'भावी पुस्ताले भरोसा गर्ने गतिशील कांग्रेस बनाउन भोट हाल्नुहोस्'

'भावी पुस्ताले भरोसा गर्ने गतिशील कांग्रेस बनाउन भोट हाल्नुहोस्'

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २७, २०७८

नेपाली कांग्रेसका युवा नेता गगन थापाले भावी पुस्ताले भरोसा गर्ने गतिशील कांग्रेस बनाउन विवेकपूर्ण निर्णय गर्न अपिल गरेका छन् ।

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको एक घन्टापछि नेता थापाले ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ बनाउने संकल्प पूरा गर्न पार्टी पुनर्जागरण र रूपान्तरणको अभियानमा साथ, सहयोग र विवेकपूर्ण निर्णय गर्न अपिल गरेका हुन् ।

‘नेपाली कांग्रेसलाई कस्तो बनाउने र कस्तो नेतृत्व छनोट गर्ने भन्ने दूरगामी महत्त्वको क्षणमा हामी छौँ । हाम्रो पार्टीको गौरवशाली विगतबाट प्रेरणा लिँदै भावी पुस्ताले भरोसा गर्ने आधुनिक एवं गतिशील कांग्रेस बनाउन हामीले यो महाधिवेशनबाट नयाँ यात्रा थाल्नु छ । यसका लागि पार्टीको विचार, कार्यक्रम र नेतृत्वमा नयाँपन चाहिएको छ । ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ बनाउने हाम्रो संकल्प पूरा गर्न पार्टी पुनर्जागरण र रूपान्तरणको अभियानमा हामीलाई साथ सहयोग र विवेकपूर्ण निर्णय गर्न हार्दिक अपिल गर्दछु’, थापाले सामाजिक संजालमा लेखेका छन् ।

थापा कांग्रेस महामन्त्रीको उम्मेदवार हुन् । उनी डा. शेखर कोइराला प्यानलमार्फत चुनावी मैदानमा छन् ।