श्रीलंकाविरुद्ध आधा दर्जन गोल गर्दै नेपाल शीर्ष स्थानमा

श्रीलंकाविरुद्ध आधा दर्जन गोल गर्दै नेपाल शीर्ष स्थानमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर २९, २०७८

श्रीलंकाविरुद्ध आधा दर्जन गोल गर्दै नेपालले यू- १९ महिला साफ च्याम्पियनसिपमा पहिलो जीत निकालेको छ । बुधबार बंगलादेशको राजधानी ढाकामा भएको खेलमा नेपालले कमजोर रहेको श्रीलंकालाई ६-० अन्तरले पराजित गरेको हो ।

श्रीलंकाविरुद्ध पहिलो हाफमा ३ गोल गरेको नेपालले दोस्रो हाफमा थप ३ गोल थपेकाे हाे । नेपालको पहिलो जीतमा फरवार्ड रश्मिकुमारी घिसिङले २ गोल गरिन् । यस्तै, सविता राना मगर, रजनी थोकर, मेनुका आले मगर र सलोनी राना मगरले १-१ गोल गरे ।

खेलको ५ मिनेटै रश्मिले नेपाललाई सुरुवाती अग्रता दिलाइन् । त्यसको एक मिनेट बित्न नपाउँदै सविता राना मगरले दोहोरो अग्रता बनाइन् । मेनुका आले मगरले ४३ मिनेटमा गोल गर्दा पहिलो हाफमा नेपालले ३-० को अग्रता बनायो ।

दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमै फरवार्ड रजनी थोकरले नेपाललाई ४-० को स्थितिमा पुर्‍याइन् भने सलोनी राना मगरले ५३औँ मिनेटमा छैटौँ गोल गरिन् । खेलको ८५ मिनेटमा रश्मिले फ्रि किकमा गोल गर्दै नेपाललाई ६-० अन्तरको जीत दिलाइन् ।

नेपालले सुरुवाती मिनेटबाटै श्रीलंकालाई दबाबमा राखेको थियो । अधिकांश समय श्रीलंकाको बक्समा बल राखेको नेपालले केही राम्रो अवसरसमेत गुमाएको थियो ।

जीतसँगै नेपालले आफ्नो उपाधि यात्रालाई निरन्तरता दिएको छ । यसअघि नेपाल पहिलो खेलमा आयोजक बंगलोदशसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

जीतसँगै नेपाल २ खेलबाट ४ अंक बनाउँदै शीर्षस्थानमा उक्लिएको छ । आयोजक बंगलादेश समान ४ अंक भए पनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो ।

पराजित श्रीलंका भने एक खेलअघि नै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । उसले ३ खेलबाट कुनै पनि अंक जोड्न सकेको छैन र १६ गोल बेहाेरेको छ ।

यता, एक खेलबाट ३ अंक जोडेको भारत तेस्रो स्थानमा रहँदा खेलबाट ३ अंक बनाएको भुटान चौथो स्थानमा छ । श्रीलंका भने पुछारमा छ ।

अब, नेपालले प्रतियोगिताको आफ्नो तेस्रो खेलमा शुक्रबार भुटानको सामना गर्नेछ ।