इतर समूहको आत्मघाती गोल : २७३३ मत ल्याइ कांग्रेस सभापतिमा देउवा विजयी

लोकसंवाद टिप्पणी

इतर समूहको आत्मघाती गोल : २७३३ मत ल्याइ कांग्रेस सभापतिमा देउवा विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २९, २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट शेरबहादुर शेरबहादुर देउवाले २७३३ मत प्राप्त गरी  विजयी भएका छन् । देउवाका निकटतम प्रतिद्वन्द्वी डा.शेखर कोइरालाले १८५५ मत प्राप्त गर्नुभयो । दोस्रो चरणको निर्वाचनमा ४६२३ मत खसेकोमा ३५ बदर समेत भएको छ । 

राजनीतिमा दृश्य भन्दा अदृश्य परिघटनाले निर्णायक अर्थ राख्छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पनि यस्तै देखिएको छ । नेपाली काङ्ग्रेसभित्र शेरबहादुर देउवाको नेतृत्वविरुद्ध रामचन्द्र पौडेल समूहले लामो समयदेखि आवाज उठाउँदै आएको थियो । काँग्रेसका युवा नेताहरुले केही वर्षदेखि नै नेतृत्व परिवर्तनको आवाज उठाउँदै आएका थिए । देउवा इतरका धेरैजसो नेताहरुले देउवाका कारण पार्टीले निर्वाचनमा पराजित भएको, जनमत घटेको, पार्टीको विश्वसनीयता घटाएको जस्ता आरोप लगाउँदै देउवाबाट पार्टी नचल्ने उनीहरूको दाबी थियो । तर युवा नेताहरूको यो अभियानका बाबजुद कांग्रेसमा नेतृत्व परिवर्तन हुन सकेन र नेतृत्व निरन्तरताकै पक्षमा महाधिवेशन प्रतिनिधिहरूले मत जाहेर गरेका छन् । सभापति देउवाको नेतृत्व अस्वीकार गर्ने नेताहरू नै अन्ततः देउवाको वरिपरि पुगेका छन् । यसले राजनीतिमा भनाई र गराइबिचको अन्तर देखाउँछ । 

सभापतिका लागि पहिलो चरणको मतदान भइरहँदा समेत प्रकाशमान सिंह र विमलेन्द्र निधि देउवाको नेतृत्वबाट पार्टी अघि नबढ्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए । तर मंगलबार पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले निर्वाचित हुन आवश्यक बहुमत नल्याएपछि एकाएक सिंह र निधिको धारणा फेरियो । नेतृत्व परिवर्तनको विकल्प नभएको बताउँने उनीहरू अन्ततः यु–टर्न हुँदै देउवालाई नै सहयोग गर्ने निष्कर्षमा पुगे । त्यति मात्रै होइन कल्याण गुरुङ समेत देउवाकै पक्षमा उभिएका कारण  देउवालाई सभापति जित्न सहज भएको हो । 

देउवा इतर समूहको दोस्रो आत्मघाती गोल

कांग्रेसको १२औँ महाधिवेशनमा सभापतिमा सुशील कोइरालासँग शेरबहादुर देउवा पराजित भएका थिए । १३औँ महाधिवेशनमा पनि रामचन्द्र पौडेल समूह एक ढिक्का भएको भए देउवाले सभापति जित्न सक्ने अवस्था थिए । त्यस बेला सुशील कोइरालाको निधनपछि कार्य बाहक सभापति समेत रहेका पौडेललाई कृष्ण सिटौलाले साथ दिएनन् । उनी आफैँ सभापतिमा उम्मेदवार बने । पहिलो चरणमा देउवाले सबैभन्दा बढी मत ल्याए पनि सभापतिमा निर्वाचित भएनन् । दोस्रो चरणको मतदानमा सिटौलाले देउवालाई साथ दिएपछि रामचन्द्र पौडेल सभापति बन्न पाएनन् । 

यस पटक भने कांग्रेसको अहिलेको पुस्तामा निष्ठाको राजनीति गर्ने व्यक्तिको रुपमा पहिचान बनाएका पौडेल उम्मेदवार नै बन्न पाएनन् । पौडेल समूहबाट उनीसहित डा.शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंह प्रतिस्पर्धामा थिए । डा.शशांकले पौडेललाई सभापति बनाउन समर्थन गरे पनि शेखर कोइराला र प्रकाशमान सिंहले आफैँ सभापतिको उम्मेदवार बन्ने भन्दै पौडेललाई सहयोग गरेनन् । जसका कारण लामो निष्ठाको राजनीति गरेका पौडेल राजनीतिक जीवनको उत्तरार्धका समयमा एक्लिएका छन् भने पौडेल समूह नै छिन्न भिन्न भएका छ ।

पौडेल समूहमा रहेका प्रकाशमान सिंह देउवातिर लागेका छन् भने शेखर कोइरालाले सभापतिका पराजित भएमा पनि आफ्नो टिमलाई कसरी अघि लैजान्छन् भन्ने प्रश्न खडा भएको छ । यस पटक देउवा समूहबाट अलग भएर विमलेन्द्र निधि आफैँ सभापतिको उम्मेदवार बनेका थिए । उनले सोमबार मात्रै पनि पहिलो चरणमा कसैको बहुमत नआउने र दोस्रो चरणमा शेरबहादुर देउवाविरुद्ध मोर्चा बन्दी गर्ने बताएका थिए । तर परिणाम भने त्यसको ठिक उल्टो देखिएको छ । यदि यो महाधिवेशनमा पनि सिटौला देउवा समूहमा उभिए पनि बाँकी सबै एक भएको भए शेरबहादुर देउवालाई सभापति जित्न कठिन नै थियो । तर पौडेल समूहका नेताको आत्मघाती गोलका कारण फेरि पनि देउवालाई नेतृत्वमा फर्किन सहज भएको छ । 

लेनदेनमा सहमति

प्रधानमन्त्री समेत रहेका सत्ता राजनीतिका खेलाडी शेरबहादुर देउवाले आफ्नो विरोध गरिरहेका सिंह र निधिलाई मिलाएपछि उनी फेरि सभापति  निर्वाचित भएका छन् । तर देउवाबाट पार्टी नचल्ने सार्वजनिक अभिव्यक्ति दिने तहमा पुगेका नेताहरू कसरी एकाएक देउवाको साथमा देखिए भन्ने कुरा चैँ आश्चर्य लाग्दो छ । देउवाले निधि र सिंहलाई आफ्नो पक्षमा ल्याउन लेनदेनकै सहमति गरेको आरोप लागेको छ ।

यद्यपि प्रकाशमान सिंहको सचिवालयले देउवालाई निशर्त सघाएको दाबी गरेको छ । दोस्रो चरणको निर्वाचन हुने देखिएसँगै देउवा समूह पराजित सिंह र निधिसँग संवादमा जुटिसकेको थियो । त्यसको केही समयमा नै देउवा आफैँ सिंह र निधिको घरमा गएर सहयोग मागेपछि दुवै नेताहरुले देउवालाई साथ दिने सार्वजनिक घोषणा गरे । स्रोतका अनुसार देउवाले सिंहलाई उपप्रधानसहित अर्को कुनै मन्त्रालय दिने सम्झौता गरेको बताइएको छ । त्यसका लागि गृह मन्त्रालय वा अहिले खाली रहेको उद्योग वाणिज्य मन्त्रालय दिने गरी सहमति गरेको बताइएको छ। 

सिंहलाई सरकारमा समेटेपछि विधान संशोधन गरेर महिला उपसभापतिको व्यवस्था गरी सुजाता कोइरालालाई उपसभापति बनाउने र विश्वप्रकाश शर्मालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने आन्तरिक सहमति भएको बताइएको छ । यो महाधिवेशनमा काँग्रेसका लामो लिगेसी भएका गिरिजा प्रसाद पुत्री सुजातता कोइराला र विपी पुत्र शशांक कोइरालाले आफ्नै परिवारका सदस्य शेखर कोइरालालाई सभापतिमा सहयोग गरेनन्। दुवै जना यस पटक देउवा क्याम्पमा पुगेका छन् । यसबाट कोइराला परिवारमा समेत फुट आएको छ भने लामो विरासत बोकेका नेताहरू कमजोर देखिएका छन् । 

यसैगरी देउवासँग विद्रोह गरेका निधिले दोस्रो चरणमा देउवालाई नसघाउने सार्वजनिक रुपमा बनाएका थिए । तर दोस्रो चरणको निर्वाचनमा आग्रह उनले टार्न सकेनन् । यसबाट देउवा एकपछि नेपाली राजनीतिको केन्द्रमा फर्किन सफल भएका छन् । देउवाले निधिलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने, प्रदेश २ मा निधिनिकट रामसरोज यादवलाई सभापति बनाउन देउवा तयार देखिएका छन् । जसले गर्दा उनी महाधिवेशनमा पासा पल्टाउन सफल भएका छन् ।