'नोट अफ डिसेन्ट'का बाबजुद चार क्रिकेटर कारबाही: प्रतियोगिताअघि कच्चा कप्तानीको जिम्मेवारी !

लोकसंवाद टिप्पणी

'नोट अफ डिसेन्ट'का बाबजुद चार क्रिकेटर कारबाही: प्रतियोगिताअघि कच्चा कप्तानीको जिम्मेवारी !

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष १, २०७८

नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान ज्ञानेन्द्र मल्लसहित चार क्रिकेटरलाई कारबाही गरेपछि नेपाली क्रिकेटमा पुनः अस्थिरता सुरु हुने खतरा देखिएको छ। क्यानले कप्तान मल्लसहित उपकप्तान दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेको हो । गत वर्षको कात्तिकमा मात्रै पारस खड्काले राजीनामा दिएपछि उपकप्तान मल्लले कप्तानीको जिम्मेवारी पाएका थिए ।

तर उनलाई १३ महिनापछि नै अपमानजनक रुपमा कप्तानबाट हटाइएको हो । उनीसहित उपकप्तान दिपेन्द्रसिंह ऐरी पनि पदमुक्त भएका छन् । ज्ञानेन्द्र र दिपेन्द्रका तथा सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को ६ महिनासम्म सेन्ट्रल कन्ट्रयाक्टबाहिर राख्ने निर्णय क्यानले गरेको हो । यो निर्णयसँगै उनीहरु जनवरीदेखि मे महिनासम्म पारिश्रमिकबाट वञ्चित हुनेछन् । उनीहरुमाथि आचारसंहित उल्लंघनको आरोप लगाइएको छ ।

के हो विवाद ?

गत असोजमा बसेको क्यानको बोर्ड बैठकले पुरुष तथा महिला क्रिकेट खेलाडीको ग्रेडिङ पारित गरेको थियो । राजुबाबु श्रेष्ठको संयोजकत्वमा गठन भएको समितिले २०२१ को अप्रिलदेखि डिसेम्बरसम्मका लागि वर्गीकरण गरेको थियो । क्यानले श्रेणीअनुसार खेलाडीलाई पारिश्रमिक दिन्छ । ए श्रेणीका पुरुष खेलाडीले मासिक ५० हजार, बी श्रेणीका खेलाडीले मासिक ४० हजार र सी श्रेणीका खेलाडीले मासिक ३० हजार रुपैयाँ पारिश्रमिक पाउँछन् । 

अन्तर्राष्ट्रिय खेल क्षेत्रमा नेपालका लागि क्रिकेट सफलता दिलाउने खेल हो । तर त्यसबेलाका निलम्बनले नेपाली क्रिकेटले जति फड्को मार्नुपर्ने थियो, त्यो हुन सकेन । आईसीसीकै प्रत्यक्ष संलग्नतामा २०७६ को असोज १० र ११ गते काठमाडौंमा क्यानको निर्वाचन भएर चतुरबहादुर चन्दको नेतृत्वमा कार्यसमिति बनेपछि क्यानको निलम्बन फुकुवा भएको थियो । 

क्यानको वर्गीकरणपछि खेलाडीहरुलाई नयाँ सम्झौतामा हस्ताक्षर गर्न बोलाइएको थियो । तर, यो वर्गीकरणप्रति केही खेलाडीहरु असन्तुष्ट बनेका थिए । क्यानले राष्ट्रिय टिमका बलर सोमपाल कामीलाई बी श्रेणीमा राखेको थियो । कमलसिंह ऐरीलाई भने सी श्रेणीमा राखिएको थियो । राष्ट्रिय टिमका सदस्य रोहितकुमार पौडेल र युवा बलर गुल्सन झा वर्गीकरणमै अटाएनन् । जसका कारण कामीले वर्गीकरणमा असन्तुष्टि जनाउँदै सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । खेलाडी वर्गीकरणप्रति कप्तान मल्ल र उपकप्तान ऐरीले सञ्चारमाध्यममा असन्तुष्टि जनाएका थिए । सो विषयमा क्यानले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीको निर्णय गरेको हो । 

नेपालले निकट भविष्यमा आगामी वर्ष हुने टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायर र आईसीसी विश्व क्रिकेट लिग टुमा पनि प्रतिस्पर्धा गर्दैछ । त्यसैका लागि पुबुदु दासानायकेलाई नयाँ प्रशिक्षक नियुक्त समेत गरिसकेको छ । तर महत्त्वपूर्ण प्रतियोगिताअघि खेलाडीमाथि क्यानले गरेको कारबाहीले खेलाडीको मनोबल गिराउनुका साथै क्रिकेटप्रेमीलाई स्तब्ध पारेको छ । 

६ जनाको 'नोट अफ डिसेन्ट'

खेलाडीमाथि कारबाही गर्ने क्यानको निर्णयमा ६ जना बोर्ड सदस्यहरुले भने असन्तुष्टि जनाएका छन् । उनीहरुले निर्णयमा नोट अफ डिसेन्ट लेखेका छन् । दाउद अन्सारी, करण महतरा, छुम्बी लामा, सञ्जय सिंह, अमितबाबु पाण्डे र ऋषिराम पाण्डेले क्यानको निर्णयमा असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका हुन् । उनीहरुले नेपालले महत्वपूर्ण प्रतियोगिताहरु खेल्नुपर्ने बेलामा गरिएको कारबाहीले समस्या उत्पन्न हुने बताउँदै  'नोट अफ डिसेन्ट' । 

सन्दिपलाई कप्तानको जिम्मेवारी

क्यानले सन्दिप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमको कप्तानीको जिम्मेवारी दिएको छ । कप्तान ज्ञानेन्द्र मल्ललाई कारबाही गर्दै क्यानले युवा खेलाडी सन्दिपलाई कप्तानीको जिम्मेवारी दिएको हो । नेपालकै कान्छो क्रिकेट कप्तान बनेका उनको काँधमा आफूभन्दा सिनियर र पाका खेलाडीसहितको राष्ट्रिय टिमलाई नेतृत्व गर्ने जिम्मेवारी आएको छ ।

सन्दिप फ्रेन्चाइज क्रिकेटमा नाम कमाएका खेलाडी हुन् । उनले इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, अस्ट्रेलियाको बिग बासजस्ता चर्चित प्रतियोगिता खेलेका छन् । अहिले उनी अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) खेलिरहेका छन् । क्रिकेटरका रुपमा सफल सन्दिप कप्तानका रुपमा भने उति सफल छैनन् ।

केही महिनाअघि भएको एभरेस्ट प्रिमियर लिगमा उनले काठमाडौं किङ्स ११ को कप्तानी गरेका थिए । तर उनको कप्तानीमा काठमाडौंले राम्रो प्रदर्शन गर्न सकेन । कप्तानमा सबै खेलाडीलाई उनीहरुको क्षमताअनुसार अघि बढाउने, मैदानमा ठीक समयमा निर्णय लिने क्षमता आवश्यक छ । तर सन्दिपले कतिपय समयमा आफ्नो अपरिपक्वता र काँचोपन देखाउने गरेका छन् । 

निलम्बनले पारेको प्रभाव

निष्पक्ष निर्वाचन नभएको, घरेलु क्रिकेटमा आन्तरिक विवाद बढेको तथा सरकारले क्यानमाथि अनावश्यक हस्तक्षेप गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले २०७३ बैशाखमा नेपाल क्रिकेट संघलाई निलम्बन गर्‍यो । त्यसपछिका करिब ३ वर्ष नेपाली क्रिकेटको व्यवस्थापन आईसीसीले नै हेर्‍यो । अन्तर्राष्ट्रिय क्रिकेटमा बलियो सम्भावना बोकेर उदाएको नेपाली क्रिकेटलाई यो निलम्बनले ठूलो क्षति पुर्‍यायो र क्रिकेट विकास प्रक्रियामा नै अवरोध पैदा गर्‍यो । अन्तर्राष्ट्रिय खेल क्षेत्रमा नेपालका लागि क्रिकेट सफलता दिलाउने खेल हो । तर त्यसबेलाका निलम्बनले नेपाली क्रिकेटले जति फड्को मार्नुपर्ने थियो, त्यो हुन सकेन । आईसीसीकै प्रत्यक्ष संलग्नतामा २०७६ को असोज १० र ११ गते काठमाडौंमा क्यानको निर्वाचन भएर चतुरबहादुर चन्दको नेतृत्वमा कार्यसमिति बनेपछि क्यानको निलम्बन फुकुवा भएको थियो ।