चाइनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एच डी १ मा प्रसारण हुँदै

चाइनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एच डी १ मा प्रसारण हुँदै

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर २६, २०७८

चाइनिज सुपर लिग फुटबलको प्लेअफदेखिका खेलहरूको नेपालमा प्रत्यक्ष प्रसारणको अधिकार एक्सन स्पोर्ट्स एच डी १ लिएको छ । यस सिजनको चाइनिज सुपर लिगअन्तर्गत २६ मंसिर आइतबारदेखि सुरु हुने प्लेअफका खेलहरू एक्सन स्पोर्ट्स एच डी १ मा प्रत्यक्ष प्रसारण हुनेछन् ।

पहिले चाइनिज जिया ए लिगको नाममा हुने यो लिग सन् २००४ देखि चाइनिज फुटबल एसोसिएसन सुपर लिग वा छोटकरीमा चाइनिज सुपर लिग (सीएसएल)को नामबाट सुरु भएको थियो । चाइनिज सुपर लिगको यस सिजनमा कुल १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् । 

चाइजिन सुपर लिगलाई दर्शकहरूका लागि मात्र नभई अहिले विश्व प्रसिद्ध खेलाडीहरूका लागि पनि आकर्षक लिगका रूपमा लिइन्छ । यस लिगको जारी सिजनमा ब्राजिलियन खेलाडी ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन जस्ता विश्वस्तरीय खेलाडीहरू विभिन्न क्लबहरूबाट प्रतिस्पर्धा गर्दै छन् ।

ला लिगा, एफ ए कपको नेपालमा आधिकारिक प्रसारण गरिरहेको एक मात्र नेपाली स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्सले आफ्नो एच डी १ र एच डी २ च्यालनमार्फत बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरू प्रसारण गरिरहेको छ ।