भीम रावलको गृहजिल्लामा लेखराज भट्टका मान्छे इन्चार्ज, विरोधी बने सहइन्चार्ज

भीम रावलको गृहजिल्लामा लेखराज भट्टका मान्छे इन्चार्ज, विरोधी बने सहइन्चार्ज

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २, २०७८

नेकपा एमाले अछामको इन्चार्जमा झपटबहादुर बोहरा नियुक्त भएका छन् ।

१०औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित बोहरालाई २५-२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले अछामको इन्चार्जको जिम्मा दिएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बोहराको नाम अछामका लागि प्रस्ताव गरेका थिए । ओली निकट सांसद यज्ञ बोगटी सहइन्चार्ज बनेका छन् । उनले रावलको चर्को आलोचना गर्दै आएका छन् ।

ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका डा. भीमबहादुर रावलको गृहजिल्लामा पूर्वमाओवादी नेता बोहराले जिम्मेवारी पाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सुदूरपश्चिम सरकारमा तत्कालीन समयमा आर्थिक मामिला तथा योजनामन्त्री रहेका बोहरा नेकपा पार्टी विभाजनपछि लेखराज भट्टसँगै एमाले प्रवेश गरेका थिए । जसरी केन्द्रमा लेखराजले एमाले र ओलीका लागि मन्त्री तथा सांसद पद गुमाए, त्यसैगरी बोहराले प्रदेशमा मन्त्रीका साथै प्रदेश सांसद पनि गुमाउने गरी एमाले प्रवेश गरेका थिए ।

१०औँ महाधिवेशनअघि सुदूरपश्चिम इन्चार्जमा भीम रावल कि लेखराज भट्ट भनेर विवाद जारी थियो । १०बुँदे गरेर एमालेमै रहेका रावलले आफूलाई इन्चार्ज दाबी गर्दै आएका थिए भने अध्यक्ष ओलीले लेखराजलाई जिम्मेवारी दिएका थिए । इन्चार्जलाई लिएर रावल र भट्टबीच विवाद नै भएको थियो ।

तर, १०औँ महाधिवेशनपछि भट्ट औपचारिक रूपमै इन्चार्ज तोकिएका छन् भने रावल पार्टीको कुनै जिम्मेवारीमा छैनन् ।

रावलको पछिल्लो भूमिकाप्रति ओलीका साथै भट्ट पनि असन्तुष्ट छन् । ओलीलाई चुनौती दिने रावललाई 'साइज'मा ल्याउन लेखराज निकट बोहरालाई रावलको गृहजिल्लामा इन्चार्ज बनाइएको एमालेवृत्तमा चर्चा छ ।

१०औँ महाधिवेशनअघि अछाममा रावल निकट शेरबहादुर कुँवर अध्यक्ष थिए । रावल निकट संघीय सांसद झपटबहादुर रावललाई भने खानेपानी तथा सरसफाइ विभागको प्रमुख बनाइएको छ ।