कमल थापाको लिङ्देनलाई ३ पृष्ठ लामो पत्र : सधैं दललाई तर्साउने राजसंस्था भूत कि वर्तमान !

लोकसंवाद टिप्पणी

कमल थापाको  लिङ्देनलाई ३ पृष्ठ लामो पत्र : सधैं दललाई तर्साउने राजसंस्था भूत कि वर्तमान !

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २८, २०७८

नेपालमा राजतन्त्र औपचारिक रुपमा समाप्त भएको डेढ दशक पुग्न लागिसक्यो । १५ जेठ, २०६५ मा बसेको संविधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारित गरेपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले नारायणहिटी छाडेर निर्मल निवास सरेका थिए । ज्ञानेन्द्र शाहले गद्दी छाडेर हिँडिसके पनि दलहरुलाई भने राजा अझै त्रासको विषय बनेका छन् । 

नेपालमा २०६२/६३ को जनआन्दोलनपछि संवैधानिक राजतन्त्र समेत समाप्त भयो र जनताका छोराछोरी राष्ट्रप्रमुख बन्ने अवस्था सिर्जना भयो । सिंगो देश गणतन्त्रमय बनेका बेला राजसंस्थाको वकालत गर्ने व्यक्ति थिए, कमल थापा । उनी राजाको प्रत्यक्ष शासनकालमा गृहमन्त्री थिए । त्यसैले जनआन्दोलन दबाउन भूमिका खेल्ने व्यक्ति कमल थापा पनि थिए ।

उनले राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा निरन्तर वकालत गरे र २०७० को संविधानसभा निर्वाचनमा ठूलो जनमत पाए । उनी नेतृत्वको राप्रपा नेपालले २०७० को निर्वाचनमा समानुपातिकतर्फ २४ सिट जितेको थियो । तर २०७४ मा राप्रपाबाट राजेन्द्र लिङ्देनले मात्रै चुनाव जिते । उनै लिङ्देन हालै भएको पार्टीको एकता महाधिवेशनबाट पार्टी अध्यक्षमा निर्वाचित भएपछि थापा भने निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई हराएको भन्दै अब राजसंस्था बोकेर हिँड्ने नैतिक धरातल सकिएको बताउन थालेका छन् । उनी पार्टी अध्यक्षमा पराजित भएपछि लगातार पूर्वराजा र उनको परिवारविरुद्ध खनिदै आएका छन् । यतिसम्म कि उनले आफू पराजित भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह र हिमानी शाहको ‘फेक ट्विटर एकाउन्ट’ लाई समेत मेन्सन गरेर आक्रोश पोखेका थिए । 

लिङ्देनलाई ३ पृष्ठ लामो पत्र

पार्टी अध्यक्षमा पराजित भएपछि थापा नयाँ कार्यसमितिको शपथग्रहणमा समेत सहभागी भएनन् । त्यसपछिको पहिलो केन्द्रीय समिति बैठकमा पनि उनी गएनन् ।  निर्मल निवासको हस्तक्षेपले आफू पराजित भएको बताउँदै आएका थापाले सोमबार अध्यक्ष राजेन्द्र लिङ्देनलाई ३ पृष्ठ लामो पत्र लेखेका छन् । पत्रमा उनले पूर्वराजा र निर्मल निवासमाथि पार्टीले छानविन गर्नुपर्ने माग गरेका छन् । थापाको तीन पृष्ठ लामो पत्रमा राजसंस्थाको हस्तक्षेपको भत्र्सना गरिएको छ ।

 उनले अध्यक्ष लिङ्देनलाई लेखेको पत्रमा भनिएको छ, ‘राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउने चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस सुरु गर्नुहोस् ।’ उनी त्यतिमा मात्रै रोकिदैनन् पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने राजालाई बोकेर हिँड्ने नैतिक धरातल समाप्त भएको समेत उल्लेख गरेका छन् । ‘पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको पछिल्लो कारबाहीले मेरो मूल्य मान्यताको आधार र धरोहर एकैपटक तहसनहस भएको छ । राजा बोकेर हिँड्ने राप्रपाको नैतिक धरातल समाप्त भएको छ’, पत्रमा भनिएको छ, ‘निर्मल निवासको अगाडि अब कोही पनि सुरक्षित छैन । तपाई पनि हुनुहुन्न ।’ लामो समयदेखि राजसंस्थाको पक्षमा खुला रुपमा वकालत गर्दै आएका थापा एकाएक पूर्वराजाको विरोधमा उभिएका हुन् । 

 

दलमा नेतामा राजाको हाउगुजी

नेपालमा राजसंस्था अब इतिहास बनिसकेको छ । तर नेपाली राजनीतिक दलहरुलाई भने यसको भूतले तर्साउन छाडेको छैन । नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा राप्रपा अध्यक्ष कमल थापाले कोही नेता जनताकोमा गएमा कुन नेता आएछ भन्दा पनि कुन ‘चोर’ आएछ भन्ने ठान्न थालेको भन्दै नेताहरुले जनताको विश्वास गुमेको बताए । उनले यो सिलसिलासँगै नेपालमा राजसंस्था र हिन्दू राष्ट्र बनाउनुपर्ने तथा जनताबाट निर्वाचित प्रधानमन्त्री हुनुपर्ने बताए । त्यसलगत्तै बोलेका पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्रको कुनै भविष्य नरहेको भन्दै नयाँ पार्टी खोल्न पूर्वराजालाई चुनौती दिए । 

सबैभन्दा रोचक त माओवादी अध्यक्ष प्रचण्डको भाषणमा देखियो । गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री समेत रहेका उनले राजसंस्थालाई फर्काउने नियतका साथ राजाको कुरा उठाएर नेताहरुलाई ‘चोर’ भन्न खोजेको भन्दै उनले यो साँचो नभएको बताए । तर उनले भाषणमा ‘जनताले हामीलाई चोर नै भन्छन् त ?’ भन्दै प्रश्न गरे । ठूलो मात्रामा रहेका कांग्रेस कार्यकर्ता र उपस्थितले ‘हो’ भन्दै हुटिङ गरेपछि प्रचण्डले हातले इशारा गर्दै ‘होइन’ भने । यो विषय सामाजिक सञ्जालमा समेत चर्चित बनेका छ ।

नेपालमा फेरि राजसंस्था फर्किन्छ या फर्किदैन भन्ने तपसिलको कुरा हो । तर नेपालमा गणतन्त्रका १५ वर्षसम्म जनतालाई सुशासन, विकास दिन नसकेका नेता र राजनीतिक दलले राष्ट्रियताका सन्दर्भमा पनि प्रष्ट अडान राख्न सकिरहेका छैनन् । त्यसैले राजनीतिक दलका नेताहरुमाथि जनतामा निराशा र बितृष्णा बढ्दै गएको छ । ठूला राजनीतिक दलका नेताहरु भने आफूलाई महान् ठान्छन् र यो कुरा स्वीकार गर्न तयार छैनन् । उनीहरु बाहिर बोलीमा मात्रै होइन व्यवहारमै कुनै न कुनै रुपमा राजसंस्था फर्किन सक्छ कि भनेर भयवित हुने गरेका छन् । तर जनतालाई विकास, सुशासन, राष्ट्रियताको पक्षमा बलियो वकालत गर्ने हो भने परिवर्तनको पक्षमा कायम राख्न सकिन्छ भन्नेतिर भने ध्यान दिएको देखिदैन । 

सम्भव छ राजतन्त्र ?

राजतन्त्र फर्किन्छ वा फर्किदैन भन्ने सन्दर्भमा नेपालमा आफू अनुकूल ब्याख्याहरु हुने गरेको पाइन्छ । राजसंस्थाको पक्षधरहरु कुनै आधार र कारण बिना नै राजसंस्था फर्किने दाबी गर्छन् भने राजसंस्थाको विपक्षमा रहेका शक्तिहरु जनताका विकासका आकांक्षाहरु संबोधन गरेर र विकास समृद्धिको दिशामा अघि बढेर राजतन्त्र आउने सम्भावनाका सबै ढोका बन्द गर्न सकिन्छ भन्नेमा विश्वस्त देखिदैनन् ।

‘राजसंस्था र हिन्दू राष्ट्र’ को माग गर्दै गत राजधानी काठमाडौंसहित देशका विभिन्न भागहरूमा प्रदर्शन भएका थिए । राजसंस्थाको मागकै आधारमा जनताहरु प्रदर्शनका लागि तयार हुने अवस्था देखिदैन । तर नेपालमा बढ्दो भ्रष्टाचार, राजनीतिक प्रयोग असफल हुनु र देशको सार्वभौमसत्तामाथि विभिन्न किसिमका सम्झौता देखा पर्नुले पनि राजसंस्था पक्षधरमा आत्मविश्वास बढेको देखिन्छ । अहिलेको सरकार प्रतिको असन्तुष्टि र आक्रोशलाई फाइदा लिन केही व्यक्तिहरु राजसंस्थाको वकालत गर्दै हिँडेको पाइन्छ । असन्तुष्टिबाट व्यवस्था परिवर्तन सम्भव हुँदैन । त्यसका लागि योजनाबद्ध र सुसंगठित प्रयासको आवश्यकता पर्छ । नेपालमा पछिल्लो समयमा भने राजसंस्थाको पक्षमा रहेकाहरु नै विभाजित अवस्थामा देखिएका छन् । राजसंस्थाप्रति कमल थापाको अभिव्यक्ति त्यस्तै विभाजित मानसिकता र हारको पीडा अभिव्यक्त भएको मात्रै हो ।