'विकृत वामवादको चाल चिर्न तपाईंको विजय महत्त्वपूर्ण छ'

'विकृत वामवादको चाल चिर्न तपाईंको विजय महत्त्वपूर्ण छ'

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २१, २०७८

पछिल्लो पटक संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमतसंग्रहको वकालत गर्दै आएका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ‘राजतन्त्रसहितको हिन्दु राष्ट्र’ एजेण्डा बोकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई विजयीको तेस्रो दिन बधाई दिएका छन् ।

राजतन्त्रको विपक्षमा रहेका कतिपय कांग्रेस र कम्युनिस्ट नेताहरूले लिङ्देन विजयी भएको दिन अर्थात् १९ मंसिरमै सामाजिक संजालमार्फत बधाई दिए पनि ‘विचारभन्दा देश पहिले’ भन्दै आएका मिश्रले भने मंगलबार मात्र माइक्रो ब्लगिङ साइट ट्विटर र सामाजिक संजाल फेसबुकमार्फत लिङ्देनलाई बधाई दिएका हुन् ।

कमल थापाकाे विरासत ढाल्दै लिङ्देन राप्रपा अध्यक्षमा विजयी बनेका थिए ।

लिङ्देनसँग गठबन्धन बनाउनुहोला’

मिश्र पछिल्लो पटक आफ्ना हरेक अभिव्यक्तिमा तत्कालीन राजाहरू पृथ्वीनारायण शाह र महेन्द्र शाहको नाम  लिन छाड्दैनन् । महेन्द्र राष्ट्रवादी भन्न उनी धक मान्दैनन् । स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजीको प्रस्ताव अघि सारेका मिश्रलाई पछिल्लो पटक ‘दक्षिणपन्थीको बात’ लाग्ने गरेको छ । यद्यपि, उनले सार्वजनिक अभिव्यक्तिमा स्वीकार गरेका छैनन् ।

तर, मिश्रले लिङ्देनलाई बधाई दिँदा ‘आफूलाई लाग्ने गरेका आरोपलाई बल पुग्ने’ शव्द खर्चेका छन् । उनले नेपाल राजनीतिक, सामाजिक रूपमा मूलत: नरम परंपरावादी समाज रहेको दाबी गरेका छन् ।

जबकि, राणा शासन, पंचायत र राजतन्त्रको अन्त्य तथा तीसँग जोडिएका २०४६ र २०६२/०६३ का जनआन्दोलनले नेपाली समाज अग्र रूपान्तरणकारी बाटोमा रहेको पुष्टि गर्छ । जनआन्दोलनकै बलमा राजतन्त्र अन्त्य भएर नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रिक मुलुक बनेको विश्लेषकहरूको मत छ ।

नेपाललाई कल्याणकारी, नरम वामपन्थी एजेण्डा चाहिएको बताएका मिश्रले अगाडि भनेका छन्, ‘राजनीतिक-सामाजिक रूपमा नेपाल मूलत: नरम परंपरावादी समाज हो । त्यसलाई अस्वीकार गरेर समाज रूपान्तरण गर्न सकिँदैन।’

उनले लिङ्देनको विजयले ‘विदेशी तथा विकृत वामवादको चाल चिर्न महत्त्वपूर्ण भूमिका खेल्ने' दाबी गरेका छन् । मिश्रले भनेका छन्,  ‘विषाक्त भाष्य निर्माण गरेर नरम परंपरावादी समाजलाई विथोल्ने र त्यसमा विग्रह लेराउने विदेशी तथा विकृत वामवादको चाल चिर्न तपाईँको विजयले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’

उनको यो अभिव्यक्तिलाई राप्रपाको एजेण्डासँग जोडिएर पनि हेर्न थालिएको छ । फेसबुकमा राजकुमार आचार्यले मिश्रमाथि टिप्पणी गरेका छन्, 'अब पार्टी एकता गर्नुस् । धेरै राष्ट्रवादी विचारहरू मिल्छन् ।'

ट्विटरमा केदार थापाले टिप्पणी गरेका छन्, 'आगामी चुनावमा लिङ्देनसॅग गठबन्धनको मनस्थिति बनाउनुहोला ।'