३० अर्ब निक्षेप घट्दा ५९ अर्ब कर्जा बढ्यो

३० अर्ब निक्षेप घट्दा ५९ अर्ब कर्जा बढ्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर २९, २०७८

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप घटे पनि कर्जा लगानीमा भने आक्रामक देखिएका छन् । बैंकहरूको निक्षेप संकलन र कर्जा लगानीबीच असन्तुलनले बजारमा तरलताको संकट बढ्दै गएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार २०७८ कात्तिकमा बैंकहरूको निक्षेप ३० अर्ब रुपैयाँले घटेको छ । २०७८ असोजसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४८ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप रहेकामा कात्तिकमा ४८ खर्ब ४ अर्ब रुपैयाँमा झरेको छ । 

बैंकहरूको निक्षेप घट्दै गए  पनि कर्जा लगानीमा भने आक्रामक छन् । २०७८ असोजको तुलनामा २०७८ कात्तिकमा बैंकहरूको कर्जा ५९ अर्बले वृद्धि भई ४५ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ । 

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिबाट बैंकहरूले निक्षेप संकलनको आधारमा मात्र कर्जा लगानी गर्नुपर्ने गरी कर्जा-निक्षेप (सीडी) रेसियो लागू गरेको छ ।

बैंकहरूले पुँजीबाट कर्जा लगानी गर्न नपाएपछि बैंकहरूको सीडी रेसियो ९२ प्रतिशत पुगेको छ, जबकि बैंकहरूले सीडी रेसियो ९० प्रतिशतभित्र राख्नुपर्ने व्यवस्था छ ।

रेमिट्यान्स आप्रवाह नकारात्मक र बैंकको अधिकांश कर्जा आयातका लागि प्रयोग भएपछि निक्षेप बढ्न सकेको छैन ।