मुम्बईलाई चौथो पटक कीर्तिमानी उपाधि

मुम्बईलाई चौथो पटक कीर्तिमानी उपाधि

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ३०, २०७६

हैदरावाद । इण्डियन प्रिमियर लिग (आइपिएल)को १२ औं संस्करणको उपाधि मुम्बई इण्डियन्सले जितेको छ । यससँगै मुम्बई आइपिएलमा चौथो पटक उपाधि जित्ने पहिलो टिम बनेको छ । यसअघि मुम्बईले सन् २०१३, २०१५ र २०१७ मा उपाधि जितेको थियो ।

आइतबार राती सम्पन्न फाइनल खेलमा मुम्बईले चेन्नई सुपर किंग्समाथि १ रनको रोमाञ्चक जित दर्ता गर्यो ।

१५० रनको लक्ष्य पछ्याएको चेन्नई १४८ रनमा समेटियो । चेन्नईका प्रारम्भिक ब्याट्सम्यान सेन वाट्सनले ५९ बलमा ८० रन जोडे पनि टिमलाई जित दिलाउन सकेनन् । अर्का प्रारम्भिक ब्याट्सम्यान फाप डु प्लेसिसले १३ बलमा २६ रनको योगदान दिए । यस्तै, ड्बेन ब्राभोले १५ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

मुम्बईको जितमा जसप्रित बुमराहले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिए । यस्तै, अर्का स्पिनर बलर राहुल चहरले पनि १४ रन खर्चेर एक विकेट लिए । मिचेल म्याक्केलेघनले पनि किफायति बलिङ गरे । उनले चार ओभरमा २४ रन मात्रै खर्चिए ।

त्यसअघि टस जितेर ब्याटिङ गर्न आएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रनको सामान्य स्कोर जोडेको थियो । मध्यक्रमका क्यारोन पोलार्डले २५ बलमा ४१ रनको आक्रामक पारी खेलेपछि मुम्बईले सम्मानजनक स्कोर बनाएको थियो । त्यस्तै, प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डि ककले १७ बलमा २९ रनको आक्रामक पारी खेले । उनले आफ्नो पारीमा चार छक्का प्रहार गरेका थिए ।

चेन्नईका दीपक चहरले तीन तथा इमरान ताहिर र शार्दुल ठाकुरले समान दुई विकेट लिए ।