क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीमा प्रचण्डको असहमति, गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीमा प्रचण्डको असहमति, गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष २, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीमा असन्तुष्टि जनाएका छन् ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर अध्यक्ष दाहालले कारवाहीमा असहमति जनाउँदै ध्यानाकर्षण गराएको प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

'अध्यक्ष कमरेड प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारवाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो', उनले भनिन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले अनुशासन पालना नगरेको भन्दै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाउँदै सोमपाल कामी र बलर कमलसिंह ऐरीको ६ महिनाको तलब रोक्का गर्ने निर्णय बुधबार गरेको थियो ।

यसैगरी प्रचण्डले भेटमा सदन सुचारु गर्नेलगायतका समसामयिक राष्ट्रिय मुद्दामा सहमति जुटाउन प्रधानमन्त्री देउवालाई सर्वदलीय बैठक बोलाउन आग्रह गरेका थिए ।

साथै, नेपाली कांग्रेसको महाधिवेशनबाट सभापति निर्वाचित भएकामा प्रचण्डले देउवालाई बधाई तथा शुभकामना दिएका थिए ।