ओमिक्रोन संक्रमितले घरमा बस्नु सम्पूर्ण परिवारलाई उच्च जोखिममा पुर्‍याउनु नै हो

ओमिक्रोन संक्रमितले घरमा बस्नु सम्पूर्ण परिवारलाई उच्च जोखिममा पुर्‍याउनु नै हो

ज्ञानमित्र  |  दृष्टिकोण  |  पुष २, २०७८

कुनै पनि हिसाबले संकेत सुखद होइन । विश्व एक पटक पुनः कोरोना भाइरसको ट्र्यापमा जाँदै छ ।  कोरोनाको ओमिक्रोन भेरिएन्ट अतिशीघ्रतासाथ विश्वमा रहेका झण्डै आधा देशमा पुगिसकेको छ । दक्षिण अफ्रिकामा यसको ताण्डव चरममा पुगेको छ ।

१५ डिसेम्बरका दिन दक्षिण अफ्रिकामा ८३ हजार ८६४ पीसीआर परीक्षण गर्दा २६ हजार ९७६ नयाँ कोरोना संक्रमित देखिए । यसले 'पोजिटिभिटी  रेट' ३२.२५ पुगेको संकेत गर्छ । त्यहाँ सक्रिय संक्रमितको संख्या बढेर एक लाख ९१ हजार ५९६  पुगेको छ । 'रिकभरी रेट' घटेर ९१.३ मा आएको छ । गत २४ घण्टामा ६२० जना संक्रमित अस्पताल भर्ना हुन पुगेका छन् । मृतक संख्या ५४ रह्यो यस दिन ।

सक्रिय संक्रमित एक लाख ९१ हजार ५९६ हुँदा अस्पताल भर्ना हुनेको संख्या ७ हजार ३३९ पुगेको छ । यो भनेको कुल संक्रमितमध्ये झण्डै ४ प्रतिशतलाई संक्रमण गम्भीर भएर अस्पताल लैजानुपरेको हो ।

१६ डिसेम्बरको तथ्यांकअनुसार ८० हजार ३०४ परीक्षण हुँदा संक्रमित संख्या २४ हजार ७८५ आयो । यो भनेको पोजिटिभिटी रेट ३०.९५ हुनु हो । मृतक संख्या ३६ हुनुका साथै यस दिन थप ३४७ संक्रमित अस्पताल भर्ना हुन पुगे । सक्रिय संक्रमितको संख्या बढेर २ लाख १० हजार ६३५ पुगेको छ । अस्पतालमा गम्भीर अवस्थाका संक्रमितको संख्या ७ हजार ६१४ पुगेको छ । 'रिकभरी रेट' ९०.८ मा झरेको छ ।

ओमिक्रोन पहिलाका भेरिएन्टको तुलनामा घातक छ/छैन भन्ने बहस गर्नुको के तुक र औचित्य ? गत एक महिनादेखि दक्षिण अफ्रिकामा ओमिक्रोन भेरिएन्ट फैलिएको छ । त्यहाँको ल्याबले दिएको जानकारीअनुसार ९०.५ प्रतिशतभन्दा बढी संक्रमित ओमिक्रोन भेरिएन्टले भइरहेका छन् ।

गत एक साताको दक्षिण अफ्रिकाको संक्रमण अवस्था हेर्दा एक लाख ५९ हजार ९६७ संक्रमित थपिएका  छन् । यसभन्दा पहिलाको सातामा ९४ हजार ४५१ संक्रमित आएका थिए । यस साता मृतक संख्या १८८ र अघिल्लो सातामा मृतक संख्या १६७ थियो । यो स्थिति थाहा पाउँदा पनि कोही ओमिक्रोनको घातकताबारे प्रश्न गर्छ भने के नै भन्न सकिन्छ ?
   
ओमिक्रोन भेरिएन्टबाट आक्रान्त अर्को देश यूकेको अवस्था झनै गम्भीर छ । १५ डिसेम्बरमा यूकेमा ७८ हजार ३३९   नयाँ संक्रमित आए । १६५ जनाको मृत्यु भयो । यूकेमा एक किसिमको आपातकाल नै लागेको छ ।  अस्पतालमा ८ हजारभन्दा बढी संक्रमित भर्ना भएका छन् । यसमध्ये ८९६ जनाको अवस्था गम्भीर रहेको छ ।

१६ डिसेम्बरमा संक्रमित संख्या ८८ हजार ३७६ पुग्यो । मृतक संख्या १४६ रह्यो । सक्रिय संक्रमित संख्या १२ लाख ९२ हजार ५३९ पुगेको छ । यस साता यूकेमा ४ लाख ३८ हजार ३३७ संक्रमित देखिए ।  
 
दैनिक एक लाखभन्दा बढी संक्रमित आउने अमेरिकामा गम्भीर संक्रमित संख्या १५ हजार ६७१ रहेको छ । औसतमा अमेरिकाको मृतक संख्या प्रतिदिन एक हजारभन्दा बढी छ । गत एक सातामा त्यहाँ ८ हजार १९०   संक्रमितको मृत्यु भएको छ । १५ डिसेम्बरका दिन मृतक संख्या एक हजार ६९० रहेको थियो ।

विश्वभर दैनिक ७ लाखभन्दा बढी संक्रमित आउनुका साथै दैनिक रूपमा ७ हजारभन्दा बढी संक्रमितको मृत्यु भइरहेको छ ।

ओमिक्रोन भेरिएन्टलाई लिएर विश्व स्वास्थ्य संगठनको हालत हुँदै गइरहेको छ । सबैलाई थाहा छ- कोरोना भ्याक्सिनका पूर्ण डोज लगाएका मानिस पनि ओमिक्रोनबाट सुरक्षित छैनन् । धनी देशले बुस्टर डोज दिन थालेका  छन् । यूकेमा ८९.३५ प्रतिशत जनसंख्यालाई भ्याक्सिनको पहिलो डोज, ८१.५ प्रतिशतलाई भ्याक्सिनको दोस्रो डोज तथा ४४.३५ प्रतिशत जनसंख्यालाई बुस्टर डोजको भ्याक्सिन प्रदान गरिसकिएको छ । १६ डिसेम्बरमा मात्र यूकेमा ७ लाख ४५ हजार १८३ जनालाई बुस्टर डोजका रूपमा तेस्रो पटक भ्याक्सिनको खुराक दिइयो ।

सबैले बुझे हुन्छ- भ्याक्सिनले कोरोनाको यस भेरिएन्टलाई रोकथाम गर्दैन । भ्याक्सिन लगाएका/नलगाएका, विगतमा कोरोना संक्रमण भइसकेका अथवा नभएका सबै सामान रूपले ओमिक्रोन भेरिएन्टबाट असुरक्षित छन् । उपायका रूपमा सबैसँग एक मात्र 'टुल्स' के छ भने, संक्रमित हुनबाट जोगिने

यूकेको कुल जनसंख्यामध्ये ५ करोड १३ लाख ६० हजार ९८७ जनालाई भ्याक्सिनको पहिलो खुराक तथा ४ करोड ६८ लाख ८१ हजार २९१ लाई पूर्ण खुराकका रूपमा भ्याक्सिनका दुवै डोज वितरण भइसकेका छन् । थप बुस्टर डोजका रूपमा भ्याक्सिनको तेस्रो मात्रा ग्रहण गर्नेको संख्या २ करोड ५४ लाख ७७ हजार ३४५ पुगिसकेको छ ।

तर, यूकेमा कोरोना संक्रमणको प्रसार दिनका दिन बढ्दै गइरहेको छ । मृतक संख्या पनि उल्लेखनीय छ । १५ डिसेम्बरमा १६५ जनाको र १६ डिसेम्बरमा १४६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणविरुद्ध भ्याक्सिनको प्रभावकारिता बुझ्न अरू केही गर्नुपर्दैन, यूकेको अवस्था विश्लेषण गरे पुग्छ ।

ओमिक्रोन अब दक्षिण अफ्रिकामा सीमित छैन । ८० भन्दा बढी देशमा यसको पहुँच भइसकेको छ । लाखौँ लाख मानिस ओमिक्रोनले संक्रमित भइसकेका छन् । यसै साता विश्वभर ४३ लाख ६४ हजार १६० नयाँ संक्रमित आउनुका साथै ४७ हजार ७२४ जना संक्रमितको मृत्यु भएको छ । यस तथ्यांकले पनि आमजनसमुदायदेखि नेपाल सरकार सजग, सतर्क एवं गम्भीर हुँदैनन् भने कसले के नै गर्न सक्छ ?

भ्याक्सिनको बुस्टर डोजले ओमिक्रोनलाई  काउन्टर दिन्छ कि दिँदैन ? यो पछिको कुरा । यति त स्पष्ट भइसक्यो कि कोरोनाको पूर्ण मात्राका खोपले ओमिक्रोनविरुद्ध 'त्वम् शरणम्' गरिसकेको छ, अन्यथा बुस्टर डोजको आवश्यकता नै किन हुन्थ्यो ?

नेपाल सरकारले यसबारे समयमै ध्यान नदिए स्थिति विकराल हुने संभावनालाई इन्कार गर्न सकिँदैन । सबैले बुझे हुन्छ- भ्याक्सिनले कोरोनाको यस भेरिएन्टलाई रोकथाम गर्दैन । भ्याक्सिन लगाएका/नलगाएका, विगतमा कोरोना संक्रमण भइसकेका अथवा नभएका सबै सामान रूपले ओमिक्रोन भेरिएन्टबाट असुरक्षित छन् । उपायका रूपमा सबैसँग एक मात्र 'टुल्स' के छ भने, संक्रमित हुनबाट जोगिने । कोभि प्रोटोकलको पूरा पालना गर्ने । आफू संक्रमित हुँदा यसको प्रसार रोक्ने सबै प्रयास गर्ने । आफूबाट अरू कोही संक्रमित नहोस्, यसको पूर्ण ख्याल गर्ने । संक्रमणबाट बच्न तथा संक्रमित हुँदा विगतमा  जे जे उपाय अल्टर्नेटिभ, घरेलु प्रयास अथवा उपाय गर्नुभएको थियो, ती सबै एक पटक पुनः स्मरण गरी सुरक्षित हुने ।  

नेपालमा केही राजनीतिक दलहरूको कुम्भ मेला समाप्त भएको छ । केहीको हुँदै छ । आशा गरौँ- अब नेपाल सरकारले ओमिक्रोनविरुद्ध सशक्त रूपमा आफ्ना गतिविधि संचालन गर्नेछ । कोभिड- १९ का विरुद्ध जसरी क्वारेन्टाइन, आइसोलेसन, स्वास्थ्य र परीक्षण तयारी गरिएका थिए, ती सबै पूर्ण क्षमताका साथ ब्युँताउन आवश्यक भएको छ ।

अहिलेदेखि नै विभिन्न राजनीतिक दलका भ्रातृ संगठन, विभिन्न समाजसेवी संगठन, धार्मिक संगठनले ओमिक्रोनको प्रसार रोक्न क्वारेन्टाइन, आइसोलेसन, परीक्षण आदि जस्ता कुरामा तदारुकता देखाए कोरोना भाइरसको यस स्वरूपलाई नियन्त्रण गर्न सकिन्छ ।

ओमिक्रोन पहिलाको डेल्टा भेरिएन्टभन्दा झण्डै ४-५ गुणासम्म संक्रामक (छिट्टै प्रसारित हुने) भएकाले कुनै पनि संक्रमितले घरमा आइसोलेसनमा बस्नु अत्यन्त जोखिमयुक्त हुनेछ । सस्तो, सुलभ, सकेसम्म शुल्करहित आइसोलेसन केन्द्र खोलिदिने अथवा व्यवस्था गराइदिने दायित्व सरकारको हो । संक्रमितले घरमा बस्नु भनेको सम्पूर्ण परिवारलाई उच्च जोखिममा पुर्‍याउनु मात्र हो ।