विश्वविद्यालयको १३२६ बिघा कब्जा

विश्वविद्यालयको १३२६ बिघा कब्जा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३०, २०७६

दाङ । संस्कृत विश्वविद्यालय सञ्चालनका लागि २०१० सालमा ५६ जनाले जग्गा दान गरे । दाताको कदर गर्दै जग्गाको विवरणसँगै संस्कृतमा श्लोक लेखियो, जसको आशय छ- 'भूमि दानभन्दा विशेष दान अरू छैन, भूमिहरण गर्नुजस्तो विशेष पाप अरू छैन ।'

तर यही आशयलाई खिल्ली उडाउँदै दानबाट प्राप्त विश्वविद्यालयको देउखुरीस्थित १ हजार ३ सय २६ बिघा ७ धुर जमिन १८ वर्षदेखि कब्जामा छ । सशस्त्र द्वन्द्वका बेला ०५८ सालमा तत्कालीन विद्रोही माओवादीले राजपुरस्थित विश्वविद्यालयको सम्पर्क कार्यालय भत्काई विस्थापित गराएपछि गुमेको जग्गा अहिलेसम्म फिर्ता हुन सकेको छैन । अधिकांश जग्गा किसानले कब्जा गरेका छन् ।

केही जग्गा प्रहरी चौकी र मन्दिरका नाममा कब्जा छ । सतबरियाको वनघुस्रीस्थित १० बिघा जमिन मात्रै ठेक्कामा लगाइएको नेसंवि देउखुरी जग्गा व्यवस्थापन समिति संयोजक माधव अधिकारीले बताए । अन्य सबै जग्गा अरूकै नियन्त्रणमा रहेको उनले बताए । कतिपय पक्की घर बनाएर बसिसकेका छन् भने कतिले मौखिक रूपमै किनबेच गरिरहेका छन् । नेसंविले जग्गाको राजस्व तिरिरहे पनि आयस्ता केही पाउन सकेको छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा खबर छ ।