त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट तीन सयभित्र

त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट तीन सयभित्र

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३०, २०७६

काठमाडाैं । नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय विश्वको हजार र एसियाको तीन सय उत्कृष्ट विश्वविद्यालयभित्र परेको छ । बेलायतको ‘द टाइम्स हाइअर एजुकेसन’ म्यागेजिनले सार्वजनिक गरेको ‘वल्र्ड युनिभर्सिटी -याङकिङ–२०१९’ अनुसार त्रिवि विश्वमा ८०१–१००० भित्र र एसियामा २५१–३०० भित्र स्तरीकृत भएको हो । 

म्यागेजिनले विश्वका एक हजार दुई सय ५० विश्वविद्यालयलाई श्रेणीबद्ध गरेको थियो । यसमा ८६ देशका विश्वविद्यालय सहभागी थिए । जसमा नेपाल, इराक, जमैका, तान्जानिया र कजकस्तान पहिलोपटक सहभागी भएका थिए । म्यागेजिनले आमसञ्चारसम्बन्धी बहुराष्ट्रिय कम्पनी रोयटर्स कर्पोरेसनको सहकार्यमा विश्वविद्यालयसम्बन्धी तथ्यांक संकलन गर्छ ।

विश्वविद्यालयमा रहेका कुल शिक्षक संख्या, महिला शिक्षक संख्या, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी संख्या, महिला विद्यार्थी संख्या, शिक्षक–विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धान, राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित लेख, रचना, जर्नलका आधारमा सूचक तयार गरिएको थियो । त्यसैगरी, प्रकाशित लेखमा गरिएका साइटेसन, विश्वविद्यालयभित्र अध्ययनरत विदेशी विद्यार्थीको संख्या, अनुसन्धानका लागि भएको लगानी, विद्यावारिधि प्रदान गरिएको संख्यालगायत मुख्य सूचकलाई आधार मानेर मूल्यांकन गरेको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।