'युवाप्रति विश्वास र भरोसा छ, केन्द्रीय सदस्य जित्छु'

'युवाप्रति विश्वास र भरोसा छ, केन्द्रीय सदस्य जित्छु'

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  मंसिर २३, २०७८

विद्यालय जीवनदेखि निरन्तर राजनीतिमा सक्रिय रहँदै आएकी युवा नेतृ हुन्, उर्मिला थपलिया । २०५३ सालदेखि लगातार २५ वर्षसम्म नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघ र पछिल्लो समय कांग्रेसको राजनीतिमा उनी लागिरहेकै छन् । यसबीचमा नेविसंघको विद्यालय इकाइ समिति, जिल्ला समिति, विश्व भाषा क्याम्पसकी स्ववियु सचिव, केन्द्रीय समितिमा सदस्य, उपाध्यक्ष हुँदै महामन्त्रीको भूमिका निभाइसकेकी थपलिया कांग्रेसको १३औँ महाधिवेशनमा महासमिति सदस्य पनि हुन् ।

अहिले कांग्रेसको १४औँ महाधिवेशनको रन्को चलिरहेको छ । देशभरका स्थानीय र प्रदेश तहबाट निर्वाचित हुने र महाधिवेशन प्रतिनिधिहरूका अनुहार हेर्दा युवाको संख्या उल्लेख्य पाइन्छ । अब केन्द्रीय तहमा पनि युवाको नेतृत्व अपरिहार्य छ भन्ने मान्यता राख्ने थपलिया १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यको दाबी गरिरहेकी छन् । उनै उर्मिला थपलियासँग लोकसंवादले गरेको कुराकानीको सार संक्षेप प्रस्तुत छ ।

१४औँ महाधिवेशन त आई नै सक्यो त, कस्तो लागिरहेको छ ?

-    महाधिवेशन सबै पार्टीका लागि उत्सव हो । अझ पार्टीका नेता, कार्यकर्ताका लागि त महाउत्सव नै हो महाधिवेशन । महाधिवेशनले नै पार्टीको भावी नेतृत्वसँग दिशा पनि तय गर्ने हुँदा स्वाभाविक रूपमै हामी पार्टीका सिपाहीहरूलाई महाधिवेशनले अर्कै छुट्टै उत्साह र उमंग दिन्छ ।

कांग्रेसको सन्दर्भमा कुरा गर्दा, हाम्रा भ्रातृ र शुभेच्छुक संगठन, संस्थाका अधिवेशनहरू समयमै सम्पन्न गर्न सकेनौँ । यसले कार्यकर्तामा निराशा पो छायो कि भन्ने डर थियो तर अहिले विभिन्न तहमा भएका अधिवेशनमा नयाँ साथीहरूको व्यापक सहभागिता, क्रियाशीलता र युवाहरूको विजयले हाम्रो संगठन बलियो नै रहेछ भन्ने देखायो । यो अत्यन्त सकारात्मक पक्ष देखिइरहेको छ ।

र, यो तल्लो तहदेखिको कार्यकर्ताको विश्वास, उत्साह र भरोसालाई जोगाउने दायित्व पार्टीका शीर्ष र जिम्मेवार नेताहरूको हो, हाम्रो पनि हो । महाधिवेशनले यो हाम्रो आशा पक्कै पूरा गर्नेछ ।

पार्टीका तल्ला तहमा युवाहरूको नेतृत्वको कुरा गर्नुभयो । तपाईंहरू केन्द्रमा पनि युवाको नेतृत्वको कुरा बारबार उठाइरहनुभएको छ तर कांग्रेसमा त ७० वर्ष कटेका युवा पनि छन् नि !

-    युवा भनेको विचारको र उमेरको हुन्छ । उमेर पाको भए पनि कोही विचारमा युवा हुन सक्छ भने कोही उमेर युवा भए पनि विचारमा पाको हुन सक्छ । हामीले उमेर र विचार दुवै हिसाबले युवा नेतृत्वको कुरा गरेका हौँ । नयाँ जोश, नयाँ सोच र नयाँ उत्साहले पूर्ण यु्वा नेतृत्वले मात्र अबको कांग्रेसको सुधार, समृद्धि र निरन्तरता हुन सक्छ भन्ने हाम्रो मान्यता हो ।

तर, यसको आशय पुराना, अग्रज, पार्टीमा लामो योगदान गरेकाहरूलाई पाखा लगाउने भन्ने होइन । उहाँहरूलाई उचित सम्मान गर्दै क्रियाशील पदहरू र भूमिकामा भने उमेर र विचार दुवैले युवा आउनुपर्छ भन्ने हो । र, यो संकेत त तल्लो तहका अधिवेशनले गरिसेकका छन् । अब विचार र उमेरका युवा अनि अनुभवका पाका दुवैलाई मिलाएर नेतृत्व चयन गर्नुपर्छ भन्ने लाग्छ ।

राजनीतिलाई पेसा होइन, सेवा हो भन्ने धारणालाई स्थापित गर्नु छ । पार्टीको संगठन सुदृढ गर्नु छ । आमकार्यकर्तामा रहेको अन्योल र निराशा चिर्नु छ । यसका लागि सबै कार्यकर्ताका घर-दैलोसम्म पुग्ने जागरुक युवा नेतृत्वको खाँचो महसुस भएको छ । यसका लागि म र म जस्तै साथीहरूको आवश्यकता पार्टीमा देखिएको छ

तर, युवाले नै युवालाई असहयोग गरेका उदाहरण पनि त छन्, के विश्वास छ युवाप्रति ?

-    विगतमा यस्तो पनि देखिएको हो । तर, हामी युवाले सधैँ अग्रजरूकै आशीर्वाद मात्र चाहेर हुँदैन । आफूमा विश्वास पनि गर्नुपर्छ । युवाले नै युवाप्रति भरोसा र विश्वास नगरेर त कसरी रूपान्तरण, परिवर्तन संभव होला र ?

यस कारण मलाई लाग्छ, हामी युवाहरूको सबैको धारणा, मान्यता र व्यवहार एक हुनेछ अबको महाधिवेशनमा । युवाकै बाहुल्य हुनेछ पार्टीको नेतृत्वमा र केन्द्रीय सिमतिमा ।

कांग्रेसमा २ वटाबाट अनेक खेमा बनिसकेका छन् । यी खेमाहरूबीचको मेल कतिको देख्नुहुन्छ ?

-    स्वाभाविक हो- विचार मिल्नेको पार्टी र मन मिल्नेको खेमा हुन्छ । हामीबीचमा पनि यस्तो विगतदेखि नै देखिन्छ । तर, पछिल्लो पटक एउटै खेमाभित्र अनेक खेमा देखापर्नुचाहिँ दुखद् हो ।

हामी पनि सबै खेमालाई मिलाउनुपर्छ, मिल्नुपर्छ भनेर दबाब दिइरहेका छौँ । उहाँहरू पनि मिल्न र मिलाउन लागिरहनुभएकै छ । हामीले विश्वास गरेका र भर परेका नेताहरूले समग्र पार्टी र हामी जस्ता अनुज र कार्यकर्ताको हित, चाहनाभन्दा बाहिर गएर निर्णय गर्नुहुन्न, यस्तो व्यवहार गर्नुहुन्न ।

तपाईंको आफ्नो विचार के छ नेतृत्वका लागि ?

-    म रामचन्द्र पौडेल खेमाबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिँदै छु । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय भएँ । २ दशकभन्दा बढी विद्यार्थी हक हितका लागि संघर्ष गरेकी हुँ । अब पार्टीबाट देश र जनताका निम्ति योगदान गर्ने विचारमा छु ।

राजनीतिलाई पेसा होइन, सेवा हो भन्ने धारणालाई स्थापित गर्नु छ । पार्टीको संगठन सुदृढ गर्नु छ । आमकार्यकर्तामा रहेको अन्योल र निराशा चिर्नु छ । यसका लागि सबै कार्यकर्ताका घर-दैलोसम्म पुग्ने जागरुक युवा नेतृत्वको खाँचो महसुस भएको छ । यसका लागि म र म जस्तै साथीहरूको आवश्यकता पार्टीमा देखिएको छ । यसर्थ पनि मैले यस पटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी हुँ ।

मेरो उम्मेदवारी खस-आर्य महिलाबाट हुनेछ । तर, नेताहरूले, पार्टीका साथीहरूले कसरी मिलाउनुहुनेछ, त्योअनुसार पनि हुन सक्छ ।