'पार्टी र शीर्ष नेतृत्वले ममाथि अन्याय गरे पनि कार्यकर्ता र मतदाताले गर्नुहुन्नँ'

'पार्टी र शीर्ष नेतृत्वले ममाथि अन्याय गरे पनि कार्यकर्ता र मतदाताले गर्नुहुन्नँ'

लोकसंवाद संवाददाता  |  लोकसंवाद  |  मंसिर २०, २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशन आउन केही दिन मात्र बाँकी छ । विभिन्न तहका अधिवेशन सम्पन्न हुने क्रम जारी छ । केन्द्रीय महाधिवेशनमा नेतृत्वको आकांक्षा राख्नेहरू पनि क्रमश: खुल्दै छन् । यसबीच चितवनका कांग्रेस नेता दिनेश कोइरालाले पनि केन्द्रीय सदस्यमा आफ्नो दाबी प्रस्तुत गर्ने घोषणा गरेका छन् । कोइराला उनै हुन्, जसलाई रेणु दाहालका लागि भरतपुरको मेयरको उम्मेदवारबाट 'ब्याक' गराइएको थियो । प्रस्तुत छ दिनेश कोइरालासँग कांग्रेस महाधिवेशन र उनका एजेण्डाका बारेमा गरिएको कुराकानीको सार:

नेपाली कांग्रेसको १४औँ महाधिवेशन आई नै सकेको छ । यसलाई कसरी हेर्नुभएको छ ?

हामी नेपाली कांग्रेसको १४औँ महाधिवेशनको संघारमा छौँ । वास्तममा महाधिवेशन नेतृत्वको चयनका लागि मात्र भएको छ । यसलाई हामीले सुधार गर्नुपर्ने र नीति, सिद्धान्तलाई समेत उच्च महत्त्व दिनुपर्ने अवस्था छ । कमीकमजोरीहरू सुधार गर्दै लैजानुपर्छ ।

जसरी एउटा गाडीमा खराबी आएपछि सर्भिसिङ गरिन्छ, त्यसरी नै पार्टीभित्र पनि सर्भिसिङ गर्न जरुरी छ । खराब चिजलाई हटाउने र राम्रा चिजहरूलाई अगाडि लैजानुपर्छ । यस महाधिवेशनमा हामीले पात्रलाई भन्दा खराब प्रवृत्तिलाई पनि हटाउन जरुरी छ । हिजो जुन कमीकमजोरी भए, अब ती कमजोरी हटाएर सक्षम रूपमा नेतृत्व प्रदान गर्ने व्यक्तिलाई ल्याउन जरुरी छ । हामी सशक्त र सक्षम नेतृत्व चयन गर्नुपर्छ भन्ने पक्षमा छौँ । 

कांग्रेस स्थापनाकालदेखि नै विभिन्न खेमाहरूमा विभाजित छ । अहिले त झनै देउवा खेमा, रामचन्द्र खेमा, सिटौला, निधि, प्रकाशमान जस्ता विभिन्न खेमामा विभाजित छ । यी खेमाहरूबीच हुने महाधिवेशनको परिणाम कस्तो हुने अनुमान गर्नुभएको छ ?

प्रजातान्त्रिक पार्टीमा समूह हुनु नौलो कुरा होइन । म यसलाई अन्यथा पनि लिन्नँ किनकि यो प्रजातन्त्रको सुन्दरता पनि हो । तर, यसलाई कसरी संस्थागत गर्ने, कसरी व्यवस्थित गर्ने भन्ने मात्र हो । हिजो बीपी, सुवर्णशम्शेरका पालादेखि नै समूह थिए । तर, समूह एजेन्डाका आधारमा हुनुपर्छ । राम्रो कामका लागि समूह हुनुपर्छ । यसलाई स्वस्थ रूपमा अघि बढाउनुपर्छ । व्यवस्थापन गर्न जरुरी छ । खराब प्रवृत्तिमा, लेनदेनमा र आफ्नो स्वार्थका लागि गुटबन्दी हुन्छ भने त्यसलाईचाहिँ हामीले निषेध गर्नुपर्छ । 

यस महाधिवेशनमा तपाईंको आकांक्षा के छ ? तपाईंको दाबी छ भने कुन पदमा हो ?

साथीभाइहरूले मलाई पदाधिकारीमा जानुपर्छ भन्ने सल्लाह पनि दिनुभएको छ । तर, म पदलाई त्यति धेरै महत्त्व दिन्नँ । राजनीति भनेको समाजसेवा हो, समाजलाई बदल्ने अभियानमा सामेल हुनुपर्छ भन्ने मान्छु । त्यसैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सोचमा छु ।

हिजो केन्द्रीय नेतृत्वले गरेका जुन कमजोरीहरू छन्, त्यसलाई दोहोरिन नदिन र मेरो तर्फबाट सच्याउनका लागि सशक्त आवाज उठाउँदै कांग्रेसलाई सही ढंगले अगाडि लैजानका लागि म केन्द्रीय समिति सदस्यमा उम्मेदवारी दिन लागेको छु । 

मलाई कसैले टिममा राखेमा त्यो उहाँहरूको कुरा हो । तर, म समग्र कांग्रेस पार्टीको हितका लागि उभिन्छु । मलाई सहयोग गर्नुहुन सबैलाई अनुरोध गर्छु । कसले मलाई सहयोग गर्छ भन्ने थाहा छैन । तर, म कांग्रेसको केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी दिन्छु

नेताहरूले सुरुमा नेतृत्वमा आफ्नो आकांक्षा देखाउने तर नेतृत्वले ‘यस पटक हुँदैन, अर्को पटक वा अर्को कुनै अवसर दिन्छु’ भनेपछि पछि हट्ने चलन छ । विगतमा पनि तपाईंले भरतपुरको मेयरका लागि यसरी नै छाड्नुभएको थियो । यसपालि पनि पार्टीले अनुरोध गर्‍यो भने पछि हट्नुहुन्छ कि ?

विगतमा म भरतपुरको मेयरका लागि उम्मेदवार थिएँ । तर, म ब्याक भएको होइन । टिकट पाएर ३ दिन प्रचार गरेपछि मलाई सभापति शेरबहादुर देउवाले फोन गरेर ‘दिनेशजी, ब्याक भइदिनुपर्‍यो’ भन्नुभयो । तर, मैले फिर्ता हुन चाहिनँ । म ब्याक नभएपछि पार्टी केन्द्रले नै निर्वाचन आयोगमा निवेदन दिएर फिर्ता गराएको हो । ममाथि अन्याय गरेको हो पार्टीले ।

त्यसो भए जबर्जस्ती माओवादीका नाममा फिर्ता गराइयो र पार्टीले धोका दिएको हो ?

पार्टीले मलाई अन्याय गरेको हो । यसले मलाई र पार्टीलाई समेत क्षति पु्र्‍याएको थियो । त्यसबेला सबै मिडियामा पनि मैले भनेको थिएँ । म त समाप्त हुँला, किसानको छोरो हुँ, गरिखाऊँला । तर, पार्टीलाई पुगेको क्षति कहिल्यै पूरा हुँदैन भनेको थियो । अहिले पनि कांग्रेसलाई त्यसले असर गरेको छ । पछि सबै नेताहरूले त्यसलाई महसुस गरेका थिए । सभापतिज्यू, केन्द्रीय सदस्यहरूले पनि त्यो भन्नुभएको छ । त्यस बेला म एक्लो भए पनि अहिले त्यो कुरा प्रमाणित भएको छ । हरेक जिल्लाको एजेन्डा अहिले हसिया-हथौडामा भोट हाल्दैनौँ भन्ने छ । अब कांग्रेसले त्यसलाई सुधार गर्नेछ । 

त्यही अडान अहिले केन्द्रीय सदस्यमा पनि हो तपाईंको ?

हो, निश्चित रूपमा म उम्मेदवार हुनेछु र जित्छु भन्ने लाग्छ । अहिले मात्र होइन, म १०औँ महाधिवेशनमा नै केन्द्रीय सदस्यको उम्मेदवार थिएँ । कुनै टिममा नपर्दा पनि मैले त्यस बेला ४६५ भोट ल्याएको थिएँ ।  

अहिले कुनै टिमबाट उठ्दै हुनुहुन्छ कि स्वतन्त्र रूपमा उम्मेदवार बन्दै हुनुहुन्छ ? 

अहिले मैले त्यसबारेमा सोचेको छैन । मलाई कसैले टिममा राखेमा त्यो उहाँहरूको कुरा हो । तर, म समग्र कांग्रेस पार्टीको हितका लागि उभिन्छु । मलाई सहयोग गर्नुहुन सबैलाई अनुरोध गर्छु । कसले मलाई सहयोग गर्छ भन्ने थाहा छैन । तर, म कांग्रेसको केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी दिन्छु ।

विश्वास छ, नेताहरूले अन्याय गरे पनि मलाई पार्टीका अग्रज साथीहरूले, पार्टीका महाधिवेशन प्रतिनिधिहरूले न्याय दिनुहुनेछ । नेतृत्व तहमा जान्छु र यस्ता कमीकमजोरी दोहोर्‍याउन दिनेछैन । 

अन्त्यमा, १४औँ महाधिवेशनमा विभिन्न खेमाबाट नेताहरू सभापतिको दाबेदारी प्रस्तुत गरिरहँदा कसको संभावना बढी देख्नुहुन्छ ?

अहिले यसै भन्न सक्ने अवस्था छैन । भर्खरै प्रदेशको अधिवेशन सकिएको छ । त्यसपछि कस्तो समीकरण बन्छ, नेताहरू को कता लाग्ने भन्ने निश्चित भइसकेको छैन । सबैले आफू दाबी गरिरहनुभएको छ । एकले निर्देशन दिएर मान्ने अवस्था छैन । 

समीकरण नै परिवर्तन भइरहेको अवस्था छ । तर, ४-५ जना आकांक्षीमध्ये एक जना सभापति हुने हो । को नेताहरू कसरी मिल्न सक्नुहुन्छ र समीकरण कसरी बन्छ भन्नेमा नै यो निर्भर हुन्छ ।