युवा संजाल गठन गरिएको छ । एनसीई पर्वतद्वारा सहजीकरण गरी जिल्लाका ७ वटै पालिकाका युवाहरूको प्रतिनिधित्व गराइएको छ । उक्त संजालले सीमान्तकृत तथा अपांगता भएका बालबालिकालगायत सम्पूर्ण बालबालिकाको शिक्षाको सवालमा वकालत, बहस तथा पैरवी गरिरहेको छ ।

यसरी नै एनसीई पर्साद्वारा जिल्लाको शैक्षिक अवस्था, शिक्षा तथा समग्र विकासमा युवाको भूमिका, शिक्षालाई गुणस्तरीय बनाउनमा युवा परिचालन जस्ता विषयहरूलाई प्राथमिकताका साथ उठान गर्न युवा समूह गठन गरेको छ । शिक्षाको विकासमा युवाहरूको सहभागिता अभिवृद्धि गर्न जिल्ला समन्वय समिति पाल्पाले रामपुरमा युवाहरूसँग २ दिने अभिमुखीकरण तथा नेतृत्व विकास तालिम सम्पन्न गरेको छ । साथै, रामपुर नगरपालिकाका १० वटा वडाका युवा अभियन्ताहरूलाई आबद्ध गरी युवा संजालसमेत गठन गरेको छ ।

दुर्व्यसन तथा हिंसा न्यूनीकरण र समाज विकासमा युवाको भूमिकालाई जोड दिँदै पर्वतमा जिल्ला समन्वय समितिद्वारा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कुश्मा नगरपालिका- ११ र रोट्र्याक्ट क्लब अफ पर्वतसँगको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा दुर्व्यसन, युवा वर्गमा दुर्व्यसनले पारेको असर, न्यूनीकरणका उपाय र कानुनी प्रावधान, हिंसा नियन्त्रणका लागि चालिनुपर्ने कदमहरू, हिंसा न्यूनीकरणका लागि युवा समुदायले खेल्न सक्ने भूमिका र समग्र समाजको विकासमा युवा वर्गले खेल्नुपर्ने भूमिकाका बारेमा प्रस्तुतीकरण तथा अन्तक्र्रियात्मक छलफल गरिएको थियो ।

बालमैत्री वडा घोषणा गरी बालबालिकाको समग्र अधिकार सुनिश्चित गर्ने अभियानमा युवाको भूमिकाबारे अभिमुखीकरण गर्ने उद्देश्यका साथ पर्वतको मोदी गाउँपालिकाका युवाहरूसँग एनसीई पर्वतद्वारा एक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरूबीच बालअधिकार, बालमैत्री स्थानीय शासन, बालमैत्री वडाको अवधारणा, बालमैत्री वडा घोषणाको तयारीका लागि पूरा गर्नुपर्ने ३९ वटा सूचकहरू तथा सूचक पूरा गर्न विभिन्न निकायको भूमिका आदि विषयमा अन्तक्र्रियासमेत गरिएको थियो ।

कार्यक्रममा सहभागी युवाहरूले आआफ्नो ठाउँबाट बालमैत्री वडा घोषणाको अभियानमा सक्रियतापूर्वक योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही अवसरमा एनसीई नेपाल र मोदी गाउँपालिकाको समन्वयमा तयार गरिएका विभिन्न सन्देशमूलक फ्लेक्स व्यानरहरू स्थानीय विद्यालय, स्वास्थ्य चौकी र वडा कार्यालयका लागि उपलब्ध गराइएको थियो ।