फालेलुङ साहित्यिक सांस्कृतिक महोत्सव : नौ जना ज्येष्ठ नागरिकसहित चार जना वरिष्ठ व्यक्तिहरू सम्मानीत

फालेलुङ साहित्यिक सांस्कृतिक महोत्सव : नौ जना ज्येष्ठ नागरिकसहित चार जना वरिष्ठ व्यक्तिहरू सम्मानीत

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर २५, २०७८


पाँचथर। नौलो साहित्यिक बिहान समाज, नेपालको आयोजना र फालेलुङ गाउँपालिकाको प्रायोजनमा पाँचथरको थोक्लिम्बामा दुई दिने फालेलुङ साहित्यिक सांस्कृतिक महोत्सव–२०७८ भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त महोत्सवको समुद्घाटन गर्दै प्राज्ञ नेपालले प्राकृतिक, सांस्कृतिक, पुरातात्त्विक र मिथकीय दृष्टिले नेपालकै सबैभन्दा बढी लौकिक सम्पदाको भण्डारका रूपमा रहेको फालेलुङ क्षेत्रका विशेषताहरूलाई बाहिर ल्याउनुपर्ने र लिम्बू जातिको उत्पत्ति र विकासका दर्जनौँ मिथकहरूको सङ्कलन गरेर नयाँ पुस्तालाई पढाउनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, पाँचथर जिल्लाको विकट क्षेत्र मानिने फालेलुङ इन्द्रेनी जस्तो नेपाली समाजको एउटा प्रतिबिम्ब हो । यहीँ भारतका दार्जिलिङ र सिक्किमसँग जोडिएको तीन सीमा छ, यहीँ विश्वकै अनौठो मानिने चौँरी महोत्सव हुन्छ र यहाँका प्राचीन कथाहरू साँच्चै अद्भुत छन्, यी सबै कुराको जानकारी विश्वलाई गराउन ढिलो भइसकेको छ । यस महोत्सवले यस क्षेत्रलाई पर्यटनको केन्द्र बनाउनका लागि सहयोग पुग्ने छ ।

 नौलो साहित्यिक बिहान समाज, नेपालका महासचिव प्रेम ओझा संयोजक रहेको यस महोत्सवको पहिलो दिन स्वस्ति वाचनबाट सुरु भएर पञ्चेबाजा, तमु छोर्दी, मगर संस्कृति, बालन, केलाङ नृत्य, येवालाङ (धामीनाच), तामाङ सेलोलगायतका विविध सांस्कृतिक झाँकीहरूको प्रदर्शनी गरिएको थियो । साथै फालेलुङ क्षेत्रका स्रष्टाहरूले लेखेका पाँच ओटा कृतिहरूको विमोचन गर्नुका साथै त्यस क्षेत्रमा जन्मिएर विविध क्षेत्रमा योगदान दिनुहुने चार जना वरिष्ठ व्यक्तिहरू र दुई जना नयाँ प्रतिभाहरूलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनुहुने व्यक्तित्वहरूमा याक्थुम प्रज्ञा–प्रतिष्ठानका कुलपति राजेन्द्र जबेगु, लोकबाजाका संरक्षक तथा अद्भुत प्रस्तोता बिबी केरुङ सुब्बा, स्रष्टाद्वय वीरेन्द्र थोक्लिहाङ ‘वीरेनजी’ र सुरेन शिशिर केरुङ तथा युवा प्रतिभाहरू धनु याङ्मी र स्मिता अधिकारी हुनुहुन्थ्यो । यसरी नै अहिले फोलेलुङ गाउँपालिकामा पर्ने साविक गाविसका पूर्वअध्यक्ष विष्णुराज याक्थुम, मानबहादुर जबेगु, कमलप्रसाद जबेगु, देवमान खत्री, चिदानन्द खतिवडा, धनप्रसाद खत्री, देवीप्रसाद नेपाल, थिरबहादुर माङ्मु र बृजहाङ जबेगु गरी नौ जना ज्येष्ठ नागरिकहरूलाई अभिनन्दन गरिएको थियो भने त्यस क्षेत्रको सामाजिक कार्यमा सक्रिय रहेबापत दीपज्योति युवा क्लबलाई पनि सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा आयोजित बालकविता प्रतियोगितामा फालेलुङ क्षेत्रका आठओटा विद्यालयका सोह्र जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा बिमाया केरुङ प्रथम, ऋतु केरुङ द्वितीय, निरुता गुरागाईं तृतीय र जनक भट्टराई र रेखा बानियाँ सान्त्वना पुरस्कारबाट पुरस्कृत भएका थिए ।

नौलो साहित्यिक बिहान समाज, नेपालका अध्यक्ष खड्ग बोहोराको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्चकुमार केरुङ, उपाध्यक्ष हिमा अधिकारी, प्रमुख कार्यकारी अधिकृत विनोद चौहान, साहित्यकारहरू रविमान लमजेल, डा. देवी क्षेत्री दुलाल, शान्ता गौतम, सावित्री गुरुङ, विद्या निर्दोषी, मधुराज केरुङ आदि विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो । यस अवसरमा राष्ट्रिय कलाकार रमेश सुनुवारको विशेष साङ्गीतिक प्रस्तुति रहेको थियो ।

महोत्सवको दोस्रो दिन बिहान गाउँपालिकाको सभाकक्षमा ‘पर्यटन र साहित्यको अन्तःसम्बन्ध’ विषयक विचारगोष्ठी सम्पन्न भएको थियो । पालिकाकी उपाध्यक्ष हिमा अधिकारीको अध्यक्षता र प्राज्ञ डा. देवी नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विचारगोष्ठीमा गाउँपालिकाका जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय समाजसेवीहरू तथा आमन्त्रित साहित्यकार एवम् कलाकारहरूको उपस्थिति रहेको थियो । यस अवसरमा वीरेन्द्र थोक्लिहाङले ‘फालेलुङका स्रष्टा र सिर्जना’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने विनोद चौहानले फालेलुङको वर्तमान अवस्थाका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा डिल्ली आन्जुम केरुङ, जमुना कटवाल, डा. देवी क्षेत्री दुलाल, विद्दिमान साउदेन विश्वास, राजेन्द्र जबेगु, रविमान लमजेल, मधुराज केरुङ, कृष्ण लावती, सावित्री गुरुङ, जय केरुङ, विद्या निर्दोषी, नरेन्द्र केरुङ, युगलकिशोर केरुङ, करुणा नेपाल, निमा तामाङ र प्रेम ओझाले फालेलुङको पर्यटन विकाससम्बन्धी विभिन्न सम्भावना र चुनौतीका बारेमा र स्रष्टाहरूको भूमिकाका बारेमा आआफ्ना विचार राख्नुभएको थियो । यस अवसरमा प्रमुख अतिथि प्राज्ञ नेपालले गाउँपालिकाले ‘फालेलुङ वाङ्मय परिषद्’ गठन गरी स्थानीय भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र संवर्धनका लागि काम गर्न र नेपाल प्रज्ञा–प्रतिष्ठानसँग अध्ययन अनुसन्धानका क्षेत्रमा सहकार्य गर्न सुझाव दिनुभएको थियो भने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानले तत्काल नीतिनिर्माण गरी ‘फालेलुङ वाङ्मय परिषद्’ गठन गरेर कामको थालनी गरिहाल्ने घोषणासमेत गर्नुभएको थियो ।

सोही दिन दिउँसो बहुभाषिक सांस्कृतिक तथा साहित्यिक कार्यक्रम सम्पन्न भयो । यस अवसरमा राष्ट्रिय तथा स्थानीय स्रष्टाहरूले आआफ्ना सिर्जना वाचन गर्नुभएको थियो भने कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा पवन अधिकारी, राधा गौतम, निराजन निरौला, विमला पुरी, विनोद चौहान, सुनिल आङ्बो, विक्रम पारखी, श्याम नयन आदि कविहरूले कविता र गजलहरू प्रस्तुत गर्नुभएको थियो भने कृष्ण लावती, रमेश सुनुवार, मुना ठटाल, मौसम थाम्सुहाङ, वीरेन्द्र असीमित थाम्सुहाङ, खड्ग बोहोरा, ललिता ठटाल आदि गायकहरूले गीत प्रस्तुत गर्नुभएको थियो । अन्तर्राष्ट्रिय लोककलाकारका रूपमा परिचित बिबी केरुङ सुब्बाको अद्भुत कला प्रस्तुत कार्यक्रमको प्रमुख आकर्षण बन्यो भने युवा कलाकार मिक्तोक जबेगुको हास्यव्यङ्ग्य प्रस्तुति, कवि चन्द्रकला अधिकारीको लिम्बू भाषामा लिखित कविता, विद्या निर्दोषीको समूहबाट प्रस्तुत सँगिनी आदिले कार्यक्रमलाई थप रोचक बनाएका थिए । 

यस अवसरमा आयोजित लोकनृत्य प्रतियोगितामा फालेलुङ क्षेत्रका विभिन्न विद्यालय तथा क्लबहरूका बाह्र ओटा प्रस्तुति रहेको थियो भने अन्त्यमा सम्पूर्ण अतिथि तथा कलाकारहरूलाई आयोजक समिति तथा गाउँपालिकाका तर्फबाट सम्मान गरिएको थियो । हजारौँ स्थानीय जनसमुदायको उपस्थिति रहेको यो महोत्सव फालेलुङको इतिहासमा नै अत्यन्त भव्य, सभ्य र ऐतिहासिक रहेको जानकारी स्रष्टा तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानले दिनुभएको छ ।