'स्यानी’ उपन्यास माथि अन्तरसंवाद

'स्यानी’ उपन्यास माथि अन्तरसंवाद

लोकसंवाद संवाददाता  |  साहित्य  |  मंसिर २६, २०७८

काठमाडौँ । खगराज बरालद्वारा लिखित, साङ्ग्रिला बुक्स प्रा.लि.द्वारा प्रकाशित ‘स्यानी’ उपन्यासका सम्बन्धमा हिजाे (२०७८ मार्ग २५ गते) डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय, लाजिम्पाटमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रमका प्रमुख वक्ता प्राध्यापक डा.जयराय आचार्यले उपन्यासप्रतिको आफ्नो दृष्टिकोण व्यक्त गर्दै भन्नुभयो, ''स्यानी' उपन्यासलाई आत्म उपन्यास हो । उपन्यासको शिल्प पक्ष ज्यादै आक्रर्षक र काव्यमय भएको र करुण रसले भरिपूर्ण भएको बताउनु भयो । उपन्यास पढ्दा कुनै भिडियो वा चलचित्रले गर्ने वर्णन भन्दामाथि शब्दले हृदयभित्रका सूक्ष्म अनुभूतिगम्य विषयलाई सम्प्रेषण भएको महसुस हुन्छ । शब्दद्वारा शब्दातीत अनुभूतिलाई सम्प्रेषण गर्न सक्नु लेखकीय क्षमताको चमत्कार हो भन्दै प्रा. डा. आचार्यले उपन्यासमा बाल्यकालका घटना, ग्रामीण परिवेशको चित्रण, अनेकानेक चाडपर्वको अति सजीव वर्णन पाइन्छ ।' 

 कार्यक्रमका अर्का वक्ता डा. चन्द्रकला घिमिरेले उपन्यास पहाडी हिन्दु समुदायको चालचलन, विश्वास, प्रचलन, रीति संस्कृति, चाडपर्व, लोक संस्कारका लागि एउटा विश्वविद्यालय नै भएको उल्लेख गर्दै बिर्सदै गएका वर्तमान आधुनिक पुस्ताले कालान्तरमा यी विषयवस्तु अध्ययन गर्ने बताउनु भयो । कार्यक्रममा उपन्यासकार बरालले वैयक्तिक अनुभव र भोगाइलाई औपन्यासिकता दिएर नयाँ प्रयोग गरेको बताउनु भयो । उपन्यासको शैलीबाट आफू निकै प्रभावित भएको उल्लेख गर्दै आफूलाई थोरै उपन्यासले मात्र मन छोएका र यस्तो उपन्यासमा ‘स्यानी’ परेको उल्लेख गर्नुभयो ।

उपन्यासका लेखक खगराज बरालले उपन्यास आफ्नो बाल्यकालको अनुभूति र आमाको वियोगको सम्मिश्रण भएको व्यक्त गर्नुभयो । आफ्नो गाउँको परिवेशमा प्रचलनमा रहेका भाषा, चाडपर्व, रीतिरिवाज, भजन, लोकगीत, विश्वास, आस्थालाई भावी पुस्ताले पनि स्मरण गरुन् भनी आफूले उपन्यास लेखेको र उपन्यास लेखेपछि आफूलाई मातृ वियोगको पीडाबाट केही मात्रमा भए पनि मुक्त भएको उल्लेख गर्नुभयो ।

पाठकका तर्फबाट आफ्नो विचार राख्दै नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक कमल सिंह बमले उपन्यासमा प्रयुक्त भाषा र आञ्चालिकताले आफूलाई निकै आकर्षण गरेको बताउनुभयो । चिरञ्जीवी बरालले सञ्चालन गर्नुभएको यस कार्यक्रममा ‘स्यानी’ उपन्यासको समीक्षापश्चात अन्तरसंवाद कार्यक्रम सञ्चालन गरिएको थियो ।