कांग्रेस निर्वाचन कार्य तालिका सार्वजनिक: पौडेल पक्षमा जुटेन सहमति, महामन्त्रीमा दर्जन आकाङ्क्षी

कांग्रेस निर्वाचन कार्य तालिका सार्वजनिक: पौडेल पक्षमा जुटेन सहमति, महामन्त्रीमा दर्जन आकाङ्क्षी

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २३, २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन एक दिन बाँकी छ । कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेसँगै नेतृत्वको बहसले  पनि तीव्रता  पाएकाे  छ । सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार बन्ने निश्चित छ भने देउवा पक्षमा लामो समयदेखि सक्रिय रहेका विमलेन्द्र निधि आफू सभापतिको उम्मेदवार बन्ने भन्दै अलग्गै प्रचार गरिरहेका छन् ।

अघिल्लो महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका कृष्णप्रसाद सिटौलाले अहिलेसम्म सभापतिमा उम्मेदवारी दिने औपचारिक रुपमा बताएका छैनन् । बरु उनले सभापति देउवा पक्षलाई सघाइरहेका छन् । त्यसैले यो महाधिवेशनमा देउवा र सिटौला समूहबीच सहकार्यको सम्भावना पनि देखिएको छ । 

अर्कोतिर वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने सभापतिको साझा उम्मेदवार छान्ने कसरतमा छ । पौडेल समूहबाट उनीसहित शेखर कोइराला र प्रकाशमान सिंहको दाबी छ । बुधबार पनि सभापतिको साझा उम्मेदवार तय गर्न सिंहको निवास चाक्सीबारीमा बैठक भएको थियो । तर सिंह र कोइराला आ–आफ्नो अडानमा कायम हुँदा सहमति बन्न सकेन । सिंहले अघिल्लो महाधिवेशनमा आफूले त्याग गरेको भन्दै यसपटक सभापतिमा आफूले दाबी नछाड्ने बताएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल आक्रोशित भएका थिए । उनले सिंह र कोइरालालाई मिलेर आउन वा आफूलाई नेतृत्व स्वीकार गर्न आग्रह गरेका थिए । 

उम्मेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपील वितरण गर्न पाइए पनि कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्नेगरी प्रचारप्रसार गर्न रोक लगाइएको छ । भृकुटीमण्डपस्थित महाधिवेशनस्थल वरपर ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारको प्रचार सामग्री राख्न र मतदानस्थलमा मोबाइल निषेध गरिएको छ

संस्थापनइतर समूहका नेताहरु कोइराला र सिंहले सभापतिको उम्मेदवार बन्ने अडान नछाडेपछि आक्रोशित हुँदै पौडेलले भने, ‘तपाईहरु कि आपसमा मिल्नोस्, कि मेरो नेतृत्व स्वीकार्न तयार हुनोस् । आफूहरु पनि नमिल्ने र अरुको नेतृत्व पनि नस्वीकार्ने हो भने मलाई राजनीतिबाटै सन्सास लिन दिनोस् ।’ 

२ महामन्त्रीमा दर्जनको दाबी

झण्डै ४५ सय महाधिवेशन प्रतिनिधिहरुले कांग्रेसको आगामी ५ वर्षका लागि नेतृत्व चयन गर्नेछ । जसमा एक सभापति, दुई उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १६५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । नेपाली कांग्रेसमा यसपटक दुवै महामन्त्री निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि एक महामन्त्री निर्वाचित हुने र एक जना मनोनित गर्ने व्यवस्था थियो । २ जना महामन्त्रीका लागि एक दर्जन नेताले दाबेदारी गरेका छन् ।

पार्टीका युवा नेताहरुको बढी आकर्षण देखिएको महामन्त्रीमा यसपटक निकै रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ । देउवा पक्षबाट महामन्त्रीमा ६ जना प्रतिस्पर्धी देखिएका छन् । देउवा पक्षबाट महामन्त्रीमा बालकृष्ण खाण, ज्ञानेन्द्र कार्की, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, रमेश लेखक र एनपी साउदको दाबी छ । शर्माले त करिब २ महिनाअघि नै औपचारिक कार्यक्रममार्फत उम्मेदवारी घोषणा गरेका हुन् । यसैगरी संस्थापन इतर समूहबाट पनि महामन्त्रीमा ५ जनाको दाबी छ । संस्थापन इतर समूहबाट  गगन थापा, डा. मिनेन्द्र रिजाल, धनराज गुरुङ, चन्द्र भण्डारी र दीपक गिरी दाबेदार छन् ।गगन थापाले पनि २ महिनाअघि नै उम्मेदवारी घोषणा गरेका थिए ।  अघिल्लो महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीका उम्मेदवार बनेका थापा यसपटक सिटौलालाई छाडेर पौडेल समूहमा छन् । सिटौला समूहबाट भने यसपटक महामन्त्रीमा प्रदीप पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तो छ निर्वाचन कार्यतालिका र आचारसंहिता

नेपाली काँग्रेसले १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंसिर २७ गते मतदान हुने भएको छ । महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन मंसिर २४ गते बिहान १० बजे हुनेछ भने उम्मेदवारको मनोनयन दर्ता मंसिर २५ गते बिहान १० देखि ५ बजेसम्म हुनेछ । दावी विरोधको समय २५ गते बेलुका ७ देखि ९ बजेसम्म र उम्मेदवारको पहिलो नामावली प्रकाशन सोही राति ९ देखि १२ बजेसम्म हुनेछ । मनोनयनपत्र फिर्ताका लागि मंसिर २६ गते बिहान ११ बजेसम्मको समय दिइएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर मंसिर २७ गते बिहान ८ बजेदेखि मतदान हुनेछ । 

काँग्रेसले पार्टीको १४ औं महाधिवेशनका लागि ६ बुँदे आचारसंहिता समेत जारी गरिसकेको छ । उम्मेदवार रहने केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकहरूको लागि आचारसंहिता लागू गरेको हो ।

उम्मेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपील वितरण गर्न पाइए पनि कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्नेगरी प्रचारप्रसार गर्न रोक लगाइएको छ । भृकुटीमण्डपस्थित महाधिवेशनस्थल वरपर ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारको प्रचार सामग्री राख्न र मतदानस्थलमा मोबाइल निषेध गरिएको छ ।