पुष्पकुमार शाहीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

पुष्पकुमार शाहीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २१, २०७८

नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले कांग्रेस केन्द्रीय केन्द्रीय सदस्यमा उम्मेदावरी घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै नेता शाहीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

नेविसंघका पूर्वउपाअध्यक्षसमेत रहेका शाहीले १४औँ महाधिवेशनमा आफ्नो उम्मेदवारी केन्द्रीय सदस्यमा रहने बताएका हुन् । सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेकामा पार्टी शीर्ष नेताको आग्रहमा आफूले फिर्ता लिएको र अब आफ्नो उम्मेदवारी केन्द्रीय सदस्यमा हुने उनले बताए ।

'सुदूरपश्चिम प्रदेश सभापतिको बलियो दाबेदार हुँदाहुँदै पनि मैले पार्टी नेतृत्वको आग्रहलाई मानेँ । अब मेरो उम्मेदवारी केन्द्रीय सदस्यमा रहनेछ । नेविसंघमा लामो विद्यार्थी राजनीति गरेकाले अब पार्टीको मूल राजनीतिमा आउन अपरिहार्य ठानेको छु', उनले भने ।

शाहीले सुदृढ र सशक्त कांग्रेस बनाउने उदेश्यका साथ आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले युवा पुस्ताले समयमै राजनीतिको मूलधारमा प्रवेश गरेर उचित स्थान पाए राम्रो काम गर्ने अवसर समयमै प्राप्त हुने बताए । उनले सधैँ आफू जनताको सेवामा नै समर्पित हुने पनि बताए । कांग्रेसमा गुटगत राजनीतिको अन्त्य हुनुपर्ने र सधैँ आफू त्यसको पक्षमा रहने उनको भनाइ छ ।