'जबज: फरक बहस' र 'असमान पहाडहरू'माथि अन्तर्क्रिया

'जबज: फरक बहस' र 'असमान पहाडहरू'माथि अन्तर्क्रिया

लोकसंवाद संवाददाता  |  साहित्य  |  मंसिर २२, २०७८

काठमाडौं- लेखक, साहित्यकार, पत्रकार घनेन्द्र ओझाद्वारा लिखित 'जनताको बहुदलीय जनवाद: फरक बहस' र 'असमान पहाडहरू' कवितासङ्ग्रहमाथि अन्तर्क्रिया सम्पन्न भएको छ ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दुवै पुस्तक सार्वजनिक पनि गरिन् ।

'जनताको बहुदलीय जनवाद: फरक बहस'माथि टिप्पणी गर्दै लेखक निलमकुमार ओझाले यस पुस्तकमा घनेन्द्रले नेपाली राजनीतिमा ७ दशकदेखि टुट-फुटको शृंखलाले थिलथिलो भएको कम्युनिस्ट आन्दोलनको चिरफार गरेको बताए । साथै, यस पुस्तकमा नेेपाली राजनीतिको केन्द्रमा ३ दशकदेखि निरन्तर रहेको नेकपा एमालेको मार्गदर्शन भनिएको जबजको कार्यान्वयनमा देखिएका कमजोरीबारे पनि मिहीन ढंगले केलाएको उनको भनाइ थियो ।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य अमृत तिमल्सिनाले जबजभित्रका कम्युनिस्टविरोधी पक्षबारे उल्लेख गर्दै नेकपा एमाले र नेपाली कम्युनिस्ट आन्दोलनलाई परिमार्जन गर्न लेखक ओझाले पुस्तकमार्फत सुझाव दिएको बताए । उनले यस पुस्तकलाई 'गाली महात्म्य'का रूपमा मात्र नहेरेर आलोचनात्मक सुझावका रूपमा पनि लिन सकिने उल्लेख गरे ।

नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले कम्युनिस्ट आदर्श र जबजबीच मेल नखाने भन्दै लेखक ओझाले पुस्तकमा त्यही तथ्यलाई केलाएको बताए

'असमान पहाडहरू' कवितासङ्ग्रहबारे टिप्पणी गर्दै डा. बालाकृष्ण अधिकारीले घनेन्द्रको बहुआयामिक व्यक्तित्व भएको र उनको काव्यकारिता पनि सशक्त रहेको बताए । डा. अधिकारीले सरल र बोधगम्य भाषा, शैलीमा समसामयिक र मनवीय जीवनका यावत् पक्षलाई कविले आफ्ना कवितामा सशक्त ढंगले प्रस्तुत गरेका उल्लेख गरे ।

समालोचक डा. ज्ञानु पाण्डेले कविताप्रतिको प्रस्ट दृष्टिकोण भएका घनेन्द्रको कविता रचना पनि प्रस्ट भएको बताइन् । उनले कवितासङ्ग्रहका कविताहरूमा दार्शनिक अभिव्यक्ति सरल तरिकाले गरिएको भन्दै यो कवितासङ्ग्रह नेपाली काव्य फाँटको सुन्दर उपलब्धि भएको धारणा राखिन् ।

नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा. डा.  हेमनाथ पौडेलले घनेन्द्र वामइतर विचारधारामा विश्वास गर्ने भए पनि उनका कवितामा प्रशस्त प्रगतिशीलता पाइने उल्लेख गरे । जीवनका निराश पक्षसँगै आशावादिता र समुन्नत समाजको परिकल्पना घनेन्द्रका कवितामा पाइने पौडेलको भनाइ थियो ।

लेखक ओझाले आफू साहित्यमा र राजनीतिमा पनि रुचि राख्ने भएकाले साहित्य सिर्जनासँगै राजनीतिक विश्लेषणमा सक्रिय रहेको बताए । २०४९ सालयता नेपाली राजनीतिमा साह्रै धेरै चर्चामा रहेको जबजबारे अध्ययन गर्दा जबज नेपाली कम्युनिस्ट आन्दोलनको सहायक नभएर बाधक भएको देखिएपछि यो पुस्तक लेख्नुपरेको ओझाको भनाइ थियो ।

प्रमुख अतिथि शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जबजबारे विभिन्न कोणबाट एमालेभित्रै बहस भइरहेका र अहिले नेकपा (एस)मा पनि यसबारे बहस चलिरहेको बताइन् । उनले जबजको सान्दर्भिकतामाथि प्रश्न उठिरहेका बेला ओझाको जबजबारे आलोचनात्मक पुस्तक आएको उल्लेख गरिन् ।