मनाङसँग पुलिस, च्यासल र ब्रिगेडले पोखरामा खेल्ने

मनाङसँग पुलिस, च्यासल र ब्रिगेडले पोखरामा खेल्ने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर २३, २०७८

कीर्तिमानी आठौँ पटकको शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ-मर्स्याङ्दी क्लबले ३ क्लबलाई ‘घरेलु मैदान’  पोखरामा आतिथ्य प्रदान गर्ने भएको छ । 

अखिल नेपाल फुटलब संघ (एन्फा)का केन्द्रीय सदस्य तथा मनाङ-मर्स्याङ्दी क्लबका उपाध्यक्ष विजय घलेले लिगका ३ खेल पोखरामा खेलाउने निर्णय भएको जानकारी दिए । उनले भने, ‘लिगका ३ खेल पोखरामा खेलाउने निर्णय भएको छ । हामीसँग पोखरा जान ३ क्लब तयार छन् ।’  

घलेका अनुसार नेपाल पुलिस क्लब, च्यासल युथ क्लब र ब्रिगेड व्वाइज क्लब पोखरामा खेल्नेछन् । मनाङले छैटौँ, सातौँ र आठौँ चरणका आफ्ना ३ खेल पोखरामा लैजाने भएको छ । मनाङले पोखरा रंगशालालाई घरेलु मैदान बनाएसँगै ए डिभिजन लिगका आफ्ना पोखरामा खेल्ने तयारी गरेको थियो । 

मनाङले सहभागी १४ वटा क्लबलाई पत्र पठाउँदा ३ क्लब पोखरा जान तयार भएका हुन् । अब, मनाङले एन्फासँगको पूर्वसम्झौताअनुसार ३ क्लबको पोखरा जाने आउने र होटल खर्च व्वयस्था गर्नेछ भने मैदानबाट आएको रनिङ बोर्ड र टिकटसहित पार्किङबाट उठेको पैसा प्राप्त गर्नेछ । 

खेलहरू यसअघि तय भएकै मितिमा हुनेछन् । खेलको समय भने तोकिएको छैन । एन्फाले हालसम्म चौथो चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ । लिगकाे तेस्रो चरणका खेलहरू बुधबारदेखि सकिएका छन् । 

मनाङ ३ खेलमा २ जीत र एक बराबरीको नतिजापछि ७ अंकसहित तेस्रो स्थानमा छ । समान खेलमा समान ७ अंक जोडेको सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लब गोलअन्तरका आधारमा क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । 

समान ५ अंक बनाएका संकटा, नेपाल पुलिस र आर्मी क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । यता, समान ४ अंक रहेका थ्री स्टार, ब्रिगेड र च्यासल युथ क्रमशः सातौँ, आठौँ र नवाैँ स्थानमा रहँदा समान २ अंकका फ्रेण्ड्स, एनआरटी र हिमालयन शेर्पा क्लब १०औँ, ११औँ र १२औँ स्थानमा छन् ।

बिना कुनै अंक जावलाखेल युथ र एपीएफ क्लब क्रमशः १३औँ र १४औँ स्थानमा रहँदै रेलिगेसन जोनमा छन् । चौथो चरणका खेल भोलि (शुक्रबार)देखि नै सुरु हुनेछन् ।