राष्ट्रियसभाको कार्यक्षेत्र मिच्दै प्रतिनिधिसभा

राष्ट्रियसभाको कार्यक्षेत्र मिच्दै प्रतिनिधिसभा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३०, २०७६

काठमाडौं । प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको ‘राहदानी विधेयक २०७५’ छलफलमै रहेका बेला प्रतिनिधिसभाले राष्ट्रियसभाको बेवास्ता गर्दै स्वीकृतिका लागि राष्ट्रपतिसक्ष पठाएको छ। प्रतिनिधिसभाको वैशाख २० गते साँझ ६ बजे बसेको दोस्रो बैठकले राहादानी विधेयक पारित गरी राष्ट्रपतिसमक्ष पठाएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम पेस गरेपछि बसेको दोस्रो बैठकको कार्यसूचीमा राहदानी विधेयक निर्णयार्थ प्रस्तुत गर्ने विषय सूची पनि घुसाएर पारित गरिएको थियो। संयुक्त बैठकमा राष्ट्रपतिबाट संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले टेबुल गर्ने र धन्यवाद प्रस्ताव लैजान राखिएको दोस्रो बैठकमा राहदानी विधेयकसमेत समावेश गरी सर्वसम्मच पारित गरिएको थियो। सो विधेयक वैशाख २२ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको छ। यसरी संसदीय व्यवस्था र मान्यताविपरीत प्रतिनिधिसभाले उक्त विधेयक पारित गरेर स्वीकृतिका लागि पठाएको हो।

एउटा सदनबाट विधेयक पारित भएमा अर्को सदनमा पठाउने र विधेयक उत्पत्ति भएको सदनमा दुई महिनाभित्र फिर्ता गरी छलफल गरेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउने कानुनी व्यवस्था छ। तर प्रतिनिधिसभाबाट राष्ट्रियसभामा पठाइएको विधेयक दुई महिनाभित्र प्राप्त भएन भन्दै छलफलमै रहेको विधेयक पारित गरी प्रतिनिधिसभाले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको हो। यो समाचार आजको नागरिक दैनिकमा छ ।