डा. गीता त्रिपाठी : परंपरागत ‘गीता’ र आधुनिक ‘गीता’को अध्येता

डा. गीता त्रिपाठी : परंपरागत ‘गीता’ र आधुनिक ‘गीता’को अध्येता

आशिष पौडेल  |  अन्तर्मन्थन  |  मंसिर २५, २०७८

संघर्ष, संयोग र सत्संगले सफल बनाएको नाम हो, डा. गीता त्रिपाठी । 'कर्म गर, फलको आस नगर' भन्ने गीतासार जस्तै छन् उहाँको जीवनका कतिपय संयोग । निबन्ध प्रतियोगिताको  पुरस्कार होस् वा उत्कृष्ट गीतकार, यसमा उहाँले कर्म गर्नुभयो तर फलको आशा नगरी । अन्त्यमा सबैले फल दिए ।  ‘गीता’ त्रिपाठीको समग्र व्यक्तित्वमा यस्तो कर्मयोगको छाप भेटिन्छ । 

जीवनका विविध आयाम व्यहोरेको उहाँको जीवनयात्रा नै भोगाइ र भोक्ताको साक्षी हो । जीवनका आरोह, अवरोहले उहाँलाई मजबुत र परिपक्व बनाएको छ । यही मजबुत र पकाइ उहाँका सिर्जनामा भेटिन्छ । यसले समालोचना जस्तो जटिल र बौद्धिक खुराक पस्कनुपर्ने विधामा समेत उहाँका कलम सललल बगेका छन् । 

स्वयं ‘गीता’ बन्नु र ‘गीता’ पढ्नुबीचको राम्रै अन्तरको हेक्का राख्ने उहाँलाई वर्तमान नेपाली साहित्यमा आशालाग्दो हस्ताक्षरको रूपमा हेरिन्छ । गीत, कविता, कथा, निबन्ध, समालोचनालगायतका विधामा कलम चलाउनुहुने त्रिपाठी प्राध्यापनमा समेत संलग्न हुनुहुन्छ ।  

०००

२०११ सालतिर मन्त्री भइसकेका रत्नप्रसाद खरेलले अंग्रेजी पढाउने शिक्षकका रूपमा गाउँ फर्कन अनुरोध  गरेपछि कलकत्तामा काम गर्दै रहनुभएका उहाँका बुबा वेदराज थपलिया नेपाल फर्कनुभएको हो, २०२१ सालमा । 

मन्त्री खरेल उहाँका छिमेकी पनि भएकाले उहाँको कुरा हार्न सक्नुभएन । उहाँले काभ्रेको खरेलथोकको भगवती माविमा करिब २६-२७ वर्ष अध्यापन गर्नुभयो । विषय विशेषज्ञको कमी हुने गाउँका विद्यालयको संकटका बेला उहाँले प्रायः सबै विषय पढाउने गरेको स्मरण गर्नुहुन्छ गीता ।

५ छोरी र एक छोराको पढाइ तथा अन्य व्यवहार पनि हेर्नुपर्दा सामान्य खानपिन र लवाइ, खवाइ चल्थ्यो । खेतीपाती पनि नभएको होइन तर भैपरी आउने कुनै पनि कामका लागि भने ऋण र सरसापटको आवश्यकता पर्थ्यो । त्यस अर्थमा आफ्नो हुर्काइलाई निम्न मध्यम वर्गीय परिवारभित्रको कथा भन्न रुचाउनुहुन्छ उहाँ । 

०००

बुबा, आमाबीच उमेरको  ठूलो अन्तर थियो । बुबा पढेलेखेको भए पनि आमाले स्कुल देख्न पाउनुभएको थिएन । तर, कलकत्ता बसाइमा बुबाले आमालाई अक्षर चिनाउनुभयो । जीवनका पछिल्ला दिनहरू आमाले हरिवंश राय बच्चनको कृति 'मधुशाला' पढेर आनन्द लिँदै गरेको क्षण भावुक भएर सम्झनुहुन्छ गीता ।

बुबाआमाबीच एकदमै राम्रो सम्बन्ध थियो । कहिल्यै ठूलो स्वरले बोलेको तथा झगडा गरेको उहाँलाई हेक्का रहेन । 

आमा घर व्यवस्थापनमा कुशल हुनुहुन्थ्यो । 'अहिले के गर्ने र भोलिलाई कसरी साँच्ने भन्ने राम्रो कला छ' भनेर बुबाले आमाको तारिफ गरेको सुन्दै हुर्किएको सहज र सुन्दर बाल्यकालकालीन परिवेश छ उहाँको । 

सायद यसको प्रभाव हो- गीतालाई बाल्यकालीन समयका कुनै नराम्रा झैझगडा, यातना र आपसको हीनताबोधको सम्झनामा छैन । एउटा चिनियाँ लालटिनमुनि बसेर ५-६ जना मिलेर गृहकार्य गर्नुहुन्थ्यो उहाँहरू । खेल खेल्दा सामान्य केही होचो अर्घेलो भयो होला तर चित्त दुख्ने गरी कसैले कसैलाई चोट पुर्‍याएको याद छैन उहाँलाई । 

०००

१५ असार २०२९ मा नेपाली साहित्यको भविष्यका निम्ति एउटा राम्रो सर्जकको जन्म भएथ्यो बरबन्दी, खरेलथोक काभ्रेमा । आमाबुबाका निम्ति त आफ्नो सन्तान प्रिय हुने नै भयो, समाजले पनि एउटा असल व्यक्तित्व पायो । गीता आज जे हुनुहुन्छ, उहाँले बाल्यकालमा पाएको परिवेशले भएको विश्वास गर्नुहुन्छ । 

बुबा कलकत्तामा बसेर पढेको हुनाले अनुशासनमा अलिक कडा हुनुहुन्थ्यो । शिक्षित र देशबाहिरको परिवेश पनि देखेको हुनाले छोरीहरूलाई शिक्षा-दीक्षा दिने कुरामा बुबाको कन्जुस्याइँ रहेन । 

तर, अनुशासन, शिक्षा र समयका सन्दर्भमा अलिक कठोर भएका कारण उहाँको सम्बन्ध अधिकांशतः बुबासँग एउटा होस्टेल वार्डेन र विद्यार्थीको जस्तो रह्यो, जसले आफ्ना विद्यार्थीप्रति सधैँ निगरानी गर्ने गर्छ- असल कामका लागि ।समयको महत्त्व पनि बुझेका कारण अनावश्यक कुरामा समय खर्च नगरोस् भन्ने कुरामा पनि सचेत रहन्छ वार्डेन । 

गाउँका साथीभाइसँग साँझ-बिहान घुमफिर गर्न नपाउँदा त्यस बेला त उहाँलाई पनि बुबाले किन कडा गरेको होला भन्ने नलागेको होइन, तर, यो कडाइ यति मिठो हुँदो रहेछ भन्नेचाहिँ उहाँलाई पछि महसुस भयो । यसका लागि उहाँ बुबाप्रति आभारी पनि हुनुहुन्छ । 

बुबाले बोल्ने, लगाउने, खाने अनि स्वास्थ्य र समग्रमा पढाइप्रति सचेत भएका कारण दैनिकीमा कडाइ गरे पनि बिहान-बेलुका आँगनमा खल्याङखुट्टी, धानको कुन्युँमा लुकामारी उहाँले पनि नखेल्नुभएको होइन । तर, यी अवसर भने कहिलेकाहीँ वा जाडो तथा गर्मीका लामो बिदामा मात्र उपलब्ध हुन्थे । 

००० 

बाल्यकालका सहपाठी साथीहरूमध्ये विनेश खरेल, जो अहिले बेलायतमा एफसीए हुनुहुन्छ, गीता उहाँलाई सफल व्यक्तिका रूपमा सम्झनुहुन्छ । खरेल त्यस बेलाको उहाँको कक्षाको 'फर्स्ट ब्याई ।' उहाँले भने विनेशले ९ कक्षामा स्कुल छाडेर काठमाडौं आएपछि मात्र प्रथम हुने अवसर पाउनुभएको थियो । 

अहिले पनि उहाँलाई पूर्णिमाको दिन यसो हेर्‍यो भने बुबाको झल्को आउँछ । उहाँले यसै स्मृतिमा यो गीत लेख्नुभएको थियो । तर, गायक पेमा लामाले यो गीत प्रेमीलाई लेखेको ठान्नुभएछ । धेरै मनपराएर संगीत गर्नुभएको छ दार्जिलिङमा । स्वर सम्राट नारायण गोपालका समयका दार्जिलिङका पुराना गायक पेमा लामाले उक्त गीतमा संगीत भर्दा गीता प्रेरित हुनुभएको छ, आफ्नो गीतियात्राप्रति । 

त्यस्तै अन्य बाल सखामा जनक खकुरेल नेपालस्थित अमेरिकी दूतावासमा वित्तीय क्षेत्र सम्हाल्दै हुनुहुन्छ । सुशीला खरेल हिसाबमा असाध्यै ज्ञान भएकी साथी । भुवनेश्वरी, सरिता, सारिका, हरिकृष्ण थुप्रै मिल्ने साथीहरू उहाँका । रामशरण रेग्मी तीमध्येका एक अर्का होनहार साथी । नाम त अरू पनि थिए । अहिले आएर हेर्दा महिला मित्रहरू भने त्यस्तो स्थापित भएको जानकारी नहुँदा उहाँलाई खल्लो महसुस पनि हुन्छ, किनकि बाल्यकालमा ती अत्यन्त प्रतिभाशाली थिए, आजसम्मको यात्रा त्यस्तै हुन पाएको भए देश र समाजले राम्रो सेवा पाउने थियो भन्ने गीतालाई लागिरहन्छ । 

०००

केटाकेटी ३ वर्ष पुगेपछि सुरु हुन्थ्यो कखरा । सिलोटमा पिसेर राखेको रातोमाटोमा हातले ‘क’ लेख्दै हुन्थ्यो शुभारम्भ । 

प्रारम्भिक शिक्षा भने खरेलथोकको भगवती माविबाट सुरु भएको हो उहाँको । शैक्षिक चेत राम्रो भएका कारण विद्यालय भवनलगायत व्यवस्थापन पनि राम्रो थियो भगवती माविमा । 

बस्नलाई घरबाट गुन्द्री बोकेर जानुपर्ने अवस्था आएन । काठका डेस्क, बेन्च थिए । शिक्षकका लागि पनि बस्ने व्यवस्था राम्रो थियो । 

फर्निचर मर्मतका लागि अलिक तल स्वाँराको वनबाट आवश्यकताअनुसारका काठ ओसार्ने गरिन्थ्यो । विद्यार्थी पनि यस काममा सहभागी हुन्थे । बेलाबेला काठका मुढामा आरा लगाइरहेको देखेर हौसिएको सम्झना गर्नुहुन्छ उहाँ । त्यो परंपरागत आरा तानेको हेर्दा खेल खेलेको अनुभव हुन्थ्यो उहाँलाई । व्यवस्थापन पक्ष पनि राम्रो थियो विद्यालयको । खानेपानी स्रोत नजिक नहुँदा भने अलिक समस्या थियो । 

०००

कक्षामा झन्डै २५ जना हुन्थे विद्यार्थी । छात्राहरू एक तिहाइ । तर, त्यस बेलाको त्यो उपस्थिति राम्रो मानिन्थ्यो ।

३ वटा लहरमा हुन्थे बेन्च, जसमा एउटा भने छात्राहरूका लागि हुन्थ्यो । जो चाँडो आउँथ्यो, ऊ अगाडि बस्ने नियम थियो । तर, पछि भने सबैलाई सबै ठाउँ हुने गरी बसाउने राम्रो थालनी पनि भयो, रोटेसनको । उहाँको बसाइ भने प्रायः पहिलो बेन्चमा नै हुने गर्थ्यो । 

एक पटक स्कुलमा डोटीको एक जना हँसिलो मान्छेलाई नयाँ अंग्रेजी शिक्षक भनेर कसैले कक्षामा चिनाउन लिएर आए । 

यो कक्षा ७ को कुरा हो । सरले आएको पहिलो दिन नै जाँच लिन्छु भन्नुभयो अनि अंग्रेजीमा केही लेख्न दिनुभयो । 

सबैले उत्तर लेखे । उहाँले पनि लेख्नुभयो । तर, के लेख्नुभयो भन्नेचाहिँ हेक्का छैन । सरले सबैको कापी जाँचेपछि उहाँको कापीमा रातो कलमले चिह्न लगाएर 'यो गीताबहादुर भनेको को ?' भन्नुभयो । नाममा केही अनौपचारिक फुर्का जोडेर कक्षालाई रोचक बनाउने बानी थियो सरको । 

उहाँले उठेर विनम्रतापूर्वक पहिलो दिनको कक्षामा अलिक डराउँदै पनि ‘म हो सर’ भनेपछि 'तिम्रो उत्तर एकदम सिर्जनात्मक छ' भनेर झोलाबाट निकालेर रंगीचंगी कागजले मोरेका २ वटा पुस्तक उपहार दिनुभयो । 

साथीहरूले कक्षामै खोल्ने ढिपी नगरेका होइनन्, तर, उहाँले आफ्नो त्यो उपलब्धि घर लगेर बुबालाई देखाउने चाहले त्यहाँ खोल्नुभएन । पछि घर लगेर खोल्दा २ वटा किताब थिए- ‘बेलु’ र ‘प्रतिज्ञा ।’ एउटा महाकाव्य अनि अर्को खण्डकाव्य । दुवै कृति थिए- भक्तबहादुर बलायर सरका । उहाँ कांग्रेसको नेता तथा पछि मन्त्रीसमेत बन्नुभयो । 

पछि घर सर्दा ती किताब हराए । २०४६ सालपछि काठमाडौंमा भेटेपछि उहाँले सरसँग ती किताबका लागि फेरि अनुरोध गर्नुभयो । अहिले उहाँसँग घरको पुस्तकालयमा ती केही किताब मौजुद छन् । 

अर्को एउटा सम्झना छ उहाँको बलायर सरसँगको । ‘अबुझ बहिनी साथमा थिइन्, त्यै पनि काँतर, कसरी जलन गराउने शान्त थिएन विचार’ भन्ने कविता उहाँले सर बिमारी पर्दा लेख्नुभएको थियो । 

भोलिपल्ट सरले कक्षामा ‘यस्तो सुख्खा ठाउँमा बसेर त तिमी यति रसिलो कविता लेख्छ्यौ, झन् पश्चिम खप्तडमा गयौ भने कस्तो लेख्छ्यौ होला ?' भन्नुभएको थियो । यो कविता झ्याउरे लयको हो भनेर पनि सरले नै बताउनुभएको हो उहाँलाई । 

खप्तड यात्रामा लैजान अहिले पनि बलायर सर उत्सुक हुनुहुन्छ तर समयले गीतालाई त्यो अवसर दिएको छैन । बलायर सरले काभ्रेलगायतका विकट ठाउँमा कृषि र पशुपालनलाई विस्तार गर्न अहिले लागिपरेको सुन्दा र देख्दा गीतालाई गुरुप्रति गर्वबोध हुन्छ । 'पहिले शिक्षक र पछि मन्त्री हुँदा देशका विभिन्न ठाउँमा के कस्ता अवसर छन् भन्ने कुराको राम्रो अध्ययन गर्नुभएको रहेछ बलायर सरले', उहाँ भन्नुहुन्छ ।

त्यस बेला स्कुलमा बाहिर जिल्लाबाट र विदेशबाट पनि शिक्षकहरू आउँथे । अमेरिकी मार्क डोफ म्यानलाई उहाँले बिर्सनुभएको छैन । भक्तबहादुर बलायर सर उहाँको मस्तिष्कबाट विस्मृत हुने कुरै भएन । अंग्रेजी र गणितको शिक्षक अभाव हुने त्यस समयमा सूर्यनारायण यादव, उपेन्द्र यादव, विमला त्रिपाठीलगायत सर- म्यामले  पढाएको उहाँ सगर्व सम्झनुहुन्छ ।

०००

स्कुलको प्रांगणमा बिहान गाएको ‘हटी होइन डटी लड्ने’ उहाँको स्मृतिमा ताजै छ । यसले एक प्रकारको ऊर्जा अहिले पनि दिएको छ । 

त्यस्तै, अतिरिक्त क्रियाकलापअन्तर्गत वादविवाद, हाजिरी जबाफलगायत ब्याडमिन्टन, क्यारम, चेस, लुडो तथा ज्याभलिन थ्रो जस्ता खेल, जसमा महिलाको सहभागिता रहन्थ्यो, आदि अहिले पनि ताजै छन् । 

०००

उहाँलाई गीत, कविता सानैदेखि मनपर्थ्यो र लेख्ने पनि गर्नुहुन्थ्यो । तर, सुनाउन लाज लाग्थ्यो । गीत, कविता प्रेमका लागि मात्र लेखिँदैनन् भन्ने चेत पनि थियो । 

बुबाले बजाउने रेडियोमा आउने गीति कथा तथा साहित्यिक कार्यक्रमले पढाइमा वाधा पुर्‍याएनन् बरु मद्दत नै गरे । 'सायद बुबाको पनि यसमा आकर्षण भएका कारण हो कि यस्ता कार्यक्रम बजिरहेका बेला हामी पढ्दै थियौँ भने पनि रेडियो बन्द भएन', गीता भन्नुहुन्छ ।

किशोर वयमा प्रवेश गरिसकेपछि विपरीत लिंगीप्रतिको आकर्षण भन्दा पनि यादव खरेल तथा किरण खरेलका प्रेम गीतहरू बढी मनपर्थे । सायद उहाँहरू पनि खरेलथोककै भएका कारण अझ बढी प्रभाव परेको हुन सक्छ । 

एक पटक विमला म्यामले छाडेर जाने भएपछि कागजको टुक्रामा भावुक कविता लेखेर दिनुभयो उहाँले । त्यो कविता पढेर म्याम खुसी मात्र हुनुभएन, आँखाभरि आँसु पार्नुभयो । उहाँको कविता यस्तो रहेछ :

तिमीले दिएको आशा दिलमा निराश बनेर
गुन्जिरहेछन् भित्रै तिम्रै साहस खोजेर
आज बोलेको तिमीले क्वैलीसरिको बोली
सँगमा हिँडेको आँगन शून्य हुनेछ भोलि...
दिलको एक धड्कनमा तिम्रै बह्यो ममता
खै ? के भयो र आज यो परिस्थितिको विषमता !
(२०४४)

०००

गणितमा उहाँ कमजोर । उहाँले इतिहास र भूगोल लिएर पढ्नुभएको हो । आजभन्दा ३३ वर्ष अगाडि भगवती माविबाट प्रथम श्रेणीमा एसएलसी पास हुने उहाँ पहिलो छात्रा । त्यसभन्दा अघि कोही पनि छात्राले 'फर्स्ट डिभिजन' ल्याएको इतिहास रहेनछ । यसमा अरू धेरै कीर्तिमान जोडिएका छन् । 

भगवती माविको २०४५ सालको ब्याचमा उहाँको मात्र 'फर्स्ट डिभिजन ।' इतिहास र भूगोल लिएर 'फर्स्ट डिभिजन' ल्याउने पनि उहाँ मात्र । त्यस्तै, विद्यालयकै इतिहासमा 'फर्स्ट डिभिजन' ल्याउने उहाँ तेस्रो । 

००० 

पहिलो पटक काठमाडौं आउँदा असामयिक मृत्युको चित्कार र वियोगको व्यथाका साथ दिदीको घरमा विचार लिएर आएका कारण काठमाडौंसँगको जम्काभेट त्यति प्रिय रहेन उहाँको । भलै, अहिले ती धुमिल स्मृति मात्र हुन् । 

एसएलसीपछि उहाँ पढ्नका लागि तीन पिप्लेसम्म हिँडेर अनि बाह्रबिसेको गाडीमा झुन्डिएर काठमाडौं आउनुभएको हो । आमाले झुन्ड्याउने नाइलनको झोलामा हालिदिएको चामल बोक्दा उहाँको हात रातो भएको थियो । 

पेट्रोल र मट्टितेलको गन्ध नाकमै ठोकिन्थ्यो सुरुसुरुका दिनमा काठमाडौंमा । सीमित कमाइबाट काठमाडौंमा छोराछोरी पढाउनुपर्दा कोठा अलिक सस्तो खोजिएको थियो । 

भत्किन लागेको घरमा माथिल्लो तल्लामा थियो कोठा अनि कुमारी सिनेमा हलको नजिक भएका कारण त्यहाँको हल्लाले  दिक्कलाग्दो हुन्थ्यो । पछि बानेश्वर सरेपछि भने कलेज टाढा भए पनि बसाइ भने सहज भयो । 

०००

आईए दोस्रो वर्षमा उहाँको बुबा बित्नुभयो । बुबाको देहान्तले उहाँलाई भावुक बनायो । सर्जक मान्छे, यसै भावनामा एउटा गीत लेख्नुभयो । 

‘जब पूर्णिमाको रात आउँछ, खोज्छु म तिमीलाई जूनमा                               
धेरै फरक भयो जिन्दगी, तिमी हुनु र नहुनुमा’

अहिले पनि उहाँलाई पूर्णिमाको दिन यसो हेर्‍यो भने बुबाको झल्को आउँछ । उहाँले यसै स्मृतिमा यो गीत लेख्नुभएको थियो । तर, गायक पेमा लामाले यो गीत प्रेमीलाई लेखेको ठान्नुभएछ । धेरै मनपराएर संगीत गर्नुभएको छ दार्जिलिङमा । स्वर सम्राट नारायण गोपालका समयका दार्जिलिङका पुराना गायक पेमा लामाले उक्त गीतमा संगीत भर्दा गीता प्रेरित हुनुभएको छ, आफ्नो गीतियात्राप्रति । 

०००

पढाइ, लेखाइ सधैँ उहाँको प्राथमिकताका क्षेत्र रहे । श्रीमान् एकदमै सहयोगी भएका कारण पनि उहाँलाई पढाइमा व्यवधान भएन । 

एमए पढ्दै हुनुहुन्थ्यो । ३ महिना भएको थियो । घरमा देवरको बिहे भएर छोरा जन्मेको थियो । सासूआमालाई जेठो छोराको सन्तान नहुने हो कि भन्ने पीरले सतायो । 

उहाँलाई लाग्यो अबको मेरो प्राथमिकता भनेको घर हुनुपर्छ । २०५२ सालमा छोरा जन्मिएपछि छोरालाई २ वर्षको बनाएर मात्र उहाँ आफ्नो पढाइमा लाग्नुभयो । अनि, नेपाली विषयमा एमए भर्ना हुनुभयो पद्मकन्या कलेजमा । 

एमएमा सर्वोत्कृष्ट भएबापत १ असोज २०५७ मा तत्कालीन बडामहारानी ऐश्वर्यबाट स्वर्ण पदक प्राप्त विद्यार्थी हो उहाँ ।  नेपाली एमफिल खुलेपछि २०६६ सालमा कीर्तिपुर, केन्द्रीय नेपाली विभागबाट दर्शनाचार्य तह पूरा गर्नुभयो । 'शंकर लामिछानेका निबन्धमा जीवनदर्शन' शीर्षकमा शोध गर्नुभयो ।

यो यात्रा अझै अघि बढ्यो, ‘आधुनिक नेपाली कवितामा पर्यावरणीय चेतना’ शीर्षकमा उहाँले विद्यावारिधिसमेत गर्नुभएको छ । 

०००

लेख्न त उहाँ पहिलेदेखि लेख्नुहुन्थ्योे । २०४३ सालतिर नै उहाँका कविता छापिइसकेका थिए । तर, पद्मकन्या कलेजको एमए पढ्दाको गुरु-शिष्य परंपराले उहाँको साहित्यले थप उजेलिने अवसर पायो । 

बच्चाका कारण उहाँको कलेज त्यति नियमित हुन सकेको थिएन । तर, २०५६ सालमा कलेजको वार्षिक अवसरका दिन निबन्ध प्रतियोगितामा भाग लिनका लागि सरले फोन गरेरै बोलाउनुभयो । निबन्धको शीर्षक थियो ‘पद्मकन्या क्याम्पस र नेपाली नारी ।'

पद्मकन्या क्याम्पसको बारेमा लेखेर सबै पढिरहेका थिए । तर, उहाँलाई भने जे आउँछ, त्यो लेख्छु भन्ने लाग्यो । 

‘प्रज्ञा नेत्रो लोक प्रज्ञा प्रज्ञानं प्रतिष्ठा ब्रह्म’ भनेर कलेज भवनको बाहिर लेखिएको श्लोकबाट उहाँले निबन्धको उठान गर्ने विचार गर्नुभयो । लेखेर बुझाएर आउनुभयो । कलेजको वार्षिक अवसरका दिन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आउने कार्यक्रम थियो । 

कलेजबाट 'वेदराज थपलियालाई पाऊँ' भनेर उहाँलाई फोन आयो । उहाँ भान्सामा खाना बनाउँदै हुनुहुन्थ्यो । गीता थपलियाले पुरस्कार पाउनुभएको छ । 'रातो ब्लाउज र कलेजको साडी लगाएर बुबासहित पुरस्कार थाप्न आउनू' भनियो फोनमा । बुबा बितेको कहिले कहिले । उहाँ भावुक पनि हुनुभयो । 

०००
‘रहर छ जिउन मलाई मेरै नामको जिन्दगानी  
स्वीकार छन् झेल्दै जान आफ्नो भागको घामपानी    
डोरिन्थेँ म अरूबाट बिरानो थ्यो घरसम्म  
आफ्नै पाइला टेकी हिँडे बाटो देखें परसम्म’

ब्रिटिस गोर्खा कलेजका सहकर्मी राजेश सरले गीत माग्नुभयो । उहाँले लेखेकै दिन त्यो गीत दिनुभयो । सरले संगीतकारलाई दिनुभएको रहेछ । उहाँले त्यो गीत रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा लिएर जानुभएछ । 

एक दिन यसै काम गर्दै गर्दा उहाँले त्यो गीत रेडियोमा बजेको सुन्नुभयो । शनिबारको दिन घरमा पाहुनाहरू थिए । 

आधा घण्टापछि फोन आयो 'प्रज्ञाप्रतिष्ठानमा आउन सक्नुहुन्छ ?' भनेर । उहाँले 'घरमा पाहुना भएकाले सक्दिनँ' भन्नुभयो । 

श्रीमानले 'केही होला जाऊ, जाऊ' भनेपछि उहाँ जानुभयो । उहाँ पुग्दा केही गीत प्रस्तुत हुन बाँकी रहेछन् । एकछिनपछि शब्दतर्फको उत्कृष्ट गीत घोषणा गर्दा उहाँको उक्त गीत आयो । यो २०६४ सालको सांस्कृतिक संस्थानले आयोजना गरेको देशव्यापी आधुनिक गीत प्रतियोगितको घटना हो । 

०००

त्रिपाठीले ब्रिटिस गोर्खा कलेजमा सहायक प्राध्यापकका रूपमा सन् २००० देखि २०१७ सम्म काम गर्नुभयो । सेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीमा भने उहाँका १७ वर्ष बिते । साउथवेस्टर्न स्टेट कलेजमा ६ वर्ष । हाल भने उहाँ त्रिभुवन विश्वविद्यालय, रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपाली विषयका उपप्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ । 

०००

उहाँको साहित्य यात्रा 'बिरुवा' त्रैमासिकमा गीता थपलियाका नामबाट प्रकाशित 'स्वच्छता' शीर्षकको गीति कविताबाट २०४५ सालमा भएको हो ।  २०६१ सालमा उहाँको पहिलो पुस्तकका रूपमा गीतसंग्रह ‘थुङ्गा : वनफूलका’ प्रकाशन भयो ।

उहाँका ६ वटा समालोचना तथा २ वटा गीतिसंग्रह, २ कवितासंग्रह र एउटा निबन्धसंग्रह प्रकाशन भएका छन् । उहाँका ‘एक्लैएक्लै’ र ‘सारांश’ गीति एल्बम पनि रहेका छन् । 

उहाँका कविताहरू जापान, कोरिया, भारत र अमेरिकाका विभिन्न पुस्तक तथा पत्रिकाहरूमा तिनै देशका भाषामा अनुवादसमेत भई प्रकाशन भएका छन् । 

उहाँका केही कथाहरू पनि प्रकाशन भएका छन् भने अनुवाद गरेका केही भारतीय कविहरू कुँवर नारायण, गुलजारलगायतका कविता/कथा विभिन्न पत्रिकामा प्रकाशन भएका छन् । 

०००

उहाँ नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञसभा सदस्य हुनुहुन्छ । त्यस्तै, नेपाली नारी साहित्यकारहरूको संस्था गुञ्जनको कार्यकारी सदस्य तथा छिन्नलता गीत पुरस्कार गुठीको कार्यकारी सदस्यको रूपमा समेत काम गर्नुभएको छ । 

०००

कानुन विषय अध्ययन गर्नुभएका उद्योग व्यवसायी यादवराज त्रिपाठीसँग उहाँको विवाह २०४६ सालमा भएको हो । त्रिपाठी दम्पत्तीका एक सन्तान समीप एमबीबीएस पढ्दै हुनुहुन्छ ।

०००

उहाँले प्राप्त गरेका पद्मकन्या स्वर्ण पदक, तीर्थप्रसाद ढुंगाना स्मृति पुरस्कार, नानु न्यौपाने स्मृति पुरस्कार, प्रेमचन्द्र-देवकुमारी पुरस्कार, सर्वोत्कृष्ट गीतकार पुरस्कार, हरिहर शास्त्री शैक्षिक पुरस्कार, सूचक पद्मादेवी युवा प्रतिभा पुरस्कार, भानुभक्त निबन्ध पुरस्कार गरी आधा दर्जनभन्दा बढी पुरस्कार रहेका छन् ।