नबाँधिने मन

नबाँधिने मन

तारक धिताल  |  साहित्य  |  पुष ३, २०७८

दौडी रहने शरीरलाई
कोठा र बरन्डामै सीमित गरिदियो 
समीपमा रहने आफन्तलाई 
केही टाढा धकिलदियो
कडा नियम 
पालना अनिवार्य 
शरीरले त सहजै मान्यो 
तर
चञ्चल मन
निषेधका घेराले घेरिए पनि
पर्खाल भित्रै जकडिए पनि
कोरोनाले गलाए पनि
हरेक सीमा पार गर्दै 
विचरण गरी रह्यो 
नीलो आकाशदेखि कालो बादलसम्म 
कन्चन हिमालदेखि नदीका कलकलसम्म
दुर्गमका पहरादेखि सहरका सुविधासम्म
रिता झुपडीका निश्चल बालापन देखि 
सम्बद्ध महलका ग्याजेटप्रेमीसम्म
डाँडा माथिको उदाउँदो लालीदेखि
तराईका फाँटमा तोरीका फुलसँग 
मितेरी गाँस्दै अस्ताउँदो सूर्यसम्म
अतीत देखि वर्तमानसम्म
अनि,
भविष्य यसो चिहाउन खोज्यो 
दुखीरहेको टाउकोको भारी बोकेर 
त्यो गहन चिन्तन गर्नु भन्दा 
विगतको ‘रीप्ले’ मै रमाउन थाल्यो 
मन न हो, सजिलै खोज्छ 
जसरी पानी बग्दछ !
आफ्ना हरेक चालमा मन 
आफैलाई न्यायोचित ठहऱ्याउन चाहन्छ
तर मन त अरूका पनि छन् 
तिनले अर्कै पनि ठान्न सक्दछन् 
आखिर मन मनै हुन् 
सायद आ-आफ्नै मनमा सबै सही नै होलान् !
केही क्षणको स्वच्छन्द विचरण पछि
हप्ता दिन देखि नकाटिएको 
जिङ्ग्रिङ परेका दाह्रीले ढाकेको
आफ्नै अनुहार निहाल्दै 
सुटुक्क भित्र छिऱ्यो मन
मुस्कुराउँदै अर्को यात्राको तयारीमा !! 

 

२ पौष २०७८, काठमाण्डौं