‘इतिहासप्रतिको सम्मान र कांग्रेसभित्र नीतिगत बहसका लागि मलाई मत’

‘इतिहासप्रतिको सम्मान र कांग्रेसभित्र नीतिगत बहसका लागि मलाई मत’

लोकसंवाद संवाददाता  |  लोकसंवाद  |  मंसिर २१, २०७८

राजनीतिक वृत्तका अगुवा पुस्तालाई प्रभुराम बस्नेत चिनाइरहनुपर्ने नाम होइन । उनी २०२७ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । बस्नेत १८ वर्षसम्म निरन्तर नेपाली कांग्रेस सोलुखुम्बूको सभापति भए । २०३१ सालको सोलु-ओखलढुंगा विद्रोहमा सहभागी हुँदाका जिउँदो शहीद हुन्, बस्नेत । उनै बस्नेतले कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् । प्रस्तुृत छ, बस्नेतसँग लोकसंवादको संवाद ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य उठ्ने तयारी गर्नुभएको हो ?

हो, मैले यो महाधिवेशनमा केन्द्रीय सदस्य उठ्ने तयारी गरेको छु ।

कुन ‘क्लस्टर’बाट उठ्न लाग्नुभएको हो ? 

म खस-आर्य समूहबाट उठन् लागेको हुँ ।

तपाईं कांग्रेसको आठौँ महाधिवेशनदेखि ११औँ महाधिवेशनसम्म १८ वर्ष निरन्तर पार्टी सभापति र महासमिति सदस्य भएर पनि त्यही बेला केन्द्रीय सदस्य किन उठ्नुभएन ?

त्यस बेला पार्टी सभापति भएर जिल्लामा नेतृत्व गरिरहेको हुनाले केन्द्रमा उठ्ने योजना बनाइनँ । जिल्लाको नेतृत्व गर्दा नै सन्तुष्ट थिएँ । मैले जिल्लामा पार्टीको नेतृत्व गरुन्जेल पार्टीको टिकट लिएर आउने उम्मेदवारलाई सधैँ विजय गराएर प्रथम बनाएँ ।

कांग्रेसको महाधिवेशनमा नीतिगत छलफल त शून्य भयो नि ?

हो, नीतिगत छलफल कम नै भएको छ । अब पनि कुनै नीति, कार्यक्रम पेस नगरी निर्वाचनमा जाने कुरा उठिरहेको छ । कांग्रेसलाई समाजवादी बाटोमा डोहोर्‍याउनका लागि नीति, सिद्धान्तको बहस जरुरी छ । त्यही बहस गर्नुपर्छ भनेर मैले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको हुँ ।

कांग्रेसमा त जन्मिँदैदेखिका अनेक खेमा छन्, कुन खेमाबाट उठ्दै हुनुहुन्छ ?

अहिले उम्मेदवारी घोषणा गरेको छु । महाधिवेशन उद्घाटन भएर उम्मेदवारी दर्ता हुन्जेल पक्कै कुनै खेमामा परिएला । त्यसका लागि सरसल्लाह भइरहेको छ ।

कुन खेमासँग सल्लाह भइरहेको छ ?

संस्थापन पक्षसँगै भइरहेको छ ।

अहिले राजनीति गर्न कति कठिन छ ?

पहिलेको तुलनामा अहिले एकदमै सहज भएको छ । हामी भूमिगत हुँदा पलपलमा कष्ट हुन्थ्यो । अहिलेका पुस्तासँग त्यसको बयान गरेर साध्य छैन । हामी निरंकुश पंचायती व्यवस्थाको अन्त्य गरेर प्रजातन्त्र सूर्योदय गराउन जुनसकै बेला जस्तोसुकै त्याग, बलिदान गर्नुपर्छ भनेर राजनीतिमा आवद्ध भएका हौँ ।

२०२७ सालमा बीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालालगायतसँग भारतस्थित बनारसमा भेट भएपछि म कांग्रेसका संलग्न भएको हुँ । त्यस बेला जुनसुकै बेला मारिन सक्ने खतरा थियो । १ पुस २०३१ सोलु-ओखलढुंगा सशस्त्र विद्रोहमा सहभागी हुने क्रममा पक्राउ परेर संयोगले मात्र बाँच्न सफल सदस्य हुुँ म ।

सोलु-ओखलढुंगा सशस्त्र विद्रोहबारे अलिकति बताइदिनुहोस् न !

सोलु-ओखलढुंगा सशस्त्र विद्रोहको पृष्ठभूमिमा ४७ जना योद्धाहरूको सहादत भयो । पंचायती सत्ताले राम-लक्ष्मणसहित १३ जना सहकर्मीहरूलाई सोलुखुम्बूको तिङ्लास्थित टिम्बुरबोटे जंगलको घटनास्थलमा नै हत्या गर्‍यो । शम्शेरबहादुर कार्की, अमरबहादुर खड्का, नेत्रबहादुर कार्कीलगायत ८ जना सहकर्मीहरूलाई सोलुबाट अंचल कारागार राजविराज लैजाने बहानामा ओखलढुंगाको टोक्सेल घाटमा लगेर हत्या गर्‍यो । म, बलबहादुर राई (पूर्वमन्त्री, सांसद), दत्तसिंह कार्कीलगायत ११ जनालाई समेत राजविराज जेलमा सार्ने निर्णय सुनाइसकेको थियो । यस क्रममा टोक्सेल हत्या भाग- २ दोहोर्‍याउने निश्चित थियो । तर, विशेष अदालत गठन भएकाले हामी बाँच्न सफल भयौँ ।

टिम्बुरबोटे काण्डका शहीद परिवार र जीवितहरूको अवस्था अहिले कस्तो छ ?

बनारसबाट हामीसँगै आउने ती सहयात्री साथीहरू, जसको बलिदान भयो, तिनका परिवारहरू कहाँ छन् ? कुन अवस्थामा छन् ? भन्ने कुरा पार्टी र नेताहरूले नसम्झेको अवस्थामा जिउँदो शहीदका रूपमा मैले केन्द्रीय सदस्य उठ्ने निर्णय गरेको छु । म केन्द्रीय समितिमा निर्वाचित हुनु भनेको सोलु-ओखलढुंगा विद्रोहको स्मरण र त्यस विद्रोहमा सहादत प्राप्त गर्ने शहीदहरूको सम्मान हो ।

  अन्त्यमा, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरुलाई के भन्न  चाहानुहुन्छ ?

पार्टी प्रतिबन्धित भएको बेला नै २०४५ सालमा नेपाली कांग्रेसका तत्कालीन कार्यवाहक सभापति स्वर्गीय कृष्णप्रसाद भट्टराईले मलाई महासमिति सदस्य बनाउनुभएको हो । सोलु-ओखलढुंगा काण्डमा बालबाल बाँचेको घटना त माथि नै उल्लेख गरिसकेँ । तसर्थ, इतिहासप्रतिको सम्मान र कांग्रेसभित्र नीतिगत बहसका लागि मलाई केन्द्रीय सदस्य निर्वाचित गराइदिनुहोस् भन्ने सबै प्रतिनिधिहरू समक्ष आग्रह गर्दछु ।