तीन जिल्लका २२ जनालाई च्याब्रुङ बाजा बजाउने तालिम

तीन जिल्लका २२ जनालाई च्याब्रुङ बाजा बजाउने तालिम

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  पुष १, २०७८

पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथर फिदिममा  किरात लिम्बू समुदायमा बजाइने लोकबाजा च्याब्रुङ (केलाङ) बजाउने तालिम सम्पन्न भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, सङ्गीत विभागको आयोजना र किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथर को व्यवस्थापनमा प्रदेश नं. १ स्तरीय लोकबाजा च्याब्रुङ (केलाङ) बजाउने तालिम सम्पन्न भएको हो ।

फिदिमस्थित वरदान सङ्गीतालयमा लिम्बू जातिको परम्परागत मौलिक लोकबाजा च्याब्रुङ (केलाङ) बजाउने दुई हप्ते सैद्धान्तिक तथा प्रयोगात्मक तालिम मङ्सिर १२ गते देखि २६ गतेसम्म सञ्चालन भएको थियो । उक्त तालिम कार्यक्रममा ताप्लेजुङ, पाँचथर , तेह्रथुम लगायतका जिल्लाबाट २२ जनाले तालिम लिएका थिए । तालिम कार्यक्रम हरेक दिन दुई चरण गरी ७/७ घण्टा सञ्चालन गरिएको थियो ।

‘मैले बर्सौँ च्याब्रुङ बजाएँ, नाचेँ तर यसबारे सैद्धान्तिक ज्ञान भने केही पनि थाहा पाएको रहेनछु । यो तालिमबाट मैले धेरै कुरा सिकेँ । पहिले बजाएको त अव्यवस्थित र अवैज्ञानिक पो रहेछ ।’ तालिममा सहभागी ताप्लेजुङका के.बी. किराँतीले सुनाए । यस्तै तालिममा सहभागी तेह्रथुमकी समीक्षा थेगुवाले भनिन्, ‘हामीले सही तरिकाले च्याब्रुङ बजाउनु, नाच्नु मात्र होइन यसको उत्पत्ति र महत्त्वदेखि बनाउने तरिका समेत जान्यौँ । तालिमबाट धेरै फाइदा भयो ।’

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, सङ्गीत विभागका प्रमुख प्राज्ञ अशोक राईको प्रत्यक्ष निगरानीमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख प्रशिक्षकहरूमा यासेली योङहाङ र वरदान सङ्गीतालयका प्रमुख बुद्ध लिम्बू इङ्वा रहेका थिए । उक्त तालिमको सङ्घीय सांसद तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ, प्राज्ञ सभा सदस्य भूमिका सुब्बा, किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्बापो, सङ्गीतज्ञ शिलाबहादुर मोक्तान तथा प्रसिद्ध गायिका कुन्ती मोक्तान लगायत विशिष्ट व्यक्तित्वहरूले हरेक दिनको तालिमको अवलोकन तथा अनुगमन गरेका थिए । पूर्व मन्त्री नेम्बाङले तालिम अत्यन्त उपयोगी लागेको बताए ।  

तालिममा कार्यक्रममा घटिका थेबे, समीक्षा लिम्बू, जुनु तुम्बापो, सुम्जिरी तुम्बापो, देबुबहादुर सावा, प्रभा मेयोङ्वा, उदय नेम्वाङ, के.बी. किराती, कर्मचन्द्र नेम्बाङ, मन्दिरा मेयोङ्वा, महेश सेलिङ, मिराकहाङ लिम्बू, महेन्द्रकुमार तुम्बापो, चन्द्रप्रकाश तुम्बापो, सेसेमा सुहाङ, तारा लिङ्देन, सम्झना योङहाङ, सुखराज लिम्बू, ज्योति बेघा, सुरेन्द्र सुहाङ, वीरेन्द्र लिम्बू माबो तथा लाजोहाङ लिम्बू सहभागीता रहेको थियो ।