रामचन्द्रलाई अब प्रकाशमान बाधक, शेखरले गरे ‘ब्याक’ हुने संकेत

रामचन्द्रलाई अब प्रकाशमान बाधक, शेखरले गरे ‘ब्याक’ हुने संकेत

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २३, २०७८

नेपाली कांग्रेसको संस्थापनइतरका केन्द्रीय सदस्यहरूको बैठक सकिएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहीबार बिहान ८ बजेदेखि बसेको बैठक केही समयअघि मात्र सकिएको छ । 

बैठकले सभापतिको साझा उम्मेदवार तय गर्न भने सकेन । यद्यपि, नेताहरू आफ्नो खेमाबाट एकल उम्मेदवार तय हुन्छ भन्दै हिँडेका छन् । 

इतर समूहले केही दिनयता सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयास जारी राखेको छ । मंगलबार र बुधबार लगातार छलफल गरे पनि आकांक्षीहरूबीच सहमति जुट्न सकेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडैलसहित शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला इतर पक्षबाट सभापतिका आकांक्षी छन् । यद्यपि, महामन्त्री शशांक कोइरालाले मंगलबारको बैठकमै पौडेलका लागि सभापतिमा आफूले दाबी छाड्ने बताइसकेका छन् । तर, त्यसका लागि प्रकाशमान र शेखरबीच सहमति हुनुपर्ने उनको अडान छ ।

आजको बैठकमा सभापतिका अर्का आकांक्षी शेखर पनि साझा उम्मेदवार घोषणा गर्ने विषयमा लचक भएका छन् । उनले बैठकमा प्रकाशमान सिंहले माने आफू रामचन्द्र पौडेललाई मान्न तयार रहेको संकेत गरेको बैठकमा सहभागी एक नेताले बताए ।

तर, प्रकाशमान भने कुनै पनि हालतमा सभापतिको उम्मेदवार बन्ने अडानमा छन् । उनले गणेशमान सिंह परिवारले कांग्रेसमा जहिले पनि त्याग गरेको भन्दै यस पटक अरूले आफ्ना लागि छाड्नुपर्ने बताइसकेका छन् ।