कांग्रेस महाधिवेशनको सन्देश: बूढा खोपीमा बस, ठिटा नेतृत्व लेऊ, पार्टीलाई नयाँ जीवन देऊ

कांग्रेस महाधिवेशनको सन्देश: बूढा खोपीमा बस, ठिटा नेतृत्व लेऊ, पार्टीलाई नयाँ जीवन देऊ

घनेन्द्र ओझा  |  दृष्टिकोण  |  पुष २, २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशन सकिएको छ । पदाधिकारीको मत गणना जारी छ तर सभापति, उपसभापति, महामन्त्रीको परिणाम सार्वजनिक भइसकेको छ भने सहमहामन्त्रीमा पनि २ जना निर्वाचित भइसकेका छन् भने अन्य ५ जनाको मत गणना जारी छ ।

कांग्रेसको महाधिवेशनको परिणाम निकै उत्साहजनक देखिएको छ । नेपालका राजनीतिक दलहरूमा पटक पटक सुनिँदै आएको 'पुस्तान्तरण' र 'रूपान्तरण'को सन्दर्भ कांग्रेसको महाधिवेशनबाट सही साबित भएको छ । शीर्ष नेतृत्व अर्थात् पार्टी सभापतिमा पुरानै शेरबहादुर देउवा पुनः निर्वाचित भए पनि अन्य पदाधिकारीमा युवाको बाहुल्य प्रस्ट देखिएको छ । यसले कांग्रेसभित्र मात्र होइन, अन्य राजनीतिक दलहरूमा समेत पार्टी नेतृत्वमा पुस्तान्तरण र रूपान्तरणका लागि दबाब सिर्जना अवश्य गरेको छ ।

अझ राम्रो र रमाइलो त के भने, पार्टीका उपसभापतिमा र महामन्त्रीमा निकट विगतकै कांग्रेसको भ्रातृसंगठनका नेतृत्व गरेकाहरू आएका छन्, ती पनि अमूक नेताको आशीर्वादले वा टीका थापेर होइन, चुनावी प्रतिस्पर्धाबाट विजयी भएर ।

अझ यिनमा पनि विगतमा कांग्रेसमा देखिएका अनेक गुट/उपगुटकाहरू भनेर चिनिएकाहरू बराबरजसो विजयी भएका छन् । यसको अर्को सुखद् संकेत हो कि कांग्रेसको शीर्ष नेतृत्व गुटमा रमाइरहँदा आमकार्यकर्ता भने पार्टीमा सुधार, नेतृत्वमा परिवर्तन, युवालाई पार्टी नेतृत्व हस्तान्तरणका पक्षमा, पार्टी एकताका पक्षमा रहेछन् ।

र, कांग्रेस कार्यकर्तामा परिपक्वताको अनि विवेकपूर्ण निर्णय क्षमताको विकास भइसकेको पनि यसले स्पष्ट पारेको छ ।

यहीबीचमा तीनै तहका निर्वाचन हुँदै छन् । पालिका, प्रदेश र केन्द्रका निर्वाचनमा विगतमा बेहोरेको लज्जास्पद र दुर्दान्त हारको स्मरण गर्दै आगामी निर्वाचनहरूमा पालिका तहदेखि केन्द्रसम्म नै कांग्रेसलाई पहिलो नम्बरको पार्टी बनाउने चुनौती पनि यिनलाई नै थपिएको छ

सँगसँगै नयाँ नेतृत्वमा आएका युवाहरूमाथिका चुनौती पनि कम छैनन् । हिजो भ्रातृ संगठनको नेतृत्व गरेजस्तो मात्र होइन  पार्टीको नेतृत्व गर्नु । कांग्रेसभित्र लामो संघर्ष र त्याग गरेका व्यक्तित्वहरू छन् । उनीहरूलाई 'गणेशमान' र 'किशुनजी'को हालतमा पुग्नबाट जोगाउने, सम्मान र मर्यादा दिने, अभिभावकीय हैसियतमा राख्ने चुनौती त छँदै छ, आमकार्यकर्ताको अपेक्षा र मनोभावनालाई कदर गर्दै पार्टी संगठन बलियो र चुस्त बनाउने अहं जिम्मेवारी पनि नयाँ पुस्ताका नेतृत्वहरू अर्थात् धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्मा, भीष्मराज आङ्देम्बेहरूमा आइपुगेको छ ।

यहीबीचमा तीनै तहका निर्वाचन हुँदै छन् । पालिका, प्रदेश र केन्द्रका निर्वाचनमा विगतमा बेहोरेको लज्जास्पद र दुर्दान्त हारको स्मरण गर्दै आगामी निर्वाचनहरूमा पालिका तहदेखि केन्द्रसम्म नै कांग्रेसलाई पहिलो नम्बरको पार्टी बनाउने चुनौती पनि यिनलाई नै थपिएको छ ।

पार्टीभित्र स्थापनाकालदेखि नै विभाजित र विशृंखलित मन र मस्तिष्कहरूलाई भावनात्मक र कार्यगत दुवै हिसाबले एक बनाउनु सबैभन्दा ठूलो चुनौती हो अबको ।

तर, खतरा भने बाँकी नै छ- विगतकै गुट/उपगुटको छायामा यी 'आसलाग्दा' युवासमेत रुमल्लिए भने समग्र नेपाली राजनीतिमा पुन: निराशाको बादल मडारिनेछ ।