कांग्रेस महाधिवेशन: समूहमा निधी बाहिर सिटौला भित्रिए, देउवा झनै शक्तिशाली !

लोकसंवाद टिप्पणी

कांग्रेस महाधिवेशन: समूहमा निधी बाहिर सिटौला भित्रिए, देउवा झनै शक्तिशाली !

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २१, २०७८

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस महाधिवेशनको सँघारमा छ । कांग्रेसको महाधिवेशन नीतिभन्दा नेता प्रधान देखिएको छ । त्यसैले स्थानीय तहदेखि जिल्ला हुँदै प्रदेश हुँदै अब नेतृत्वको होडबाजी केन्द्रमा सुरु भएको छ । कांग्रेसमा नेतृत्वका लागि यस पटक आधा दर्जन नेताहरूको प्रतिस्पर्धामा उत्रने चर्चा चलेको छ । त्यसमध्ये चार जना त वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मात्रै छन् ।

पौडेल समूहबाट उनीसहित शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला सभापतिको आकांक्षी छन् । सभापति शेरबहादुर देउवा पुनः नेतृत्वको दौडमा छन् भने लामो लामो समयदेखि देउवालाई साथ दिँदै आएका विमलेन्द्र निधी देउवा क्याम्प छाडेर आफैं सभापतिका लागि प्रतिस्पर्धामा उत्रिदैछन् । 

सहमति जुटाउन पौडेल समूहलाई सकस

रामचन्द्र पौडेल समूह यस पटक जसरी पनि सभापति देउवालाई हराएर नेतृत्व लिने संघर्षमा छ । तर पौडेल समूहमा नै नेतृत्वका लागि सहमति भइसकेको छैन । पौडेल समूहमा सामान्य मतभेद भए पनि देउवालाई जित्न सम्भव छैन । कांग्रेसको अहिलेको अवस्था हेर्ने हो भने देउवा सभापतिका सबैभन्दा बलियो दाबेदार हुन् । देउवासँग प्रतिस्पर्धा गर्ने साझा उम्मेदवार चयन गर्न सोमबार साँझ पौडेल पक्षका नेताहरू छलफलमा जुटेका थिए ।

निधीको गृह प्रदेश समेत रहेको प्रदेश २ मा नै उनी कमजोर देखिएका छन् । प्रदेश २ बाट देउवा पक्षमा ठुलो मात्रामा प्रतिनिधिहरू निर्वाचित हुँदा निधी पक्षको प्रभाव कम देखिएको छ । देउवा समूहमा  निधीबाहिरिए पनि सिटौलाको साथ पाएमा देउवा पार्टीमा झनै शक्तिशाली बन्ने अवस्थामा पुगेका छन् । 

तर उनीहरूले साझा उम्मेदवार दिने पुरानै सहमतिभन्दा थप केही टुंगो लगाएका छैनन् । संस्थापन इतर समूहले ४८ घण्टाभित्र साझा उम्मेदवार टुंगो लगाउने भएको छ । साझा उम्मेदवारका विषयमा केन्द्रीय समितिका अन्य नेताहरूसँग छलफल गर्नुका साथै प्रदेश अधिवेशनको समेत समीक्षा गरेर अघि बढ्न पौडेल पक्षका नेताहरू सहमत भएका हुन् । अझै पनि पौडेल समूहबाट सभापतिमा को उम्मेदवार बन्छ भन्ने टुंगो लाग्न सकेको छैन । चार जना दाबेदार नै पछि नहट्दा पौडेल समूहलाई सभापतिको उम्मेदवार टुंगो लगाउन सकस परेको छ । 

देउवा झन् बलियो

नेपाली काँग्रेसका समकालीन नेतामध्ये सबैभन्दा बढी सत्ता भोग गरेका नेता हुन्, शेरबहादुर देउवा । उनी २०५२ सालमा नै देशको प्रधानमन्त्री बनेका थिए । तर उनी त्यसको २० वर्षपछि मात्रै पार्टी सभापति भए । कांग्रेस विभाजित गरेर कांग्रेस (प्रजातान्त्रिक) बनाएर सभापति भए पनि एकीकृत पार्टीको सभापति २०७२ सालमा मात्रै भए । २०६४ सालमा कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबिच एकीकरण हुँदा देउवाको करिब ४० प्रतिशत शक्ति थियो ।

त्यसको तीन वर्षपछिको महाधिवेशनमा उनी सभापतिमा सुशील कोइरालासँग पराजित भएका थिए । त्यस बेला उनले करिब ४४ प्रतिशत मत ल्याएका थिए । कांग्रेस एकीकरणपछि देउवा पक्षका केही प्रभावशाली नेताहरुले साथ छाड्दा पनि देउवाको शक्ति बढेको देखियो । २०७२ फागुनमा भएको १३औँ महाधिवेशनमा करिब ४५ प्रतिशत महाधिवेशन प्रतिनिधि देउवाको पक्षका थिए ।

त्यस बेला सभापतिमा देउवासँगै रामचन्द्र पौडेल र कृष्ण सिटौला प्रतिस्पर्धी थिए । देउवाले पहिलो चरणमा नै झन्डै ५० प्रतिशत मत पाएका थिए । दोस्रो चरणमा देउवा र पौडेलबिच प्रतिस्पर्धा हुँदा सिटौलाको साथ पाएपछि उनी करिब ५८ प्रतिशत मत ल्याएर सभापतिमा निर्वाचित भए । सभापति भएपछि देउवा दुई पटक प्रधानमन्त्री समेत भइसकेका छन् । यस पटक पनि कांग्रेसको नेतृत्वमा देउवाको सम्भावना सबैभन्दा बढी देखिएको छ । 

प्रदेशको परिणाम

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत ६ वटा प्रदेशका अधिवेशन सम्पन्न भएका छन् भने प्रदेश २ मा महाधिवेशनपछि मात्रै अधिवेशन हुने भएको छ । ६ वटा प्रदेशमध्ये तीन वटा प्रदेशमा देउवा पक्षले नेतृत्व पाएको छ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा देउवा पक्षका उम्मेदवार विजयी भएका हुन् भने पौडेल पक्षले लुम्बिनी र गण्डकीमा जितेको छ । यता कृष्ण सिटौला पक्षले प्रदेश १ मा नेतृत्व हात पारेको छ । सिटौला समूह र देउवा समूहबिच प्रदेश १ मा गठबन्धन भएको थियो भने बागमतीमा देउवा समूहलाई सिटौला पक्षले सघाएको थियो । 

विमलेन्द्र बाहिरिँदा सिटौलाले पाए मौका

नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालाई लामो समयदेखि विमलेन्द्र निधीले साथ दिँदै आएका थिए । तर यस पटक निधि आफैँ देउवालाई छाडेर नेतृत्वको दौडमा छन् । विमलेन्द्रलाई पार्टीकामा हरेक जिम्मेवारी प्राथमिकताका आधारमा दिँदै आएका देउवाले यस पटक उनी आफैँ सभापतिमा उठ्ने भन्दै बाहिरिएपछि उनलाई धेरै फकाउन चाहेनन् ।

बरु उनले तेस्रो धारको नेतृत्व गरिरहेका कृष्ण सिटौलालाई आफू नजिक तानेका छन् । यसले देउवालाई पार्टीमा बलियो बनाएको छ भने सिटौला पक्षले पनि देउवाको साथ पाएर पार्टीमा बलियो उपस्थिति जनाउने मौका पाएको छ । सिटौला समूहले प्रदेश १ को सभापति नै जितेको छ । देशैभर प्रतिनिधि चयन अन्तिम चरणमा हुँदा निधिभन्दा सिटौला बलिया देखिएका छन् ।

निधीको गृह प्रदेश समेत रहेको प्रदेश २ मा नै उनी कमजोर देखिएका छन् । प्रदेश २ बाट देउवा पक्षमा ठुलो मात्रामा प्रतिनिधिहरू निर्वाचित हुँदा निधी पक्षको प्रभाव कम देखिएको छ । देउवा समूहमा  निधीबाहिरिए पनि सिटौलाको साथ पाएमा देउवा पार्टीमा झनै शक्तिशाली बन्ने अवस्थामा पुगेका छन् ।