'म केन्द्रीय सदस्यको दाबेदार हुँ, अब कांग्रेसमा युवाको बाहुल्य हुनेछ'

'म केन्द्रीय सदस्यको दाबेदार हुँ, अब कांग्रेसमा युवाको बाहुल्य हुनेछ'

लोकसंवाद संवाददाता  |  लोकसंवाद  |  मंसिर २२, २०७८

नेविसंघको केन्द्रीय सदस्य, केन्द्रीय उपसभापति र केन्द्रीय महामन्त्री हुँदै हाल नेपाली कांग्रेसका महासमिति सदस्य मनोजमणि आचार्य पार्टीको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यका दाबेदार हुनुहुन्छ । उहाँसँग नेपाली कांग्रेसको आसन्न महाधिवेशन र उहाँको उम्मेदवारीका विषयमा लोकसंवाद डटकमले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको चटारो कस्तो लागिरहेको छ ?

-    देशकै पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको नयाँ नेतृत्वको चयनका लागि हुने महाधिवेशनबारे सबै पक्ष र क्षेत्रको गम्भीर चासो छ । हामी यही पार्टीका कार्यकर्ता, नेतृत्वका आकांक्षीहरूमा त चटारो, चासो र सक्रियता हुने नै भयो ।

महाधिवेशनका लागि विभिन्न तहका अधिवेशनहरू लगभग सम्पन्न भइसकेका छन् । स्थानीय तहमा नेतृत्व आइसकेका छन् भने अब केन्द्रीय नेतृत्व छान्नका लागि पनि महाधिवेशन प्रतिनिधिहरू छानिइसकेको अवस्था छ ।

केन्द्रीय पदाधिकारी र सदस्यका आकांक्षीहरू पनि खुलिरहेका छन् । यो दृश्यले नेपाली कांग्रेसका कार्यकर्ता, नेता सबैमा उत्साह र ऊर्जा दिएको छ ।

यो १४औँ महाधिवेशन देश संघीय संरचनामा गएपछिको पहिलो हो । हाम्रो पार्टीको नयाँ परिमार्जित संघीय विधानअनुसार हुन लागेको पहिलो महाधिवेशन भएकाले केही अ स्पष्टता र अन्योल बाँकी नै छन् । ती क्रमशः सुल्झिँदै जानेछन् । तर, यो महाधिवेशन नयाँ संविधान, हाम्रो पार्टीको विधानअनुसार नै हुनेछ र कुशल अनि सक्षम र सबल, दूरदर्शी नेतृत्व चयन गर्नेछ भन्ने लागेको छ ।

हालसम्मका अधिवेशनको दृश्यले के संकेत गरेको छ जस्तो लाग्छ ?

-    अहिले सम्पन्न भइसकेका तल्लो तहका अधिवेशनको दृश्य खासै निराशाजनक छैन । नयाँनयाँ र युवा जोश भएका साथीहरू स्थानीय तहका नेतृत्वमा आउनुभएको छ । महाधिवेशन प्रतिनिधिमा पनि यु्वाको गतिलो उपस्थिति छ ।
धेरै ािथीहरूले विभिन्न तहमा आफ्नोआफ्नो ‘पोजिसन’ लिनुभएको छ । कतिपयले चाहेको र सोचेको स्थान हासिल गर्नुभएको छ भने केही छुट्नुभएको छ । यो हाम्रो विधानमा भएको त्रुटिका कारण पनि हो ।

विधानमा भएको त्रुटि भन्नाले ?

-    हाम्रो पार्टीको विधानमा केही गम्भीर त्रुटि विद्यमान छन् । ती त्रुटिका कारण केही सक्षम, याग्य र इमान्दार साथीहरू नेतृत्वबाट छुट्नुभएको हो । ठूलो संख्यामा चुनाव गरेर नेतृत्व चयन गर्ने प्रावधान नै त्रुटिपूर्ण हुन्छ । यसले गर्दा चिट चोर्ने संभावना अधिक हुन्छ र चिट चोर्न जान्ने, सक्नेले अक्षम र अयोग्य भए पनि अघिल्लो स्थान प्राप्त गर्छ तर चिट चोर्न नजान्ने, इमान्दार र सक्षम भने पछि पर्छ । अहिले कांग्रेसको विधानमा यो समस्या छ ।

भन्नुको आशय, टिमटिमले आफ्ना टिमका सदस्यको मात्र प्रचार गरे, जसका कारण व्यक्ति चिनिएन, टिमको सदस्य चिनियो र उसैलाई मत हालियो । यसले गर्दा असल मानिसहरू छुटे । यसले पार्टी जीवनमा कार्यकर्तामाझ नैराश्य आउन सक्छ । एकता, जागरुकता र उत्साह कम हुन सक्छ भन्ने त्रास बाँकी रहन्छ ।

यस कारण अब १५औँ महाधिवेशनमा अध्यक्षात्मक प्रणालीमा जानुपर्छ कि भन्ने बहस पनि यसकै कारण उठ्न थालेको छ ।

अनि, अब युवाले पार्टी हाँक्ने हो भन्नुहुन्थ्यो तपाईंहरू, तर नेतृत्वका आकांक्षीमा त सबैजसो बूढा नै देखिए त !

-    ‘फर्स्ट म्यान’ अर्थात् पार्टी सभापतिमा पुराना र पाकाबाटै आउनुहोला तर त्यसपछिका अन्य पदाधिकारी र सदस्यमा युवाकै बाहुल्य रहनेछ । यसमा दुई मत नै छैन ।

युवाहरूप्रतिको पाकाहरूको विश्वास खासै देखिएन स्थानीय तहका र प्रदेशका अधिवेशन हेर्दा । तपाईंहरूलाई केन्द्रमा चाहिँ पाका वा बूढाहरूले नेतृत्व दिन्छन् भन्ने निश्चितता छ र ?

-    उसो त, पुरानो पुस्ता युवापुस्तासँग डराएको देखिन्छ । यो अस्वाभाविक होइन पनि । कतिपय सवालमा त माथि पनि भनेँ, हाम्रो विधानका कारण पनि केही व्यक्तिहरू छुट्नुभएको छ । हार्नुभएको छ चुनाव । विधानमा केन्द्रीय पदाधिकारी, सदस्यले स्थानीय र प्रदेशमा मत हाल्न पाउने कि नपाउने ? भन्ने अस्पष्टता रह्यो र असल र नेतृत्वमा आउनुपर्ने साथीहरूले पनि जित्ने संभावना हुँदाहुँदै हार बेहोर्नुपरेको छ ।

तर, आशा छ, कांग्रेसमा सक्षम, योग्य र इमान्दार युवालाई उचित भूमिका र जिम्मेवारी पक्कै प्राप्त हुनेछ ।

तपाईंको आकांक्षा के छ माधिवेशनमा ?

-    लामो समय विद्यार्थी राजनीति गरेर, भ्रातृ संगठन नेविसंघको महामन्त्री भएर, अध्यक्षको प्रत्यासी भएर आएको हुँ । माओवादी सशस्त्र द्वन्द्वका समयमा युद्धको भुंग्रोमा रहेको रोल्पामा रहेर आन्तरिक विस्थापित भएर पनि कांग्रेस, लोकतन्त्र र निष्ठाको राजनीतिलाई सर्वेसर्वा ठानेर आजका मितिसम्म अविचलित छु ।

यस पटक १४औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा प्रवेश गर्ने सोचमा छु । केन्द्रीय सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गरिसकेको छु । सबै प्रतिनिधि साथीहरूसँग यसका लागि हार्दिक अनुरोध गर्छु ।

कांग्रेसमा त खेमाखेमा छन्, तपाईं कुनै खेमाबाट चुनाव लड्दै हुनुहुन्छ कि स्वतन्त्र ?

-    सबैलाई थाहा भएकै कुरा हो- म विगतदेखि नै रामचन्द्र पौडेल-शशांक कोइराला-प्रकाशमान सिंहको खेमामा छु । यही खेमाबाट मेरो उम्मेदवारी रहनेछ ।

विगतमा कांग्रेस विभाजित हुँदा पनि पार्टी र लोकतन्त्रको रक्षाका लागि यही खेमामा बसियो । पार्टीको हित र लोकतन्त्रको प्रवद्र्धनमा लागिरहियो । अब पनि मेरो बाटो यही हुनेछ ।

महाधिवेशनपछिको कांग्रेसको परिदृश्य कस्तो अनुमान गर्नुभएको छ ?

-    पक्का पनि ८० प्रतिशतभन्दा बढी साथीहरूले पार्टीमा उचित स्थान पाउनुहुनेछ । केही पाउनुपर्नेले नपाउने वा नपाउनुपर्नेले पाउने भने होला । असल, सक्षम र कुशल नेतृत्व आउनेछ । युवाहरूको बाहुल्य केन्द्रीय समितिमा देखिनेछ ।

तर, सँगसँगै चुनाव प्रतिस्पर्धा पनि हो । प्रतिस्पर्धीबीच केही तिक्तता र मनमुटाव अवश्य होलान् । ती तिक्तता, मनमुटाव र तुष भने मेटाउनुपर्ने छ नेतृत्वले । यसका लागि वा सद्भाव, एकता र सहकार्यका लागि कांग्रेसको नयाँ नेतृत्वले नेता, कार्यकर्ताकहाँ जानुपर्छ, घर-दैलो कार्यक्रम राख्नुपर्छ ।