मिडिया काउन्सिल विधेयकको सर्वत्र विरोध : कांग्रेसले संसद्मा अघि बढ्न नदिने

मिडिया काउन्सिल विधेयकको सर्वत्र विरोध : कांग्रेसले संसद्मा अघि बढ्न नदिने

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३०, २०७६

काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक ल्याएर सरकारले स्वतन्त्र प्रेस र पत्रकारमाथि कु गर्न खोजेको आरोप लगाएका छन् । विधेयक हुबहु पारित भए त्यो संविधानको प्रस्तावनाकै विरुद्ध हुने उनले बताए । 

सरकारले २६ वैशाखमा संसद्मा दर्ता गराएको यो विधेयकलाई संविधानविपरीत भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

‘अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, समानता र न्याय लोकतन्त्रका आधारभूत पक्ष हुन् । यी कुनै पनि स्वतन्त्रतालाई कुनै बहानामा रोक्न पाइँदैन,’ केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित पत्रकार सम्मेलनमा देउवाले भने, ‘यो विधेयक पारित भए स्वतन्त्र प्रेस र पत्रकारमाथिकै कु हुनेछ । त्यसैले प्रेस स्वतन्त्रताविरोधी एउटा पनि प्रावधान राख्नुहुन्न । हामी यो विधेयक फिर्ता हुनुपर्छ भन्ने पक्षमा छौँ ।’ प्रेस जगत्लाई नियन्त्रण गर्ने विषयलाई नमान्ने र समर्थन पनि नगर्ने उनको प्रस्टोक्ति थियो । सबै खालका राजनीतिक परिवर्तन, स्वतन्त्र प्रेस, आवधिक निर्वाचनसहितका प्रजातान्त्रिक व्यवस्थाका लागि आफूहरूले जेलनेल भोगेको भन्दै देउवाले स्वतन्त्रताका लागि फेरि पनि जेल जान तयार रहेको बताए । नयाँ पत्रिका दैनिकले यो समाचार प्रकाशित गरेको छ ।