'प्रधानन्यायाधीशलाई महाभियोग लगाउन अरू दल तयार भए एमाले बाधक बन्दैन'

'प्रधानन्यायाधीशलाई महाभियोग लगाउन अरू दल तयार भए एमाले बाधक बन्दैन'
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २१, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा अदालतमा मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरेका छन् ।

आफ्नै निवास बालकोटमा कानुन व्यवसायीसँगको छलफलमा अध्यक्ष ओलीले अदालतमा मुद्दा परिरहँदा आफ्नो कार्यकाल ५६ हजार हस्ताक्षर गरेको सुनाए ।  

'हरेक माइन्युट अदालत लिएर जानुपर्ने, मुद्दा कस्तो भयो भने म प्रधानमन्त्री हुँदा ५६ हजार सिग्नेचर गरे । फिरादपत्र, प्रतिवादी, लिखित जबाफ दिँदाखेरि अदालतलाई ५६ हजार सिग्नेचर गरे । एउटा प्रधानमन्त्रीले ५६ हजार सिग्नेचर गर्नुपर्छ, त्यो देशको समयको बर्बादी होइन ? एउटा कसैलाई लाग्छ, उसले प्रधानमन्त्रीलाई पनि विपक्षी बनाएर मुद्दा हालिदिने ?', उनले कानुन व्यवसायीलाई प्रश्न गरे ।

सुर्खेतमा खरदारले बदमासी गर्दा नेपाल सरकारविरुद्ध मुद्दा पर्ने यसमा पनि प्रधानमन्त्री पनि पर्छ भनेर सिग्नेचर गर्नुपर्ने अवस्था रहेको भन्दै ओलीले कानुनी प्रक्रियागत कुरा पनि सच्याउनुपर्ने बताए । 'अदालत कसैप्रति जबाफदेही हुनु नपर्ने ?' भन्दै उनले प्रश्न गरे ।  

'न मैले कुनै लेनदेन गरेको छु, न कसैलाई बनाएको छु । मैले पनि सक्थे होला नि ! कानुनले बनाउन पाउने मात्र बनाएको कुरालाई पनि लगेर अदालतले रोकिदिने ?', उनले आक्रोश पोखे ।

उनले न्यायलय सुधारको कुरामा एमाले प्रतिबद्ध रहेको तर सबैले कमजोरीहरू सुधार्दै लैजानुपर्नेमा जोड दिए । उनले प्रधानन्यायाधीशलाई महाभियोग लगाउन अरू दल तयार भए एमाले बाधक नबन्ने स्पष्ट पारे ।